Skip This
जलवायु परिवर्तनसँग लड्न स्वस्थ माटोको रक्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३ सोमबार
  • Tuesday, 23 July, 2024
जुआन लुकास रेस्ट्रेपो
ब्यारोन जोसेफ अर्र
२o८१ असार ३ सोमबार ११:१o:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

जलवायु परिवर्तनसँग लड्न स्वस्थ माटोको रक्षा

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको ४० प्रतिशत जमिनको बाह्य सतह खराब भइसकेको छ

Read Time : > 2 मिनेट
जुआन लुकास रेस्ट्रेपो
ब्यारोन जोसेफ अर्र
नयाँ पत्रिका
२o८१ असार ३ सोमबार ११:१o:oo

जलवायु परिवर्तन र वातावरणीय ह्रासविरुद्धको बलडाइँमा मानवताको सबैभन्दा शक्तिशाली सहयोगी हाम्रै पैतालामुनि छ । कसैकसैलाई यो फोहोर लाग्न सक्छ । तर, पृथ्वीमा जीवनको जग माटो नै हो । स्वस्थ माटोले अद्भूत किसिमका जीव प्रजातिलाई शरण दिएको हुन्छ, जसले मानिसलगायत प्राणीलाई महत्वपूर्ण लाभ प्रदान गर्छन् । ती जीव प्रजातिले हाम्रो ९५ प्रतिशत क्यालोरी र प्राकृतिक पारिस्थितिक प्रणाली दुवैका लागि आवश्यक पोषक तत्व प्रशोधनमा महत्वपूर्ण भूमिका खेल्छ । पानीको भण्डारण गर्छ, खडेरीविरुद्धको क्षमतासमेत निर्माण गर्छ ।

ब्याक्टेरियादेखि गड्यौलासम्म माटोमा जीवनका विविध रूप एकाकार छन् । यी सबैले माटोको संरचना, उर्वरता र उत्पादकता कायम राख्न एकसाथ काम गरिरहेका हुन्छन् । यस जीवन्त इकोसिस्टमले मानवतालाई पोषण मात्र गर्दैन, विशाल कार्बन अवशोषकको रूपमा पनि काम गर्छ । जैविक पदार्थले समृद्ध स्वस्थ माटोले कार्बनलाई वायुमण्डलमा जान रोकेर जमिनमा खिच्छ । र, पृथ्वीका सम्पूर्ण स्थलीय वनस्पतिले भन्दा तीन गुणा बढी कार्बन डाइअक्साइड भण्डारण गर्छ ।
तर कृषिको विस्तार, वन फँडानी र सहरीकरणजस्ता मानवीय क्रियाकलापले संसारभर माटोको क्षयीकरण र ह्रास भइरहेको छ, जसले गर्दा पृथ्वीको हामीलाई धान्ने र जलवायुलाई नियमन गर्ने क्षमता नै कमजोर हुँदै गएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)का अनुसार पृथ्वीको ४० प्रतिशत जमिनको बाह्य सतह खराब भइसकेको छ ।

अफ्रिकाको स्थिति विशेष रूपले भयावह छ, जहाँ ६५ प्रतिशत खेतीयोग्य भूमि नाश भइसकेको छ । मरुभूमीकरणबाट महाद्वीपको ४५ प्रतिशत भूमि प्रभावित छ । तीव्र गतिमा भइरहेको जनसंख्या वृद्धिलाई धान्नुपर्दा अफ्रिकामा प्राकृतिक–वासस्थानमा रूपान्तरण, वन विनाश, जैविक विविधतामा क्षति र भूक्षयले बढावा पाइरहेको छ ।

 जलवायु परिवर्तन र जैविक विविधताको ह्रासलाई कम गर्न, भोकमरी तथा  गरिबी उन्मूलन गर्न स्वस्थ माटोले खेल्न सक्ने महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै अफ्रिकन युनियन(एयू)ले हालै नैरोबीमा ‘फर्टिलाइजर एन्ड सोयल हेल्थ समिट(मलखाद तथा माटोको स्वास्थ्यसम्बन्धी शिखर सम्मेलन)’ आयोजना गरेको छ । जैविक विविधता, जलवायु परिवर्तन र मरुभूमीकरणसम्बन्धी सन् १९९२ को रियो महासन्धिले तय गरेका महत्वाकांक्षी लक्ष्य पूरा गर्ने सवालमा अफ्रिकी मुलुकलाई सहयोग पुर्‍याउन युनियनका नेताहरूले १० वर्षे कार्ययोजना अंगालेका छन् ।

एयूको कार्ययोजनालाई राष्ट्रिय प्रतिबद्धतासँग जोड्ने कुरा भूक्षयसँग जुध्ने सवालमा महत्वपूर्ण छ । अफ्रिकी देशले यी उपायहरूलाई आफ्ना राष्ट्रिय उत्सर्जन–न्यूनीकरण लक्ष्य, भूक्षय निवारण लक्ष्य, र जैविक विविधता रणनीतिहरूसँग तालमेल गराएर खराब भूमिको पुनस्र्थापनाका प्रयासले जलवायु न्यूनीकरण र जैविक विविधताको संरक्षणलाई समेत बढावा दिने कुराको पनि सुनिश्चितता गर्न सक्छन् । सिनर्जी (सहक्रिया) लाई अधिकतम र ट्रेड–अफ(लागत)लाई कम गराउन सक्छन् । 

एयूको कार्ययोजनाको सफल कार्यान्वयनको लागि समन्वय र प्रभावकारिता सुनिश्चित गर्न अन्तर–क्षेत्रिय सहकार्य र सरोकारवालाहरूको संलग्नतालाई बढाउन आवश्यक हुन्छ । महाद्वीपभर नै भूमि पुनस्र्थापनामा लगानी बढाउनु महत्वपूर्ण हुन्छ । 

साथै, जमिनको गुणवत्तामा भइरहेको क्षयीकरणलाई पूर्ण रूपमा रोक्ने कार्य पर्याप्त रूपले लागत–प्रभावी पनि छ । हाल अफ्रिकाको कुल गार्हस्थ उत्पादनको करिब २३ प्रतिशत हिस्सा कृषिक्षेत्रले ओगटेको छ भने ६० प्रतिशत जनसंख्यालाई यसले टेवा पुर्‍याइरहेको छ । यसर्थ, सरकार र निजीे लगानीकर्ताले यहाँको भूमि संरक्षणका प्रयास विस्तार गर्न लाग्ने आर्थिक लागत–लाभमाथि विचार गर्नैपर्छ । यस्तो लगानीले यो शताब्दीको आधासम्मको जैविक विविधता–ह्रासलाई कम गर्न सक्छ । 

अनुसन्धाताहरूले उष्णकटिबन्धीय माटोमा माटोको जैविक कार्बनलाई पुनः पूर्ति गर्ने सम्भावनाबारे व्यापक अन्वेषण गरेका छन् । विशेषगरी युरोक्लोआ (ब्राचियारिया) ह्युमिडिकोला नामक जरा गहिरो जाने पशु आहारमा प्रयोग हुने घाँस रोपेर माटोको जैविक कार्बनलाई पुनः पूर्ति गर्न सफलता पाएका छन् । पूर्वी र दक्षिणपूर्वी अफ्रिकाको यो घाँसलाई चक्रीय चरन रणनीतिहरूसँग एकीकृत गर्दा त्यसले माटोको उर्वराशक्ति बढाउँछ । र, यसको जराले नाइट्रस अक्साइडको उत्सर्जनलाई कम गर्न र माटोको तल्लो तहमा कार्बनको अवशोषणलाई सुधार गर्न सक्छ । यस्ता घाँस रोपिएका खेतबारीले पशुधनबाट उत्सर्जन हुने मिथेनलाई सोस्न र कार्बनको पदचिह्न मेट्नसमेत सहयोग गर्न सक्ने पछिल्ला अध्ययनले देखाएका छन् ।

महत्वपूर्ण कुरा अफ्रिकी देशले किसानलाई माटोको स्वास्थ्यलाई बढावा दिने प्रकृतिमैत्री उत्पादनका विधि अपनाउन प्रोत्साहित गर्न उपयुक्त प्रोत्साहन प्रदान गर्नुपर्छ । जस्तैः कृषि पारिस्थितिकीय विधि वा पुनरुत्पादक कृषि । यी विधिले पनि महाद्वीपभर प्रश्रय पाइरहेका छन् । परिणामतः फसलको उत्पादन बढेको छ । पोषणको गुणस्तरमा सुधार आएको छ र हरितगृह ग्यास उत्सर्जन कम भएको छ ।

किसान हाम्रो माटोका संरक्षक हुन् । तर, उनीहरू व्यापारी पनि हुन् । यो कुरालाई हेक्का राख्नु महŒवपूर्ण हुन्छ । अधिकांश, विशेषगरी साना किसानमा उत्पादनका अधिक दिगो मोडेलमा स्थानान्तरण हुन आर्थिक क्षमताको अभाव छ । उनीहरूलाई कुनै पनि अन्य स्टार्टअपजस्तै व्यवहार गरेर र सही सार्वजनिक र निजी प्रोत्साहन प्रदान गरेर हामी यस संक्रमणलाई सहज बनाउन सक्छाैँ । यसरी संसारभरका करोडौँ किसानलाई भूमि पुनस्र्थापनाका प्रयासको अगुवा बन्न र हाम्रो खाद्य प्रणालीलाई रूपान्तरण गर्ने सवालमा सशक्तीकरण गर्न सक्छौँ ।

(रेस्ट्रेपो ‘अलाइन्स अफ बायोडाइभर्सिटी इन्टरनेसनल एन्ड इन्टरनेसनल सेन्टर फर ट्रोपिकल एग्रिकल्चर’का महानिर्देशक हुन् । जोसेफ अर्र ‘युनाइटेड नेसन्स कन्भेन्सन टु कम्ब्याक्ट डिजर्टिफिकेसन’का प्रमुख वैज्ञानिक हुन्)  
– प्रोजेक्ट सिन्डिकेटबाट