
बाराको निजगढ नगरपालिका– ८ का ३४ वर्षीय लालध्वज लामा ‘सानु’को हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले बारा जिल्ला अदालतको फैसलालाई सदर गरेको छ । १ नम्बर इजलासले बुधबार साँझ फैसला गर्दै अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन र भरत लम्सालको संयुक्त इजलासले जिल्ला अदालत बाराको फैसला सदर गर्ने आदेश दिएको हो ।
कर्तव्य ज्यान मुद्दामा दुई वर्षअघि जिल्ला अदालत बाराले निजगढ नगरपालिका– ८ का ३३ वर्षीय केशवराज सिवाकोटी, सोही ठाउँकी वर्ष ३९ की बन्दना लामा, निजगढ वडा नम्बर ९ बस्ने वर्ष ४५ को ‘सञ्जय’ भनिने चक्रबहादुर तामाङ र सर्लाही जिल्ला बागमती नगरपालिका– ३ बस्ने वर्ष २४ का जोखबहादुर स्याङतानविरुद्ध सुनाएको जन्मकैदको फैसला उच्च अदालतले सदर गरेको मृतकका दाजु आसमान लामाले जानकारी दिए ।
जितपुरसिमरा उपमहानागरपालिका– २२ अमलेखगन्जस्थित ससुराली घरबाट ०७७ साल असार २१ गते बेपत्ता भएका लालध्वजको एक सातापछि जितपुरसिमरा उपमहानागरपालिका– २२ अमलेखगन्जस्थित २ नम्बर पुल पूर्वतर्फको थानीमाई सामुदायिक वनको सिसौघारी जंगलमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थमा शव फेला परेको थियो ।
जिल्ला अदालतको फैसलामा पुनरावेदन माग गर्दै परेको रिटमा उच्च अदालतले फैसला सुनाएको हो ।