१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सरकार संसद्प्रति जवाफदेही नभएको कांग्रेसको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o८:४o:oo

कांग्रेस प्रमुख सचेतक रमेश लेखक भन्छन्– नयाँ समीकरण बनाउने खेलमा कांग्रेस लागेको छैन, कांग्रेसले रवि, माधव र उपेन्द्रलाई प्रधानमन्त्री अफर गरेको साँचो होइन

कांग्रेसले सरकार संसद्प्रति जवाफदेही नभएको टिप्पणी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बुधबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारले सदनलाई हेपेको आरोप लगाए । ‘संसद्लाई काम दिने, सदनप्रति जवाफदेही हुने सरकार नै हो । समितिमार्फत निगरानी, विधायनको काम समग्रतामा हुने हो,’ उनले भने, ‘तर, अहिले सरकारले हेपेको छ । प्रतिपक्षीले भनेको सामान्य कुरा पनि नटेर्ने अवस्था छ ।’ 

प्रमुख सचेतक लेखकले प्रतिनिधिसभाको १५ महिने कार्यकालमा संसद् कानुन निर्माणमा कमजोर रहेको पनि स्वीकार गरे । ‘यो अवधिमा विधेयक बनेनन्, यो भएको कुरा हो, स्वीकार गर्छौँ,’ उनले भने, ‘हामी सरकारमा बस्दा पनि विधेयक निर्माणमा कमजोरी भयो । अहिले प्रतिपक्षमा हुँदा पनि कमजोरी नै छ ।’ आगामी अधिवेशनमा कांग्रेस विधायिकी कार्यमा सुदृढ भूमिकामा उत्रिने उनको भनाइ थियो । ‘सबै विधेयकमा विज्ञ र सरोकारवालासँग संस्थागत छलफल गरिरहेका छौँ । थप सुधार गरेर अगाडि बढ्छौँ,’ उनले भने । 

लेखकले संसद्को प्रभावकारिता हुन नसकेको उल्लेख गर्दै यसले व्यवस्थामै जटिलता थपिन सक्ने चिन्ता व्यक्त गरे । संसद्को प्रभावकारिताका लागि दलहरू जिम्मेवार हुनुपर्ने, कोरम नपुग्ने समस्यालाई निराकरण गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेसले सांसदको अध्ययन र पूर्वतयारीमा जोड दिएको, तथ्य–तथ्यांकसहित बोल्ने, विधायनको काममा पनि संशोधन राख्ने, छलफलमा भाग लिने गरी जागरुक गराउन संसदीय दलबाट कोसिस गरिरहेको उनले सुनाए । 

नेता लेखकले पछिल्लो समय संसदीय समितिका कामकारबाहीमा देखिएको स्वेच्छाचारिताको निगरानी सदनले गर्नुपर्ने बताए । सरकारको निगरानी गर्ने समितिका कामकारबाहीको निगरानी कसले गर्ने भन्ने प्रश्नमा लेखकले भने । संसदीय समितिका बैठक सिंहदरबारस्थित आफ्नो कार्यकक्षभन्दा पनि एनजिओको डोनरमा तारे होटेलमा बसिरहेको र सदनबाटै सकिसकेको प्रिबजेटमा औचित्यहीन छलफल गरिरहेको भनेर उठेको प्रश्नमा लेखकले प्रमुख प्रतिपक्षीका तर्फबाट यसमा ध्यानाकर्षण गराउने बताए । ‘विशेष अवस्थामा समिति सिंहदरबारबाहिर बैठक बस्दा सभामुखको अनुमतिले गर्ने भन्ने हो । तर, समितिको औपचारिक बैठक बाहिर बस्नु उपयुक्त होइन,’ उनले भने । 

कांग्रेसले संसद् नै प्रभावित हुने गरी उठाइरहेको सहकारीका विषयमा नेता लेखकले दुईवटा कार्यादेश हुने गरी संसदीय छानबिन समिति गठन हुनुपर्ने धारणा राखे । ‘कांग्रेसले व्यक्तिलक्षित मात्रै कुरा गर्‍यो भन्ने भाष्य बनाउन खोजिएको छ, त्यसो होइन । गृहमन्त्रीजीका माथि मात्रै छानबिन खोजेको होइन, हजारौँ बचतकर्ताको रकम हिनामिना भएको छ, संरक्षण गर्नुपर्छ, दुरुपयोगकर्तालाई कारबाही गर्ने कुरामा छानबिन बनाएर जान सकिन्छ,’ उनले भने, ‘एउटा समग्रतामा र अर्काे उहाँ (रवि लामिछाने) माथि पनि छानबिन हुने गरी संसदीय समिति बनाउँ भन्ने हाम्रो विषय हो ।’ 

लेखकले वर्तमान प्रधानमन्त्री प्रचण्डबाहेक कसैलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारे । ‘कांग्रेसले प्रस्ताव गरेको, विश्वासको मत दिएको, हस्ताक्षर गरेर प्रधानमन्त्री बनाएको वर्तमान प्रधानमन्त्री प्रचण्डजी नै हो । अरू कसैलाई अफर गरेको छैन,’ उनले भने । रास्वपा सभापति रवि लामिछानेसहित नेताहरूले कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको कुरा दोहोर्‍याएपछि लेखकले कांग्रेसले कतिजनालाई प्रधानमन्त्री प्रस्ताव गरेको हो भन्ने प्रश्न सामना गरेका थिए ।

ad
ad