१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रासस म्याग्दी
Invalid date format १६:o८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

एक वर्षमा चार लाख २७ हजार पर्यटक मुस्ताङ आए

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १६:o८:oo

मुस्ताङका पर्यटकीयस्थल घुम्नका लागि एक वर्षमा चार लाख २७ हजार पर्यटक आएका छन्। मुस्ताङ भित्रिने एक मात्र बेनी–जोमसोम सडक प्रयोग गरी आर्थिक वर्ष ०८०/८१ मा अघिल्लो वर्षको तुलनामा ४७ हजार पाँच सय चारजनाभन्दा बढी पर्यटक आएका हुन्।

घासा प्रहरी चौकीले स्थलमार्ग भएर मुस्ताङ भित्रिने सवारीसाधन र पर्यटक तथ्यांक तथा विवरण राख्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले ०८० साउनदेखि ०८१ असार महिनासम्म ७४ हजार तीन सय ७४ वटा सवारीसाधनमार्फत चार लाख २७ हजार दुई सय ७१ पर्यटक भित्रिएका जानकारी दिए।

तीन लाख १८ हजार आठ सय १४ जना आन्तरिक, ९९ हजार दुई ७६ जना सार्क राष्ट्रका र नौ हजार एक सय ७१ जना तेस्रो मुलुकका पर्यटक मुस्ताङ भ्रमणमा आएका उनले बताए।

आर्थिक वर्ष ०७९/८० मा ६२ हजार तीन सय ४० वटा सवारीसाधनमार्फत तीन लाख ७९ हजार सात सय ६७ जना पर्यटक मुस्ताङ आएका थिए। जसमध्ये आन्तरिक पर्यटक तीन लाख तीन हजार आठ सयजना र विदेशी ७५ हजार नौ सय ६७ जना रहेका थिए।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वप्रसिद्ध सञ्चारमाध्यमले संसारका उत्कृष्ट १० गन्तव्यमा समेट्नु, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटेल खुलेका कारण पर्यटक आगमन बढेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताए।

मुस्ताङ भित्रिने विदेशी पर्यटकको ठूलो संख्या भारतीयको छ। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल छन्। 

सार्क मुलुकबाहिरका पर्यटकको संख्या भने घट्दै गएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताए। स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक कालोपत्र योजना निर्माण सम्पन्न हुने हो भने पर्यटक आगमन अझै बढ्ने उनको भनाइ छ।