
सुदूरपश्चिम प्रदेश सरकारले किसानले उत्पादन गरेको कृषि उपज ढुवानीका लागि आगामी वर्ष कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ।
प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत गरिरहेका प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले कृषि एम्बुलेन्स सञ्चालन गर्न डेढ अर्ब बजेट विनियोजन गरिएको बताए।
त्यस्तै, सरकारले गैरअनुदानको रासायनिक मलमा अनुदान दिने भएको छ। सुदूरपश्चिमलाई धान, गहुँ, मकैको बिउमा आत्मनिर्भर बनाउनका लागि बिउ उत्पादन वृद्धिका लागि तीन करोड २० लाख बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री पालले जानकारी दिए।
सिँचाइ सुविधा विस्तारका लागि नौ करोड १७ लाख तथा कैलालीको भजनी, डोटीको दिपायल सिलगढी, दार्चुलाको महाकाली र बैतडीको दशरथचन्द नगरपालिकामा कोल्डस्टोरको निर्माण सम्पन्न गर्न दुई करोड विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ।
प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत तीन अर्ब नौ करोड बजेट विनियोजन गरेको छ।