Skip This
कैलालीका बाढी प्रभावित क्षेत्रका किसानलाई चैतेधान भित्र्याउने चटारो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १० सोमबार
  • Tuesday, 23 July, 2024
२o८१ असार १० सोमबार o७:२६:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कैलालीका बाढी प्रभावित क्षेत्रका किसानलाई चैतेधान भित्र्याउने चटारो

एक हजार दुई सय हेक्टरमा चैतेधान, करिब चार हजार मेट्रिकटन उत्पादन हुने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १० सोमबार o७:२६:oo

कैलालीको भजनी नगरपालिका– ८, सोनाफाँटाका किसान रामबहादुर विकलाई हिजोआज चैतेधान भित्र्याउने चटारो छ । उनले नौ कट्ठा जमिनमध्ये पाँच कट्ठामा लगाएको धान भित्र्याइसकेका छन् । बाँकी धान पनि केही दिनमै भित्र्याइसक्ने उनले बताए ।विकले पाँच वर्षदेखि चैतेधान लगाउँदै आएका छन् ।

बर्खायाममा बाढी र डुबानले धान भित्र्याउन नपाइने भएपछि चैतेधान लगाउन सुरु गरेको उनले बताए । उनी आफ्नो डेढ बिघा जमिन बर्खायाममा बाँझो छोड्छन् । ‘बर्खेधान बाढी र डुबानले नष्ट गरिदिन्छ, त्यसैले बर्खामा धान रोप्दैनौँ,’ विकले भने, ‘दुई वर्षअघि एक बिघामा बर्खेधान लगाएको थिएँ । बाढीले धान खेतमै नष्ट गरिदिएकाले एक क्विन्टल मात्र उत्पादन भयो ।’ सिँचाइ नभएकाले उनले आफ्नो सबै जमिनमा चैतेधान लगाउन सकेका छैनन् । जमिन अलग–अलग ठाउँमा रहेको र सबै खेतमा सिँचाइका लागि बोरिङ नभएकाले नौ कट्ठामा मात्र चैतेधान लगाएको बिकले बताए । बाँकी जमिनमा उनले हिउँदे बाली मात्र लगाउने गरेका छन् ।

भजनी– ८ कै किसान सन्ध्या पाण्डे आफ्नो एक बिघा खेतमा रोपेको चैतेधान भित्र्याउने तयारीमा छिन् । पानी पर्दा समस्या हुने भएकाले केही दिनमै धान भित्र्याइसक्ने उनले बताइन् । उनले पनि बर्खामा धान नरोपेर खेत बाँझै छोड्छिन् । दुई बिघा जमिन भए पनि सन्ध्याको परिवारले पहिले वर्षमा एउटा बाली मात्र लगाउँथे । केही वर्षयता भने उनले चैतेधान रोप्न थालेकी छिन् । ‘बर्खामा बढी पानी परे गाउँ नै डुबानमा पर्छ ।

खेत जलमग्न भएर धानको बोट कुहिएर नष्ट हुन्छ,’ उनले भनिन् ।, ‘बर्खामा बाढीले रोपेको धान भित्र्याउन नपाइने भएपछि चैतेधान लगाउन थालेका हौँ ।’ भजनी बर्खामा बाढी र डुबानबाट अत्यधिक प्रभावित हुने पालिका हो । भारी वर्षा हुँदा अधिकांश बस्ती डुबानमा पर्छन् भने खेत हप्तौँसम्म जलमग्न हुन्छन् । बढी वर्षा हुँदा बाढी र डुबानले बाली नष्ट गरिदिने भएकाले किसान चैतेधान खेतीतर्फ आकर्षित हुन थालेका हुन् । बाढी नआए जोगिएला भन्ने आसले कतिपय किसानले थोरै जमिनमा बर्खेधान पनि लगाउने गर्छन् ।

चैतेधानको क्षेत्र विस्तार हुँदै गए पनि किसानले सिँचाइको समस्या भोग्नुपरिरहेको छ । चैतेधानलाई बढी पानी चाहिने, तर सिँचाइ सुविधा नभएकाले सबैले चैतेधान लगाउन नपाएको स्थानीय बताउँछन् । ‘गाउँमा केही ठाउँमा बोरिङ छन्, तर तिनले सबै जमिनमा सिँचाइ गर्न पुग्दैन । विद्युत्को पावर नहुँदा चाहेका वेला सिँचाइ गर्न सकिँदैन,’ विकले भने, ‘सिँचाइको सुविधा हुने हो भने गाउँका धेरै किसानले चैतेधान लगाउँथे ।’

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा यस वर्ष एक हजार दुई सय हेक्टरमा चैतेधान खेती भएको छ । त्यसमध्ये भजनीमा मात्र हजार हेक्टरमा चैतेधान लगाइएको कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख हरिप्रसाद पनेरूले बताए । जोशीपुर र कैलारी गाउँपालिका तथा टीकापुर नगरपालिकामा पनि बाढी प्रभावित क्षेत्रमा किसानले चैतेधान लगाउने गरेका छन् ।

सिँचाइ, गोडमेल आदिमा मिहिनेत भने बढी गर्नुपर्ने भए पनि बर्खे धानको तुलनामा चैतेधानको उत्पादकत्व पनि बढी हुने किसानहरू बताउँछन् । कृषि ज्ञान केन्द्र प्रमुख पनेरूले बर्खे धान एक बिघामा ४०–४५ क्विन्टल फल्ने गरेकोमा चैतेधान ६० क्विन्टलसम्म फलेको बताए । चैतेधान खेती विस्तार हुन सके जिल्लाको समग्र उत्पादन बढ्ने उनले बताए । यस वर्ष करिब चार हजार मेट्रिकटन चैतेधान उत्पादन हुने कृषि ज्ञान केन्द्रले आकलन गरेको छ । तीन हजार दुई सय मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा करिब ६० हजार हेक्टर क्षेत्रमा बर्खेधान खेती गरिन्छ ।