१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o८:५२:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुदूरपश्चिममा एमाले तयार नहुँदा विश्वासको मत अनिश्चित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:५२:oo

सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्त भएको तीन सातासम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । एमाले विश्वासको मत दिन तयार नहुँदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदनबाट विश्वासको मत लिन र सरकार विस्तार गर्न सकेका छैनन् । विश्वासको मत लिने प्रयोजनका लागि यसअघि आह्वान भएका तीनवटा बैठक स्थगित गरिएको छ ।

मुख्यमन्त्री सोडारीले गत २० वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । त्यसका लागि अपराह्न साढे ५ बजे प्रदेश सभा बैठक पनि आह्वान गरिएको थियो, तर एमालेले विश्वासको मत दिन आनाकानी गरेपछि बैठक २१ गतेलाई सारियो । मुख्यमन्त्रीले छलफलविनै विश्वासको मत लिन लागेको भन्दै एमालेले मत नदिने अडान लिएपछि विश्वासको मतकै लागि २१ र २२ वैशाखमा डाकिएका प्रदेश सभाका बैठक पनि बस्न सकेनन् । 

मुख्यमन्त्रीले विश्वासको मत लिने अर्को मिति तय नभएपछि प्रदेश सभा बैठक अहिले अनिश्चित बनेको छ । विश्वासको मत लिने कार्य धकेलिएसँगै सरकार विस्तारमा पनि ढिलाइ भएको छ । माओवादी संसदीय दलका उपनेता अक्कल रावलले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे गठबन्धनमा अनौपचारिक छलफल भइरहे पनि मिति भने तय नभएको बताए । विश्वासको मत र सरकार विस्तारबारे केन्द्रमै सत्तागठबन्धनको शीर्ष तहमा समेत छलफल भइरहेको उनले जानकारी दिए । ‘हाम्रो पार्टी विश्वासको मत दिन तयारै छ, एमालेले केही दिन रोकौँ भनेपछि ढिलाइ भएको हो,’ रावलले भने, ‘विश्वासको मत लिनेबारे केन्द्रमा पनि छलफल भइरहेको छ ।’ मुख्यमन्त्रीले विश्वासको मत लिने वातावरण बन्दै गएको उनले दाबी गरे ।

अक्कल रावल, उपनेता, माओवादी संसदीय दल
हाम्रो पार्टी विश्वासको मत दिन तयारै छ, एमालेले केही दिन रोकौँ भनेपछि ढिलाइ भएको हो । विश्वासको मत लिनेबारे केन्द्रमा पनि छलफल भइरहेको छ ।

मुख्यमन्त्रीले छलफल नै नगरी विश्वासको मत लिने मिति तय गरेको, बझाङको उपनिर्वाचनबाट निर्वाचित सदस्यले शपथ नलिएको र केन्द्रमा पार्टी नेतृत्वसँग छलफल नभएको भन्दै एमालेले मत दिन आनाकानी गरेको हो । यहीबीचमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौंमा पार्टी अध्यक्ष केपी ओलीसँग सुदूरपश्चिममा विश्वासको मतबारे छलफल गरेर फर्केका छन् ।

एमाले अहिले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिन केही दिन कुर्ने पक्षमा छ । एमाले संसदीय दलका नेता रावलले मुख्यमन्त्रीले विश्वासको मत लिन हतार गर्नु आवश्यक नरहेको प्रतिक्रिया दिए । ‘बझाङबाट निर्वाचित सदस्यको शपथ बाँकी छ, केन्द्रमा पनि राजनीतिक उतारचढाव भइरहेको छ,’ उनले भने, ‘विश्वासको मत दिँदैनौँ भनेका छैनौँ, तर अहिल्यै हतारिनुपर्ने परिस्थिति छैन ।’ गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम र सत्ता सञ्चालनमा सहमति हुन पनि बाँकी रहेको उनले बताए ।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले नै विश्वासको मत दिन तत्काल हतार नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौं पुगेका नेता रावल र प्रमुख सचेतक सुरेन्द्र पाललाई अध्यक्ष ओलीले विश्वासको मत लिने समय पर्याप्त रहेकाले हतार नगर्न भनेका हुन् । मुख्यमन्त्री नियुक्तिका वेला पनि एमालेले सोडारीको नाममा असहमति जनाएको थियो । 

एमाले, माओवादी, नागरिक उन्मुक्ति र एकजना स्वतन्त्र सांसदको समर्थनमा गत ६ वैशाखमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । आगामी ५ जेठसम्म उनले प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ । गत १८ वैशाखमा बसेको बैठकले गठबन्धनको बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने निर्णय गरेको थियो । बैठकमा एमालेबाट प्रमुख सचेतक पाल सहभागी थिए । 

विश्वासको मतका कारण मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकारमा सहभागी हुने एमाले, माओवादीको तयारी छ । सरकारमा अहिले नागरिक उन्मुक्तिबाट मात्र दुईजना मन्त्री छन् । अहिले नै विश्वासको मत लिएर सरकार विस्तार गर्ने योजनामा रहेका मुख्यमन्त्री सोडारीले अब अर्को महिना विश्वासको मत लिने बताइएको छ ।

एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन समस्या नरहेको बताए । ‘मुख्यमन्त्रीमा समर्थन गरेका सबै दलले मत दिन्छौँ भनेका छन्, केन्द्रमा पनि शीर्ष तहमा कुराकानी भइरहेकै छ,’ रावलले भने, ‘पार्टीहरूले आन्तरिक छलफल गर्नुपर्ने भएकाले पनि केही ढिलाइ भएको हो । 

ad
ad