
गुल्मीको कालीगण्डकी गाउँपालिका– १ हर्मिचौरका युवाले चन्दा उठाएर वृक्षरोपण गरेका छन् । निर्माणाधीन कालीगण्डकी करिडोरबाट गाउँ जाने कच्ची बाटो पहिरोले उजाड बनाएपछि हर्मिचौरका युवाले वृक्षरोपण गरेका हुन् ।
केही महिनाअघि युवाहरूको समूहले आयोजना गरेको कार्यक्रमबाट बचत भएको दुई लाख १२ हजार रकमले वृक्षरोपण गर्ने योजना बनाएका थिए । सो रकम हर्मिचौर समाज काठमाडौंको ५० हजारसहित, हर्मिचौर स्थायी घर भएर हाल देश तथा विदेशमा बस्नेहरूले चन्दास्वरूप सहयोग गरेका हुन ।
युवाहरूको असल कर्ममा कालीगण्डकी गाउँपालिका गुल्मीले हर्मिचौर–रेप्का–जिरो वृक्षरोपण योजनाअन्तर्गत दुई लाख रुपैयाँ दिएको छ । कालीगण्डकी गाउँपालिका– १ हर्मिचौर जिरादेखि रेप्कासम्मको एक हजार एक सय मिटरको दूरीमा सडक दायाँबायाँ वृक्षरोपण गरिने स्थानीय युवा राजन पाण्डेले बताए ।
उनले फूल प्रजातिको अशोका तीन सय बोट, कल्की एक सय र धुपी ५० गरी चार सय ५० वटा बिरुवा लगाइएको जानकारी दिए ।
स्थानीय रमेश पाण्डेले वृक्षरोपणपछि संरक्षणका लागि पनि आफूहरू सक्रियताका साथ लाग्ने बताए । वृक्षरोपण मात्रैले पर्यावरण नहुने भन्दै संरक्षण जरुरी भएको र यसका लागि सबै लाग्नुपर्ने उनले उल्लेख गरे ।
वृक्षरोपणको सुरुवात गर्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले हर्मिचौरका युवाको सक्रियताको प्रशंसा गर्दै वृक्षरोपण जलवायु परिवर्तनका लागि उल्लेख्य कदम भएको बताए । गाउँपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रमका पनि वृक्षरोपणलाई प्राथमिकता दिएको उल्लेख गरे ।