आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बुधबार रोहन कार्कीको कप्तानी उत्रेको आरसी ३२ ले स्पोर्टस् एकेडेमी साँगालाई २–० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन मगर र सञ्जय सुब्बाले एक–एक गोल गरेका हुन् । जितसँगै आरसी ३२ ले सात खेलबाट १६ अंक जोडेको छ । एक खेल कम खेलेको बागमती युवा क्लब १३ अंकका साथ दोस्रो स्थानमा छ । छैटौँ स्थानको साँगाले १३ अंक जोडेको छ ।
जितपछि आरसी ३२ का प्रशिक्षक गणेश खड्का हर्षित देखिए । उनले दुई मुख्य खेलाडी नहुँदा जित हात निकाल्दा खेलाडीको मनोबल उच्च रहको प्रतिक्रिया दिएका छन् । ‘मुख्य दुई खेलाडी नै नहुँदा समस्या भएको छ । उनीहरूले सबै कागजी प्रक्रिया पूरा गरेका थिए, तर कारबाहीमा परेपछि लिग खेल्न पाएनन्,’ उनले भने, ‘खेलाडी राजनीतिको सिकार भएका छन् । दुवै खेलाडी नहुँदा टोलीलाई धेरै घाटा भएको छ ।’
लिगमा सहभागी १४ मध्ये नौ क्लबले आरसी ३२ र क्लबबाट खेलिरहेका बबिन बोहरा र सुमनबहादुर मगरविरुद्ध उजुरी दिएका थिए । बी डिभिजन क्लबमा आबद्ध भएर सी लिग खेलेको उनीहरूमाथि आरोप छ । एन्फाको अनुशासन कमिटीले बोहरा र मगरलाई लिगका बाँकी खेलमा प्रतिबन्ध लगायो । साथै, आरसी ३२ लाई दश हजार जरिवाना गराएको छ । बबिनले श्री भगवती र सुमन झापा ११ मा अनुबन्ध थिए । खेलाडीले आफूमाथिको आरोपमा सत्यता नभएको जनाएका छन् । उनीहरूले एन्फाको खेलाडी संघमा न्यायका लागि उजुरी दिएका छन् । एन्फाले सामाजिक युवाविरुद्ध खेलेको बराबरी खेललाई उल्ट्याउँदै आरसी ३२ लाई ३–० ले हराएको थियो । उसको ३ अंक खोसिएको छ । ३ अंक खोसिएपछि आरसी ३२ ले शीर्षस्थान गुमाएको थियो ।
प्रशिक्षक खड्काले शीर्ष स्थानमा फर्किएको आरसी ३२ को लक्ष्य नै च्याम्पियन हुने बताए । ‘राम्रो प्रदर्शन गर्दै शीर्ष स्थानमा फर्किएका छौँ । हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो,’ खड्काले भने, ‘आगामी दिनमा पनि यो लयलाई निरन्तरता दिनेछौँ ।’ आरसी ३२ को जितमा खेलको १०औँ मिनेटमा सुजनले अग्रता दिलाएका थिए । उनले विवश बिसीको क्रसलाई हेडिङ गोल गरेका हुन् । खेलको ६५औँ मिनेटमा सञ्जयले एक गोल गरे । उनले बक्सबाहिरबाट हानेको लामो प्रहार गोलमा परिणत भएको थियो ।
झम्सीखेलको तेस्रो जित
लिगमा झम्सीखेल युवा क्लबले तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्समा भएको दोस्रो खेलमा झम्सीखेलले स्वयम्भू क्लबविरुद्ध १–० को जित निकाल्यो । यो हारले स्वयम्भूको रेलिगेसनमा पर्ने खतरा बढेको छ । झम्सीखेलाई जित दिलाउन अभिनाश चौधरीले निर्णायक गोल गरेका हुन् । उनले खेलको २७औँ मिनेटमा आशिष बमको क्रसमा गोल गरेका थिए । जितसँगै सात खेलमा १० अंक जोडेको झम्सीखेल पाँचौँ स्थानमा छ ।
च्याम्पियन बन्ने लक्ष्यलाई पूरा गछौँ
गणेश खड्का, प्रशिक्षक, आरसी ३२
मुख्य दुई खेलाडी नै नहुँदा समस्या भएको छ । उनीहरूले सबै कागजी प्रक्रिया पूरा गरेका थिए, तर एन्फाको कारबाहीका कारण खेलाडीले लिग नै खेल्न पाएनन् । उनीहरू राजनीतिको सिकार भए । टोलीलाई पनि धेरै क्षति भएको छ । तैपनि राम्रो प्रदर्शन गर्दै शीर्ष स्थानमा फर्किएका छौँ । हाम्रो लक्ष्य च्याम्पियन बन्ने नै हो ।
एन्फामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी
अखिल नेपाल फुटबल संघ (एन्फा)मा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा फुटबल संघका सदस्य अमित खत्रीले बुधबार एन्फा अध्यक्ष, महासचिव र कोषाध्यक्षको मिलेमतोमा भ्रष्टाचार गरेको दाबी गर्दै छानबिन गर्न उजुरी दिएका हुन् ।
खत्रीले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीले एन्फालाई एक करोड रुपैयाँ हानि–नोक्सानी पुर्याएको दाबी गरेका छन् । ‘सबै प्रमाणित भएकै पक्ष हो । आवश्यकताअनुसार सबै प्रमाण सार्वजनिक गर्छौँ । बारम्बार सम्बन्धित निकायमा जानकारी दिँदा पनि ध्यान दिइएन । यसकारण बाध्य भएर अख्तियारमा उजुरी दिएको हुँ,’ खत्रीले भने ।
उनले एन्फामा पछिल्लो समय एक करोड हाराहारी भ्रष्टाचार भएको दाबी गरेका छन् । ‘केही महिनादेखि एन्फालाई एक करोडहाराहारी हानि–नोक्सानी पुर्याएको हुँदा गहन छानबिन गरी कानुनवमोजिम भ्रष्टाचारअन्तर्गत कारबाही गर्न हार्दिक अनुरोध गर्दछु,’ उजुरीपत्रमा भनिएको छ, ‘एन्फामा भ्रष्टाचार, बेथिति र आर्थिक अनियमितताले पराकाष्ठा नै नाघेको छ ।’
एन्फा महासचिव राईले भने यस विषयमा केही जानकारी नभएको बताएका छन् । ‘अख्तियारमा उजुरी परेको सम्बन्धमा केही जानकारी छैन,’ उनले भने, ‘एन्फाका तीन व्यक्तिमाथि के–कस्तो आरोप लगाइएको हो, यस विषयमा थप अध्ययन गरी प्रतिक्रिया दिनेछु ।’ खत्रीले उजुरीमा कार्यसमिति बैठकमा निर्णय नै नगराई खेलकुद ऐनमा भएको व्यवस्थासम्बन्धी युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले दिएको नीति–निर्देशनसमेतलाई लत्याउँदै १० जना अतिरिक्त पदाधिकारी बहराइन पठाउँदा संघलाई हानि–नोक्सानी भएको उल्लेख छ । खत्रीले नेपाल र इंग्ल्यान्ड ‘सी’ बीचको मैत्रीपूर्ण खेलका लागि हवाई टिकटमा समेत व्यापक अनियमितता भएको आरोप लगाएका छन् ।