१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १२:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भगिनी सम्बन्ध जोडेर सामुदायिक विद्यालय सुधारेको निजी विद्यालय 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१७:oo

केही समयअघि दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित मावि प्रतापकोटको भवन रंगरोगन थिएन। झ्याल, ढोका उप्किएका थिए। डेस्क, बेन्च भाँचिएका थिए। कक्षाकोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थी धुलैधुलोमा बस्न बाध्य थिए।

तर, अहिले त्यस्तो अवस्थामा छैन। सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडिको तुलसीपुर– ६ स्थित गोरखा माध्यमिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो। अहिले विद्यालय रंगीचंगी छ। 

कोठामा म्याट, डेस्क, बेन्च नयाँ छन्। त्यति मात्रै होइन, कक्षाकोठामा स्मार्ट बोर्ड र प्राेजेक्टर पनि छ। यसरी नै गोरखा माविले प्रतापकोटमा जे आवश्यक छ, त्यो सहयोग गर्दै आएको छ।

विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकुदका सामग्री पनि सहयोग गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाकलगायत सहयाेग गर्दै आएको गोरखा ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले बताए। 

यो वर्ष मात्रै ३२ थान डेस्क, बेन्च, पुरानो चारकोठे भवनको रंगरोगन, झ्यालढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताए। त्यस्तै, विगतमा विद्यार्थीलाई न्यानो कपडा वितरण, खेलकुद सामग्री, विद्यार्थीका लागि राउन्ड टेबल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरेको छ। 

विद्यालयलाई थप दुईवटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्नेसमेत प्रमुख केसीको भनाइ छ। स्मार्ट बोर्ड भएमा शिक्षक हाजिर नहुँदा पनि त्यही बोर्डमार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अवस्था नआउने उनले बताए। 

भागिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीलाई जे आवश्यक पर्छ, त्यसअनुरूप सहयोग गर्ने उनले बताए। साथै उनले सोही विद्यालयमा अध्ययनरत दुईजना विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क पढाउन लाग्ने खर्चसमेत व्यहोर्ने बताए। 

निजी विद्यालयसँगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको व्यवस्थापन समिति अध्यक्ष लीलामणि बाँठाले बताए। ‘०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ,’ उनले भने, ‘त्यो सहयोगले हाम्रो विद्यालयको अवस्था फेरिएको छ।’

आवश्यक पर्ने डेस्क, बेन्च, प्राेजेक्टर, म्याट मात्रै होइन, विद्यार्थीलाई शैक्षिक सामग्री तथा कपडासमेत सहयोग गर्दै आएको छ। निजी विद्यालयले सामुदायिक विद्यालय सुधार गर्नका लागि यस्तो खालको सम्बन्ध निर्माण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए। 

उनका अनुसार यो अभ्यास देशभरका निजी विद्यालयले थाल्नुपर्छ। ‘शिक्षाको गुणस्तर सुधारमा निजी विद्यालयको भूमिकाको सबैबाट प्रशंसा हुँदै आएको छ,’ उनले भने, ‘सामुदायिक विद्यालय सुधारमा पनि निजी विद्यालयले चासो दिनुपर्छ।’   

०७५ सालदेखि भागिनी सम्बन्ध राखेको गोरखाले शनिबार मात्रै सोही विद्यालयका २९ जना अति गरिब विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत सहयोग गर्‍यो। 

गोरखा मोडेल कलेजका बिबिएस प्रथम र द्वितीय वर्षमा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर अभिभावकविहीन २९ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको निर्देशक केसीले जानकारी दिए।