१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३ बिहीबार
  • Tuesday, 17 June, 2025
२o८१ श्रावण ३ बिहीबार o७:१७:oo
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

अम्बानीपुत्रको ५० अर्ब भारुको विवाहले निम्त्याएको बहस, धनको भद्दा प्रदर्शन या भारतीय सम्पन्नताको प्रतीक 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ श्रावण ३ बिहीबार o७:१७:oo

रिलायन्स समूहका मालिक मुकेश अम्बानीका कान्छा छोराको विवाहले विश्वको ध्यान तान्न सफल भए पनि यसमा भएको विशाल खर्चकोे आलोचना पनि उत्तिकै भइरहेको छ । आलोचकले भड्किलो विवाहलाई भारतमा बढ्दो असमानताको बलियो संकेतका रूपमा औँल्याएका छन् ।

भारतीय अर्बपति मुकेश अम्बानीका २९ वर्षीय छोरा अनन्त अम्बानीको जुलाई १२ मा भव्य समारोहबीच विवाह सम्पन्न भयो । महिनाैँदेखि चलिरहेका विभिन्न समारोह अन्त्य गर्दै अनन्तले आफ्नी प्रेमिका राधिका मर्चेन्ट (२९ वर्ष) सँग मुम्बईमा विशेष समारोहबीच लगठनगाँठो कसे । मुकेशका कान्छा छोराको विवाहले भारतभित्र र बाहिर उलेख्य चर्चा पायो । २६० अर्ब डलर स्वामित्वको विशाल रिलायन्स समूहका मालिक मुकेशका छोरा अनन्तको विवाह भारतीय सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय रह्यो । बलिउड स्टारले गरेको विवाहका तथा प्रि–वेडिङ(विवाहपूर्वको) समरोहका तस्बिर तथा भिडियो तथा उलेख्य मिडिया कभरेजले विवाहप्रति सार्वजनिक चासो जगाउन सहयोग गर्‍यो । तथापि विवाहले भारतमा बढ्दो असमानतालाई निर्लज्ज रूपमा प्रदर्शन गरिदिएको भनी केहीले आलोचना गरेका छन् । 

विवाहमा किम कार्दसियन, माइक टाइसन, टोनी ब्लेयर र बोरिस जोनसनजस्ता विश्वचर्चित सेलिब्रेटी तथा राजनीतिज्ञ व्यक्तित्वको उपस्थिति थियो । विवाहपछि लगत्तै भारतको आर्थिक तथा फिल्मी राजधानी मुम्बईमा तीनदिने लामो भव्य पार्टी आयोजना गरिएको थियो । रिलायन्सका एक अज्ञात कार्यकारीले अनन्तको विवाह र त्यसअघि भएका समारोहलाई ‘विश्व मञ्चमा भारतको बढ्दो कदको बलियो प्रतीक’को रूपमा व्याख्या गरे । 

‘(यस विवाहमा) प्रतिष्ठित व्यक्तिको उपस्थितिले भारतको आर्थिक, राजनीतिक, बौद्धिक तथा वैज्ञानिक क्षमतामाथि प्रकाश पार्न सघाएको छ,’ रिलायन्सले पत्रकारसँग साझा गरेको नोटमा भनिएको छ । एसियाका सबैभन्दा धनी व्यक्ति अम्बानी यसै पनि भव्य पार्टी आयोजनाका लागि कहलिएका छन् । र, उनले दिएका पार्टीमध्ये पनि थप विशेष रहे आफ्ना तीन छोराछोरी आकाश, इसा र अनन्तका विवाह पार्टी । अन्तर्राष्ट्रिय कलाकारलाई गाउन बोलाइएका यी समारोहमा प्रायः बलिउड स्टार छुट्दैनन् । कान्छो छोराको विवाहका लागि अम्बानीले विगतको भन्दा धेरै खर्च गरेको विश्लेषण गरिएको छ, तथापि औपचारिक रूपमा खर्चको विवरण भने सार्वजनिक गरिएको छैन ।

भड्किलो खर्च 
विपक्षी राजनीतिज्ञ तथा केरला राज्यका पूर्ववित्तमन्त्री थोमस आइज्याकजस्ता केहीले अम्बानीको छोराको विवाहमा गरिएको विशाल खर्चलाई ‘निर्लज्ज’को संज्ञा दिए । ‘कानुनी रूपमा यो तिनको सम्पत्ति भएकाले तिनले खर्च गर्न पाउलान्, तर यस्तो भड्किलो खर्च यस धर्तीको भार क्षमता र गरिबविरुद्धको पाप हो,’ सामाजिक सञ्जाल एक्समा विवाहबारे टिप्पणी गर्दै थोमसले लेखेका छन् । विवाहको दिन र त्यसपछिका तीन दिन लामो पार्टीमा मुम्बईको व्यापारिक क्षेत्रमा चार दिन ट्राफिक आवगमन नै रोकिएकाले भने स्थानीयको समेत आक्रोश सिर्जना गरेको देखियो ।

शुक्रबार राति विवाहस्थलमा मिडियाको पहुँचमा प्रतिबन्ध लगाइएको थियो । सीमित फोटोग्राफर तथा टिभी क्रुलाई विवाहमा आएका पाहुनाको फोटो खिच्ने अनुमति दिइएको थियो । अम्बानीको विवाह समारोहमा आमन्त्रित एक भारतस्थित विदेशी कम्पनीका कार्यकारी अधिकृतले रोयटर्सलाई बताएअनुसार विवाहमा सहभागी हुनेले तिनका मोबाइलबाट तस्बिर नखिचून् भन्ने सुनिश्चित गर्न पाहुनाको मोबाइलको क्यामेरामा टेप लगाइने जानकारी दिइएको छ । अम्बानीहरू आफूले आयोजना गर्ने अधिकांश कार्यक्रमको सूचना तिनले चाहेअनुरूप मात्र बाहिरियोस् भन्ने सुनिश्चित गर्न खोज्छन् । 

अनन्तको विवाहका कार्यक्रम मार्चबाट नै सुरु भएको थियो । सुपरस्टार पप गायिका रिहानाले प्रदर्शनी दिएकी मार्चको प्रि–वेडिङ पार्टीमा १२ सय पाहुना आमन्त्रित गरिएको थियो । त्यसपछि मेमा ८०० अतिथिलाई युरोपको लक्जरी क्रुजमा पार्टी दिइयो । कैयौँ बलिउड अभिनेत्रीले युरोपको लक्जरी क्रुजका पार्टीका फोटो तिनका इन्स्टाग्रामका लाखौँ फलोअरलाई सेयर गर्न थाले । विलासी डिजाइनर लेबलयुक्त पहिरनमा सजिएका अभिनेत्रीले अम्बानीको क्रुज उत्सवको भने उल्लेख गरेका थिएनन् । आमचासो कत्तिसम्म निर्माण गरिएको छ भने भारतीय टिभी न्युज च्यानल अनन्तका विवाहको मिनेट–मिनेटका खबर प्रसारण गरिरहे । तथापि विवाहको खबर भारतीय मिडिया मात्र सीमित रहेन । महिनौँ चलेको विवाहका उत्सवका खबर विश्व मिडियामा छाए । 

के–केमा भयो खर्च ?
एक अनुमानअनुसार पाँच महिनादेखि भइरहेका विवाहसम्बन्धी विभिन्न समारोहमा ६० करोड अमेरिकी डलरभन्दा माथि खर्च भएको हुन सक्ने सम्भावना छ, जुन रकम मुकेश अम्बानीको सम्पत्तिको ०.५ प्रतिशत हिस्सा मात्र हो । मार्चमा भएको प्रि–वेडिङ पार्टीमा रिहानालाई गाउनका लागि मात्र झन्डै ६० लाख अमेरिकी डलर दिइएको समाचार आएको थियो । सो प्रदर्शन रिहानाले आठ वर्षपछि गरेको कुनै प्रकारको पहिलो सांगीतिक प्रदर्शनी(कन्सर्ट) थियो । त्यसबाहेक बिल ग्रेट्स, हिलारी क्लिन्टन, इभान्का ट्रम्प र मार्क जुकरबर्गलगायत एक हजार २०० पाहुनाका मनोरञ्जनका लागि पाँच हजार ५०० ड्रोनको ‘लाइट सो’लगायत समावेश गरिएको थियो । उक्त समारोहमा सहभागी हुने पाहुनालाई पार्टीमा सहभागी हुँदा पछ्याउनुपर्ने ड्रेस कोड मात्र नौ पृष्ठ लामो भएको बताइएको छ । 

त्यसपछि मे महिनामा भूमध्यसागरीय क्षेत्रमा भएको ८०० अतिथि सम्मिलत लक्जरी क्रुज पार्टीमा १५ करोड डलर खर्च भएको बताइन्छ । उक्त पार्टीमा एन्ड्रिया बोसेली, केटी पेरी, ब्याकस्ट्रिट ब्वाइज र पिटबुलले प्रस्तुति दिएका थिए । क्रु जहाजको पार्टी यति चर्को थियो कि त्यो नजिक पुग्दा इटालियन तटीय सहर जेनोवाका स्थानीयले प्रहरीलाई खबर चर्को खबरबारे रिपोर्ट गरेका थिए । त्यस्तै रिपोर्ट पोर्टोफिनोस्थित माछा मार्ने गाउँका बासिन्दाले पनि गरेका थिए । विवाहको अन्तिम काउन्टडाउनबीच एक हप्ताअघि आयोजित नाच–संगीतसम्मिलित परम्परागत ‘संगीत’मा चर्चित पप गायक जस्टिन बिबरलाई प्रदर्शनकै लागि बोलाइएको थियो । बिबरले त्यस प्रदर्शनका लागि एक करोड डलर लिएको समाचार छ ।

विवाहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक रूपमा अतिथि सूचीमा नभए पनि संक्षिप्त रूपमा उपस्थित भए । राजनीतिज्ञमा बेलायतका पूर्वप्रधानमन्त्री कन्जर्भेटिभ पार्टीका बोरिस जोनसन र लेबर पार्टीका टोनी ब्लेयर उपस्थित भएका थिए । सेलिब्रिटीको कुरा गर्दा चर्चित इंग्लिस फुटबलर डेभिड बेकह्याम र उनकी पपगायिका श्रीमती भिक्टोरिया  बेकह्यामदेखि शाहरूख खानजस्ता बलिउडका ठूला स्टार अतिथि सूचीमा थिए । भारतभरबाट धनाढ्य पाहुना ल्याउन सयौँ निजी विमान प्रयोग भएको चर्चा छ ।

विवाहको यो प्रदर्शनलाई आलोचकले मुख्यतः भारतमा बढ्दो असमानताको खुला संकेतका रूपमा औँल्याएका छन् । एकातर्फ एकजना अर्बपति आफ्नो छोराको विवाहमा ६० करोड अमेरिकी डलर (पछिल्लो मुद्रा सटहीदरअनुसार करिब ५० अर्ब भारु) को विशाल रकम खन्याइरहँदा करोडौँ नागरिक दुई छाक खान नपाई सुत्नुपर्ने बाध्यता छ । पछिल्ला रिपोर्टअनुसार देशको सबैभन्दा धनी एक प्रतिशत धनाढ्यको हातमा देशको ४० प्रतिशतभन्दा बढी सम्पत्ति छ ।