
पाकिस्तान प्रहरीले कारागारमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी मुख्यालयमा छापा मारेको छ । सैन्य समर्थित सरकारले राजनीतिक आन्दोलनमा प्रतिबन्ध लगाउने वाचा गरेको एक हप्तापछि खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) को मुख्यालयमा सोमबार प्रहरीले छापा मारेको हो ।
मुख्यालयलाई अधिकारीहरूले सिल गरेको र पार्टीका धेरै कार्यकर्तालाई भ्यानमा लिएर गएको एएफपीका एक पत्रकारले बताए । इस्लामाबाद प्रहरीका एक अधिकारीले पार्टीका संस्थापक सदस्य र प्रेस विभागका प्रमुख रउफ हसनलाई गिरफ्तार गरिएको जानकारी दिए ।
ब्यारिस्टरसमेत रहेका पार्टीका अध्यक्ष गौहर अली खानले स्थानीय सञ्चार माध्यम र पिटिआईले सुरुमा रिपोर्ट गरी हसनसँगै प्रहरी चौकीमा गएपछि आफूलाई पनि गिरफ्तार गरिएको बताए । पछिल्लो दुई महिनामा पिटिआईका कम्तीमा १० सदस्य वा उनीहरूको आफन्तलाई गिरफ्तार गरिएको हसनले शनिबार बताएका थिए । उनीहरू ‘कुनै निसान’विना ‘गायब’ भएको उनले बताए । ‘तीमध्ये सातजना मेरो विभागका मात्र छन्, जसलाई हामी चुप लागेर बस्न नमान्दा पंगु बनाउन चाहन्छन्,’ उनले भने ।
सरकारका सूचनामन्त्रीले गत साता पिटिआईमाथि प्रतिबन्ध लगाइने बताएका थिए । त्यसको केही दिनपछि सर्वोच्च अदालतले पार्टीको पक्षमा महत्वपूर्ण फैसला सुनाएपछि सरकारलाई ठूलो झट्का लागेको थियो ।