१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुधार केन्द्रबाट भाग्न खोज्दा कुटपिट गरी शाहीको हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:४६:oo

कैलालीको घोडाघोडी नगरपालिका– ४ स्थित नयाँ बाटो सुधार केन्द्रमा आश्रित २५ वर्षीय सुनील शाहीको कुटपिटबाट हत्या भएको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुधार केन्द्रमा आश्रितहरूको कुटपिटबाट शाहीको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

कुटपिट गरी हत्या गरेको भन्दै मृतकका आफन्तले सुधार केन्द्र सञ्चालकसहित १७ जनाविरुद्ध बिहीबार किटानी जाहेरी दिएका छन् । यो घटनामा प्रहरीले १६ जनालाई बुधबार नै पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार पालले अभियुक्तविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् । 

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार मंगलबार दिउँसो शाहीले पुनर्स्थापना केन्द्रबाट भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट भएको खुलेको छ । केन्द्रमा आश्रितहरूले पालैपालो कुटपिट गरेपछि शाही गम्भीर घाइते भएका थिए ।

कुटपिटपछि रुँदै कोठामा गएका उनको राति नै मृत्यु भएपछि घटना लुकाउन छतबाट खसेर मृत्यु भएको देखाउन खोजिएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक पालले घटना अनुसन्धानका क्रममा रहेकाले अहिल्यै धेरै कुरा खोल्न नमिल्ने बताए । उनले अभियुक्तविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । 

मृतकका आफन्तले पुनर्स्थापना केन्द्रका अध्यक्ष होम तामाङ, सञ्चालक बल खत्री र रोशन ऐरसहित १७ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । पुनर्स्थापना केन्द्रमा बस्ने घोडाघोडी नगरपालिकाका विपुल सापकोटा, सुदर्शन अधिकारी, भूपेन्द्र खड्का, विनोद शाही, कमल रिजाल, गौरव आचार्य, नवीन रावल, नवराज चौधरी, कृष्ण तिमल्सिना, सुमन भट्ट, आकाश अधिकारी र रोशन पनाडीविरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुधार केन्द्रमै बस्ने गौरीगंगा नगरपालिका दिनेश मन्नी तथा सुधार केन्द्रमा साथीलाई भेट्न गएका मुकेश सुनारका नाममा पनि मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । प्रहरी नायब उपरीक्षक पालले फरार रहेका सञ्चालक ऐरको खोजी भइरहेको बताए । मृतक शाहीलाई उनका आफन्तले गत पुसमा सुधार केन्द्रमा भर्ना गरेका थिए ।

ad
ad