१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबार पुनर्निर्माण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o९:३o:oo

भक्तपुर नगरपालिकामा रहेको तीन सय ४६ वर्ष पुरानो थन्थु दरबार पुरानै शैलीमा बन्ने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनेको थन्थु दरबारलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने गरी सोमबार शिल्यान्यास गरिएको हो । भूकम्प जानुअघिसम्म यस दरबारमा भक्तपुर नगरपालिकाको कार्यालय थियो ।

थन्थु दरबार पुनर्निर्माण निर्देशक समितिका संयोजक एवं नगरपालिकाका मेयर सुुनील प्रजापतिका अनुसार बजेट अभाव र विविध प्राविधिक कारणले दरबार पुनर्निर्माणले गति लिन सकेको थिएन । ‘नौ वर्षअघि गएको महाभूकम्पका कारण क्षतिग्रस्त दरबार पुनर्निर्माणको तयारी गर्दागर्दै बजेट अभाव र प्राविधिक कारणले अघि बढ्न सकेको थिएन । ऐतिहासिक यो दरबार जसरी पनि पुनर्निर्माण गर्नुपर्छ भनेर यस वर्ष सुरु गरेका हौँ,’ प्रमुख प्रजापतिले भने ।

यो दरबार भक्तपुरको ५५ झ्यालसँगै जोडिएको छ । ०७४ को निर्वाचनपश्चात् नगरपालिकाले नगरका एक सय २४ भन्दा धेरै सम्पदा पुनर्निर्माण गरे पनि थन्थु दरबार अलपत्र अवस्थामा थियो । ०७९ सालको निर्वाचनपछि दोहोरिएका स्थानीय जनप्रतिनिधिले थन्थु दरबार पुनर्निर्माणलाई प्राथमिकतामा राखी काम अगाडि बढाएका थिए । मेयर प्रजापतिले सम्पदा पुनर्निर्माण ठेक्कामार्फत नभई उपभोक्ता समितिमार्फत गर्न जोड दिँदै आएका थिए । सोहीअनुसार भूकम्पबाट क्षतिग्रस्त नगरपालिकाभित्रका सबैजसो सम्पदा उपभोक्ता समितिमार्फत पुनर्निर्माण भएका छन् । नगरपालिकाले सबै सम्पदा विदेशी अनुदानविनै पुनर्निर्माण गरेको छ । 

दरबार भत्काउन मात्रै साढे ११ लाख खर्च
भूकम्पले क्षति पुगेको थन्थु दरबार भत्काउन मात्रै ११ लाख ५१ हजार खर्च भएको छ । नगरपालिकाअनुसार दरबार भत्काउन १३ लाख ३८ हजार लगत इस्टिमेट भएकोमा ११ लाख ५१ हजार लागेको हो । दरबारको जगसम्म भत्काइसकेपछि पुरातत्व विभागका महानिर्देशकबाट समेत पटक–पटक अवलोकन र उत्खनन भएको थियो । मेयर प्रजापतिका अनुसार दरबार निर्माणका लागि १२ करोड ८५ लाख ३४ हजार बजेट स्वीकृत भएको छ । पहिलो चरणको कार्ययोजनामा चार करोड ७२ लाख रुपैयाँ बजेट स्वीकृत भइसकेको छ । एक करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको मेयर प्रजापतिले जानकारी दिए । सरकारले सम्पदा पुनर्निर्माणका लागि सरकारी मूल्यमा काठ आपूर्ति गर्ने व्यवस्था गरेमा धेरै सहज हुने उनले बताए । 

भक्तपुर दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख अरुणा नकर्मीले भूकम्पले भक्तपुरका धेरै सम्पदा तथा निजी घरमा क्षति पु¥याएको स्मरण गरिन् । सम्पदा संरक्षणमा माटो जोडाइको प्रविधिलाई जोड दिँदै जानुपर्ने बताउँदै उनले सरकारले सम्पदा पुननिर्माणका लागि आवश्यक काठ र माटो सहज रूपमा उपलब्ध गराएको खण्डमा मौलिक स्वरूप संरक्षणमा सहज हुने बताइन् ।

इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठले तत्कालीन राजा जितामित्र मल्लले बनाउन लगाएको तीन सय ४६ वर्ष पुरानो थन्थु दरबारलाई नगरपालिकाले पुरानै मौलिक स्वरूपमा पुनर्निर्माण गर्न थाल्नु प्रशंसनीय भएको बताए । ‘५५ झ्याल दरबारको अध्ययन अनुसन्धानको क्रममा जग खण्ड उत्खनन गर्ने क्रममा ५५ झ्याल दरबार थन्थु दरबारकै दक्षिण भाग रहेको अनुसन्धानबाट पत्ता लागेको थियो । यसले दरबार क्षेत्रस्थित ९९ चोकको अध्ययन–अन्वेषण सम्भव रहेको छ,’ उनले भने । 

ad
ad