१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
पद तथा गोपनीयताको शपथ लिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की
२o८१ जेठ ७ सोमबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सर्वाेच्च पुग्यो कोशीको विवाद

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१३:oo

प्रमुख राजनीतिक दलहरूको सत्ता–संघर्षको प्रयोगशाला बन्यो कोशी, डेढ वर्षमै तेस्रोपटक सर्वाेच्च अदालत पुग्यो विवाद, प्रदेश सभाको दोस्रो कार्यकालको डेढ वर्षमै ६ मुख्यमन्त्री

बहालवाला मुख्यमन्त्रीलाई पदमुक्त गरेर प्रदेश प्रमुखले हतारहतारमा नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि कोशीको राजनीति फेरि सर्वोच्च अदालतमा पुगेको छ । कोशीमा सत्ता–राजनीतिको विवाद डेढ वर्षमै तेस्रोपटक सर्वाेच्च पुगेको छ । 

एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएकै दिन बिहीबार निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस नेता केदार कार्की सर्वाेच्च पुगेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले केदारलाई पदमुक्त गरेर नयाँ मुख्यमन्त्री नियुक्त गरेपछि विवाद अदालत पुगेको हो । कार्कीले आफ्नो नियुक्ति यथावत्का लागि आदेश जारी गर्न मागसहित बिहीबार सर्वाेच्चमा रिट दायर गरेका हुन् । रिटको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

यसअघि गत वर्ष कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग र दोस्रोपटक थापा नै मुख्यमन्त्री बन्दा प्रदेश सभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्यले विश्वासको मत दिएको दुई विषय अदालत पुगेका थिए । दुवै विवादमा थापाको मुख्यमन्त्री पद गुमेको थियो ।

धारा १६८ (५) अन्तर्गतको सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्ने व्यवस्था संविधानले परिकल्पना नगरेको दाबी गर्दै कार्कीले नयाँ मुख्यमन्त्री नियुक्तिको आह्वान उत्प्रेषणको आदेशबाट बदर गर्नुपर्ने कार्कीको वारेस सुप्रेक्षा जोशीले दायर गरेको रिटमा उल्लेख छ । ‘...असंवैधानिक आह्वानको आधारमा दाबी पेस गरेको भनी मुख्यमन्त्रीमा नियुक्त गरिएको भनिएका माननीय हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको जिम्मेवारीमा कुनै कामकारबाही नगर्न–नगराउन’ अन्तरिम आदेशको माग गरिएको छ ।

कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्न २६ वैशाखमा प्रदेश प्रमुखले आह्वान गरेको सूचना खारेजी र प्रदेश सभाले ७ वैशाखमा पारित गरेको संकल्प प्रस्ताव बदरको माग गरेका छन् । प्रदेश प्रमुख खापुङले अल्पमतमा परेको ३० दिनसम्म पनि विश्वासको मत वा राजीनामा नदिएको भन्दै बुधबार मात्र कार्कीलाई अपदस्थ गर्दै संविधानको धारा १६८ (५) अनुसार नै नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएका थिए । 

मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्म समयावधि रहे पनि प्रदेश प्रमुख खापुङले बिहीबार नै हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथग्रहण पनि गराएका छन् । एमाले र माओवादीका ५२ सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । र, खापुङले समर्थन गर्ने सबै सांसदलाई आफैँ उपस्थित भएर सनाखत गराएपछि कार्कीलाई नियुक्त गरेका हुन् । 

यसअघि गत असारमा तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षरको प्रयोग गरी कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनेका थिए । त्यसविरुद्ध दायर रिटमा सर्वाेच्चले थापालाई मुख्यमन्त्री पदबाट पदमुक्त गरिदिएको थियो । उनी फेरि १६ साउनमा मुख्यमन्त्रीमा नियुक्त भए । प्रदेश सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले पनि विश्वासको मत दिएपछि त्यो विवाद पनि सर्वाेच्च पुगेको थियो । 

२१ भदौमा सर्वोच्चले थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरी संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन गर्न भनेको थियो । जसअनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बनेका थिए । कार्कीले विश्वासको मत पाउन नसक्ने भएपछि एक महिनामै राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसका केदार कार्की १६८ (५) अनुसार मुख्यमन्त्री बनेका थिए । 

तर, उनले पनि विश्वासको मतको परीक्षण नगरेपछि प्रदेश प्रमुखले फेरि १६८ (५) अनुसार एमालेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीको नियुक्तिसँगै कोशी प्रदेश सभाको दोस्रो कार्यकालको डेढ वर्षमा ६ जना मुख्यमन्त्री फेरिएका छन् । यससँगै कार्की तीनपटक मुख्यमन्त्री बने भने कांग्रेसका उद्धव थापा दुई र केदार कार्की एकपटक मुख्यमन्त्री बने । 

निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा कांग्रेसले पनि सहयोग गर्ने कांग्रेस संसदीय दल कोशीका प्रमुख सचेतक गोपाल तामाङले बताए । ‘मुख्यमन्त्री नियुक्तिको विषय कांग्रेस केन्द्रीय समितिले धारणा बनाएपछि हामी पनि बनाउँछौँ । तर, संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएको मुख्यमन्त्रीलाई दलले समर्थन फिर्ता लिने होइन । सबै सांसदले फिर्ता लिनुपर्ने हुन्छ । तसर्थ यो असंवैधानिक छ,’ उनले भने, ‘निवर्तमान मुख्यमन्त्री संवैधानिक बाटो रोजेर सर्वोच्च जानुभएको छ । यसमा कांग्रेसले साथ दिन्छ ।’

मुख्यमन्त्रीमा हिक्मत कार्कीको ‘ह्याट्रिक’

एमालेका हिक्मत कार्की प्रदेश सभाको यही कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री बनेका छन् । एमाले–माओवादी गठबन्धनबाट प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बनेका कार्कीले पहिलोपटक ६ महिना सत्ता चलाए । तर, सत्तागठबन्धन परिवर्तन भएसँगै उनको सत्ता ढल्यो । तेस्रोपटक सर्वोच्चको परमादेशबाट मुख्यमन्त्री बनेका कार्कीले एक महिना पनि सत्ता चलाउन पाएनन् । फेरि सत्तागठबन्धन एमाले–माओवादीको हातमा गएसँगै उनी कोशीको नयाँ मुख्यमन्त्री बनेका छन् । अहिले माओवादी र एमालेसँग सुविधाजनक बहुमत छ । ९२ सदस्यीय प्रदेश सभामा एमालेका ४० (एक उपसभामुखसहित) र माओवादीका १३ गरी ५३ सांसद छन् । जब कि ४७ जना भए सरकार बनाउन पर्याप्त हुन्छ । अब मुख्यमन्त्री कार्कीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । तर, एक हप्ताभित्र सरकारलाई पूर्णता दिँदै विश्वासको मत लिने तयारी भएको नवनियुक्त मुख्यमन्त्री कार्कीले बताए । शपथग्रहणपछि सञ्चारकर्मीसँग उनले जनताका निराशालाई चिर्ने गरी काम गर्ने प्रतिक्रिया दिए । 

सानो आकारको मन्त्रिपरिषद्
नवनियुक्त मुख्यमन्त्री कार्कीले बिहीबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । एमालेबाट रामबहादुर मगर र माओवादीबाट गणेशप्रसाद उप्रेती विनाविभागीयमन्त्री बनेका हुन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिए । 
 

ad
ad