१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ७ सोमबार o७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी फुटविरुद्ध जसपा नेपाल अदालत जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:४१:oo

पार्टी फुटविरुद्ध जसपा नेपाल अदालत जाने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष उपेन्द्र यादवले कुनै आधारविना अशोक राई समूहले व्यक्तिगत स्वार्थका आधारमा पार्टी फुटाएको भन्दै कानुनी उपचारको खोजी गर्ने बताएका हुन् । उनले आफू देशबाहिर रहेको र पार्टी महाधिवेशनको मुखमा रहेको अवस्थामा षड्यन्त्रपूर्वक पार्टी फुटाएको आरोप लगाए ।

‘महाधिवेशन तयारी भइरहेको र संस्थागत रूपमा कुनै विवाद नरहेका वेला केही व्यक्तिहरूको महत्वाकांक्षा र व्यक्तिगत स्वार्थका कारण पार्टी फुटाएको घोषणा गरे,’ उनले भने । फुटेर बनेको पार्टीको दर्ता प्रक्रिया असंवैधानिक भएको उनको दाबी थियो । उनले रातारात दल दर्ता गरेको भन्दै शंकासमेत व्यक्त गरे । ‘असंवैधानिक रूपमा रातारात पार्टी दर्ता भएको घोषणा भयो । नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दिइएको सायद यो नै पहिलोपटक होला । यसविरुद्ध हामी अदालत जानेछौँ,’ उनले भने ।

जसपा नेपालले वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक आह्वान गरेको छ । प्रवक्ता मनीष सुमनका अनुसार ३१ वैशाख र १ जेठमा काठमाडौंमा बैठक बोलाइएको छ । ‘पार्टीको पछिल्लो अवस्थालगायत सबै विषयमा छलफल र आगामी रणनीति बनाएर अघि बढ्न केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकले सबै विषयलाई स्पष्ट बनाएर जानेछ,’ उनले भने ।

पार्टी अध्यक्ष यादव अमेरिका भ्रमणमा रहेका वेला कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्य मूल पार्टीबाट अलग भई नयाँ दल गठनको प्रक्रियामा प्रवेश गरेका थिए । पार्टीको असन्तुष्ट समूहको गत आइतबार बसेको बैठकले पार्टी विभाजनको निर्णय गरेको थियो । राईले सात सांसदसहित निर्वाचन आयोगमा नयाँ पार्टी गठनका लागि निवेदन दिएका थिए । सोही आधारमा आयोगले दल दर्ता गरेको छ ।

ad
ad