१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलका नेताहरू सिसाको घरमा छन् : पूर्वमन्त्री पुन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै राजनीतिक दलका नेताहरू सिसाको घरमा रहेका बताएका छन् । 

बिहीबार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै उनले भने, ‘दलका नेताहरू चौतर्फी देखिने सिसाको घरमा भएकाले उनीहरूको प्रत्येक गतिविधि छर्लंगै भएको छ, जनताले नियालिरहेका छन् ।’ नेताहरूको विचार, प्रवृत्ति, उद्देश्य, सोच, बोलाइ र काम गराइ जनताले मूल्यांकन गरिरहेका उनको भनाइ छ । सूचना प्रविधिको विकास र पहुँचले गर्दा जनताले हेरिरहेका र नेताहरूका सबै कुरा बुझिसकेका उनले बताए ।

राजनीतिमा संक्रमणको प्रभाव र नेताहरूमा शुद्धीकरणको अभावका कारण देशको हरेक क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै पूर्वअर्थमन्त्री पुनले राजनीतिक दल र नेताहरूबाट शुद्धीकरण सुरु गर्नुपर्ने आवश्यकतासमेत औँल्याएका छन् । राजनीतिक दल, नेता र कार्यकर्ताले देशको नेतृत्व गर्ने भएकाले यो क्षेत्र सबल भए मात्र देश सही बाटोमा जाने भन्दै पूर्वमन्त्री पुनले रोलमोडलका रूपमा रही हरेक क्षेत्रलाई हौसला र प्रेरणा प्रदान गर्ने गरी काम गर्न सक्नुपर्नेमा जोड दिए ।

देश विकासको प्रचुर सम्भावना रहेको प्रस्ट पार्दै पूर्वमन्त्री पुनले दुईतिहाइ जनसंख्या संलग्न कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन र आम्दानी बढाउनुपर्ने बताए । प्रतिस्पर्धी हुन नसक्ने उद्योग कलकारखानाले उँभो नलगाउने जिकिर गर्दै उनले आफूहरूको सुझबुझका कारण सिमेन्टमा देश आत्मनिर्भर भएको र निर्यातको चरणमा गएकोसमेत जानकारी गराए ।

नेपालमा पर्यटन र जलस्राेतको उपभोग गरी देशमा समृद्धि ल्याउन सकिने उनको भनाइ छ । नेपालको विकास र समृद्धिका लागि अर्को प्रतिस्पर्धी क्षेत्र सूचना प्रविधिको क्षेत्र देखिएको पनि पूर्वअर्थमन्त्री पुनले जानकारी गराए । 

पूर्वअर्थमन्त्री पुनले नेपाल पूरै स्वर्ग बनाए पनि विदेश जाने क्रम रोक्न नसकिने बताए । विश्व नै एउटा गाउँको अवधारणा आइसकेकाले शिक्षा, सुविधा र अवसरको खोजीमा मानिसहरूलाई विदेश जानबाट रोक्न नसकिने उनले बताएका हुन् । तर, देशभक्तिपूर्ण शिक्षादीक्षा र नयाँपुस्तामैत्री वातावरण दिन सकेको खण्डमा मात्र उनीहरूलाई रोक्न र फर्काउन सकिने उनले बताए ।

पूर्वअर्थमन्त्री पुनले निजी क्षेत्रलाई हतोत्सायी गराउने कार्य राज्यले नगर्ने, तर त्यसो भन्दैमा सार्वजनिक क्षेत्रलाई सुधार गर्न छोड्ने भन्ने कुरा पनि नहुने बताएका छन् । शिक्षामा पनि निजी क्षेत्रले योग्य नागरिक उत्पादनमा भूमिका निर्वाह गरिरहेको बिर्सन नहुने बताउँदै पूर्वअर्थमन्त्री पुनले राज्यले सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै निजी क्षेत्रलाई सम्मानजनक बिदाइको लागि  तयार बनाइराख्नुपर्ने  बताए ।