ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका १६९ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्नलक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।
बैंकले सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रममा २० हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।
बैंकले कोशी प्रदेश आयोजना गरेको कार्यक्रममा दुई हजार पाँच सय, मधेश प्रदेशमा दुई हजार, बागमतीमा पाँच हजार, गण्डकीमा चार हजार पाँच सय, लुम्बिनीमा तीन हजार पाँच सय, कर्णालीमा पाँच सय र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सयभन्दा लक्षित वर्गको सहभागिता रहेको बताइएको छ ।
बैंकले चालू आर्थिक वर्षमा मुलुकका ७७ जिल्लामा रहेका आफ्ना ३५४ शाखामार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बिमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।