१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o६:३३:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप : दक्षिण अफ्रिकासँग अन्तिम बलमा चुक्यो नेपाल

अन्तिम ओभरमा ८ रन चाहिएको थियो, तर ६ रन मात्रै जोडेपछि नेपाल प्रतियोगिताबाट बाहिरियो

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:३३:oo

आइसिसी टी–२० विश्वकपको रोमाञ्चक खेलमा नेपाल टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । शनिबार बिहान वेस्ट इन्डिजको किङ्स टाउन मैदानमा नेपाललाई अन्तिम ओभरमा खेल जित्न आठ रन चाहिएको थियो । तर, ६ रन मात्रै जोडेपछि नेपाल प्रतियोगितामा दोस्रो हार व्यहोर्न पुग्यो । टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले पूरा ओभर खेल्दा ७ विकेट गुमाउँदै मात्र एक सय १४ रन बनायो । 

अन्तिम ओभर क्रिजमा रहेका गुल्सन झाले दक्षिण अफ्रिकाका ओट्नेइल बार्टम्यानलाई एक चौकासहित ६ रन प्रहार गरेका थिए । अन्तिम बलमा एक रन लिने क्रममा गुल्सन संयमित भएनन् । रन लिने क्रममा डाइभ गर्न चुकेका गुल्सनलाई विकेटकिपर तथा ब्याटर क्विन्टन डी कक र हेनरिक क्लासेनले रनआउट गरे । खेलभर टेस्ट राष्ट्र दक्षिण अफ्रिकालाई दबाबमा राखेको नेपाल अन्तिम चार ओभरमा चुक्यो । १७औँ ओभरमा नेपालले जम्मा तीन रन लियो । १८औँ ओभरमा दुई रन जोड्दा दुई विकेट गुमायो । नेपालले १९औँ ओभरमा आठ रन जोड्दा एक विकेट गुमाएको हो । 

नेपालका कप्तान रोहितकुमार पौडेलले खेलपछि टेस्ट राष्ट्रविरुद्ध गर्व गर्न लायक प्रदर्शन भएको बताए । उनले दक्षिण अफ्रिकाजस्तो राष्ट्रलाई दबाबमा राखेर नेपाली क्रिकेटको भविष्य राम्रो रहेको संकेत देखिएको प्रतिक्रिया दिए । ‘मलाई मेरो टिमप्रति गर्व छ । हामीले ब्याटिङ र बलिङतर्फ नै राम्रो प्रदर्शन गर्‍यौँ,’ रोहितले भने, ‘हामी जितको धेरै नजिक थियौँ । तर, सफल भएनौँ ।’ कप्तान रोहितले यस्तै खेलबाट अनुभव बटुल्ने बताए । साउथ अफ्रिकाका कप्तान एडन मारक्रमले नेपालविरुद्ध खेल्न नसकेको प्रतिक्रिया दिए । ‘हामीले राम्रो खेल्न सकेनौँ । तर, जित निकाल्न सफल भयौँ,’ मारक्रमले भने, ‘नेपालका बलर निकै राम्रो खेलेर हामीलाई दबाबमा राख्न सफल भए ।’

बाहिरियो नेपाल
दोस्रो हारपछि नेपाल समूह ‘डी’ मा तीन खेलबाट एक अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । वर्षाले प्रभावित दोस्रो खेलमा अर्काे टेस्ट राष्ट्र श्रीलंकासँग अंक बाँड्न बाध्य भयो । नेपालले अन्तिम खेलमा बंगलादेशसँग खेल्ने तालिका छ । नेपालको हारसँगै समूहबाट दक्षिण अफ्रिका र बंगलादेश सुपर–८ मा प्रवेश गरेका छन् । चार खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा छ । बंगलादेशको तीन खेलबाट ४ अंक छ । नेदरल्यान्डको दुई तथा श्रीलंकाको एक अंक छ । 

सम्हालिन नसकेको नेपाल
अन्तिम तीन ओभरमा नेपाल सम्हालिन नसक्दा टेस्ट राष्ट्रविरुद्ध रोमाञ्चक खेलमा दुर्भाग्यवश पराजित हुन पुग्यो । १६ ओभर समाप्तिसम्म नेपाल ९५ रन बनाउँदा तीन विकेट गुमाएर खेलिरहेको थियो । तर, त्यसपछिको चार ओभरमा दक्षिण अफ्रिकाले भरपूर अनुभव प्रयोग गर्‍यो । नेपालका ब्याटरले माक्रो जनसनलाई १७औँ ओभरमा मात्र ३ रन प्रहार गरे । स्पिनर ताब्राइज साम्सीले नेपालका सेट ब्याटर आसिफ शेख र दीपेन्द्र सिंह ऐरीको विकेट १८औँ ओभरमा लिँदै नेपाललाई दबाब सिर्जना गरे । नेपालको इनिङ्समा ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरेका हुन् । उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर एक सय रन बनाएको थियो । 

चौथो नम्बर क्रिजमा पुगेका अनिलकुमार शाहले २४ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रनको योगदान गरेका थिए । कप्तान रोहितकुमार पौडेल भने दुई बल खेल्दै शून्यमै पेभिलियन फर्किए । दीपेन्द्रले ६, कुशल मल्लले एक, गुल्सनले ६ र अविजित रहेका सोमपाल कामीले ८ रन जोडे । 

अघिल्ला दुई खेलमा बेन्चमा रहेका साम्सीले चार ओभरमा १९ रन दिएर चार विकेट लिए । उनले नेपालका दुवै ओपनरसहित कप्तान रोहित र दीपेन्द्रको महत्वपूर्ण विकेट लिएका थिए । एनरिक नोर्ट्ज र कप्तान मारक्रमले समान एक–एक विकेट हात पारे । विकेटविहीन बनेका तीव्र गतिका बल कागिसो रबडाले मात्र दुई ओभर बलिङ गर्न पाए । 

भुर्तेलको चार विकेट 
बलियो दक्षिण अफ्रिकाविरुद्ध नेपालका स्पिनरले सात विकेट लिए । पार्टटाइम बलर कुशल भुर्तेलले चार ओभरमा १९ रन दिएर चार विकेट लिएका हुन् । भुर्तेलले कप्तान मारक्रमसहित क्लासेन, माक्रो जनसन र रबडाको विकेट लिँदै दक्षिण अफ्रिकालाई दबाबमा राखेका थिए । अर्का स्पिनर दीपेन्द्रले चार ओभरमा तीन विकेट लिएर २१ रन खर्चिए । दीपेन्द्रले ओपनरद्वय रिजा हेन्ड्रिक्स, डी ककसहित डेभिड मिलरको विकेट लिएका हुन् । सात महिनापछि कमब्याक गरेका सन्दीप लामिछाने विकेटविहीन रहे । उनले चार ओभरमा १८ रन खर्चिए । यस्तै, सोमपाल, करण केसी, कुशल मल्ल र अभिनाश बोहरा पनि विकेटविहीन भए ।

दक्षिण अफ्रिकाका हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । उनले ४९ बलमा पाँच चौका र १ छक्का प्रहार गरे । ट्रिस्टान स्टब्सले १८ बलमा अविजित २७ रन बनाएका हुन् । 

नेपाली बलरले दबाबमा राखे : एडन मारक्रम, कप्तान, साउथ अफ्रिका
हामीले राम्रो खेल्न सकेनौँ । तर, जित निकाल्न सफल भयौँ । नेपालका बलरले राम्रो खेलेर हामीलाई दबाबमा राखे । हामीले बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्नुपर्ने हुन्छ । 

जितको नजिक थियौँ : रोहितकुमार पौडेल, कप्तान, नेपाल
नेपाली टोलीप्रति गर्व गर्छु । हामीले दक्षिण अफ्रिकाविरुद्ध राम्रो बलिङ र ब्याटिङ गर्‍यौँ । जितको नजिक पनि पुग्यौँ । हामीले धेरै राम्रो फाइट गर्‍यौँ । बलिङमा हाम्रा स्पिनरलाई धेरै फाइदा पुग्यो । यस्तै खालको खेलमा एक्सपोजर पाउन सक्यौँ भने आगामी खेलमा नतिजा दिन सक्छौँ ।