१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
Invalid date format o६:२१:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

किन बढिरहेछ सुनको भाउ ?

७ फागुनमा प्रतितोला एक लाख १८ हजार रहेको सुनको मूल्य निरन्तर बढेर ७ वैशाखमा हालसम्मकै उच्च एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता सामान्य उतारचढावमा रहेको मूल्यले नयाँ रेकर्ड राख्ने देखिन्छ ।

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२१:oo

सुनको भाउ बढेको बढ्यै छ । गत साता पनि सुनको मूल्य उच्चदरमा बढेको थियो । १६ देखि २१ वैशाखसम्म  १८ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ३५ हजार चार सय कायम भएको सुनको मूल्य गत साता (२२ देखि २८ वैशाखसम्म) २५ सय रुपैयाँले बढेको थियो । आइतबार थप पाँच सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३८ हजार चार सय रुपैयाँ पुगेको छ । 
गत ७ वैशाखमा नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च हो । अहिलेकै अनुपातमा मूल्य बढ्दै गए यही साताभित्र त्यो रेकर्ड पनि भत्किने देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको थियो । त्यसबाहेक हरेक दिन मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि स्वाभाविक प्रभाव देखिएको व्यवसायीहरू बताउँछन् । 

ब्राजिल, भारत, चीनलगायतका मुलुकले अन्तर्राष्ट्रिय व्यापारमा डलरको सट्टा आफ्नै मुद्रा प्रचलनमा ल्याउन सुरु गरेका छन्, जुन मुद्रामा सुन ब्याकअप (सुरक्षण) हुन्छ । त्यस्तै, ठूला देशका केन्द्रीय बैंकले मौज्दातमा राख्ने सुनको मात्रा बढाउन थालेका छन् । त्यसले पनि विश्व बजारमा सुनको मूल्य बढिरहेको थियो । 

स्विट्जरल्यान्डस्थित ‘ब्यासेल कमिटी’ले जनवरी ०२३ देखि मुद्रा निष्कासन गर्दा सुरक्षण राख्नुपर्ने वस्तुमा पहिलो नम्बरमा सुनलाई राखेको छ । यसअघि ब्यासेलले तोकेको मापदण्डमा पहिलो नम्बरमा अर्थात् भरपर्दाे आधार डलर थियो । कुनै पनि देशका केन्द्रीय बैंकले ब्यासेल कमिटीमा सुन, डलरलगायतका वस्तु तथा मुद्रा सुरक्षण राखेर आफ्नो देशको मुद्रा निष्कासन गर्न पाउँछन् । अहिले ब्यासेलले त्यसको लागि सुनलाई भरपर्दाे वस्तु मान्दै पहिलो नम्बरमा राखेको छ । त्यसले सबै देशका केन्द्रीय बैंकलाई सुनको मौज्दात बढाउने दबाब सिर्जना भइरहेको छ  । अधिकांश देशका केन्द्रीय बैंकले सुनको मौज्दात बढाउन थालिसकेका छन् । 

त्यस्तै, पछिल्लो समय रुस–युक्रेन र इजरायल–इरान युद्धले अन्तर्राष्ट्रिय अर्थतन्त्रमा पर्ने असरलाई मध्यनजर गरेर लगानीकर्ताहरू सुनमा लगानी बढाइरहेका छन् । उनीहरूले सुन किनेर होल्ड गरिरहेका छन् । त्यसले आपूर्ति प्रभावित भई सुनको मूल्य बढेको जानकारहरू बताउँछन् । संसारमा सुनमा गरिने लगानीलाई एकदमै सुरक्षित मानिन्छ । ७ वैशाखपछि भने सुनको मूल्य सामान्य दरमा घट्ने–बढ्ने भइरहेको थियो । गत १९ वैशाखमा प्रतितोला एक लाख ३४ हजार पाँच सय रुपैयाँमा झरेको थियो । तर, अहिले फेरि बढ्न थालेको छ । 

विशेष गरी विभिन्न देशका केन्द्रीय बैंकले ब्याजदर घटाउने नीति ल्याएपछि सुनको मूल्य बढ्न थालेको जानकारहरू बताउँछन् । बिहीबार मात्रै लन्डनको केन्द्रीय बैंक अर्थात् बैंक अफ इंग्ल्यान्डले ब्याजदर कटौती गर्ने संकेत गरेको छ । अबका दुई वर्षमा मुद्रास्फीति १.६ प्रतिशत झार्ने उसको लक्ष्य छ । त्यो नीतिका कारण हाल ५.२५ प्रतिशत रहेको त्यहाँको ब्याजदर भविष्यमा उच्चदरमा घट्नेछ । त्यस्तै, अन्य ठूला राष्ट्रका केन्द्रीय बैंकहरूले पनि ब्याजदर कटौती गर्दै छन् । त्यसको असरले सुनको मूल्य बढेको हो ।

महासंघले पनि शुक्रबार विज्ञप्ति जारी गर्दै बैंक अफ इंग्ल्यान्डलगायत ठूला बैंकहरूले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेका कारण सुनको मूल्य  बढेको जनाएको छ । ‘हालसम्म अन्तर्राष्ट्रिय व्यापार डलरमा निर्भर थियो । तर, केही ठूला देशले त्यसको ठाउँमा सुन ब्याकअप भएको करेन्सी प्रयोग गर्न खोजेका छन् । त्यसको असरले यसै पनि सुनको मूल्य बढेको थियो,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘अहिले ठूला देशका केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने नीति ल्याएका छन् । निक्षेपमा लगानी गर्दा प्रतिफल कम आउने भएपछि ठूला लगानीकर्ताले सुनमा लगानी गर्न थालेका छन् । त्यसले गर्दा विश्व बजारमै सुनको मूल्य बढेको छ ।’

आगामी दिनमा सुनको मूल्य अझै बढ्ने संकेत देखिएको शाक्यको भनाइ छ । नेपाली बजारमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार नै निर्धारण हुन्छ । गोल्डप्राइज डट ओआरजीका अनुसार आइतबार समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस (२.६६७ तोला) १३.७७  डलरले बढेर २३ सय ६० डलर पुगेको छ ।  

साताको पहिलो दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । गत शुक्रबार चाँदी प्रतितोला १७ सय ३५ रुपैयाँ थियो । आइतबार घटेर १७ सय २५ रुपैयाँमा झरेको छ । गत साता तोलामा ९० रुपैयाँले मूल्य बढेको थियो । गत साताअघि चाँदीको मूल्य प्रतितोला १६ सय ४० थियो । 

मूल्य बढ्दा कारोबारमा संकुचन 
सुनको मूल्य अत्यधिक बढ्दा गरगहनाको खरिद–बिक्री भने सुस्ताएको छ । अत्यावश्यकबाहेकका प्रयोजनका लागि सुनका गरगहना बनाउने र खरिद गर्ने ग्राहक अत्यन्तै कम भएको महासंघका अध्यक्ष शाक्यले बताए ।‘केही समयअघिसम्म बिहेको सिजनका कारण व्यवसाय केही चलायमान थियो । तर, अहिले बिहेको सिजन सकियो । अब असारमा मात्रै बिहेको सिजन आउँछ । त्यसवेला व्यवसाय केही बढ्ने आशा छ । त्यसअघि व्यापार–व्यवसाय बढ्न सम्भव छैन,’ उनले भने, ‘पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण आममानिसको आम्दानी घटेको छ । त्यसले गर्दा ग्राहकको क्रयशक्ति कमजोर छ । त्यो अवस्थामा सुनका गरगहनाको खरिद–बिक्री बढ्ने सम्भावना छैन ।’

ग्राहकको क्रयशक्ति कमजोर छ, त्यसैले सुनका गरगहनाको खरिद–बिक्री बढ्ने सम्भावना छैन
माणिकरत्न शाक्य, अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ

केही समयअघिसम्म बिहेको सिजनका कारण व्यवसाय केही चलायमान थियो । तर, अहिले बिहेको सिजन सकियो । अब असारमा मात्रै बिहेको सिजन आउँछ । त्यसवेला व्यवसाय केही बढ्ने आशा छ । त्यसअघि व्यापार–व्यवसाय बढ्न सम्भव छैन । पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण आममानिसको आम्दानी घटेको छ । त्यसले गर्दा ग्राहकको क्रयशक्ति कमजोर छ । त्यो अवस्थामा सुनका गरगहनाको खरिद–बिक्री बढ्ने सम्भावना छैन ।