१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
किशोर थापा
२o८१ जेठ ७ सोमबार o७:१९:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राजधानी घोषणाले मात्र आउँदैनन् पर्यटक

भारतले योग दिवसलाई अन्तर्राष्ट्रिय जगत्मै स्थापित गरेझैँ नेपालले पनि ध्यान दिवसलाई स्थापित गरी पर्यटक आकर्षित गर्न सक्नुपर्छ

Read Time : > 4 मिनेट
किशोर थापा
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:१९:oo

पोखराको आतिथ्य संस्कार राम्रो छ । सहरी विकासका हिसाबले पनि नेपालका सुन्दर र व्यवस्थित सहरको सूची बनाउँदा पोखरा पहिलो नम्बरमै आउँछ होला । यहाँ निकै राम्रो सहरी विकास योजना बनाई लागू गरिएको छ । उद्यमीहरूको ठूलो संख्या छ यहाँ । यस सहरलाई फोहोर सहर कसैले भन्न सक्दैन । अधिकांश सडक फराकिला, सफा र व्यवस्थित छन् । तर, पर्यटनको विशाल सम्भावना हुँदाहुँदै पनि पोखरामा त्यसअनुसार पर्यटकीय चहलपहल भने देखिन्न । 

सरकारले केही समयअघि मात्रै पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । तर, पर्यटकीय राजधानी घोषणा गर्दैमा पर्यटक बढ्छन् भन्न सकिँदैन । यसका लागि थप तयारी गर्न जरुरी छ । यसका लागि स्पष्ट योजना बनाउनुपर्छ । कुनै सहरमा देशका अन्य भागमा भन्दा बढी पर्यटक जान्छन् र त्यहाँको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन बन्छ भने त्यो स्वतः पर्यटकीय सहर या राजधानीका रूपमा चिनिन्छ, सरकारले घोषणा गरिरहनुपर्ने जरुरी नै छैन । सरकारको ध्यान पर्यटकको संख्या बढाउने दिशातिर मात्र केन्द्रित हुनुपर्छ । त्यसका लागि पूर्वाधार तथा वातावरण बनाइदिने जिम्मेवारी सरकारको हो । अन्यथा, यस्ता घोषणा राजनीतिक ‘स्टन्ट’मै सीमित हुन्छन् । हाम्रोमा दुई–तीन दशकदेखि केही न केही घोषणा गरिरहने लहर चलेको छ । अब त यो संस्कार नै बनिसक्यो । 

युरोपमा अस्ट्रियाको राजधानी भियना, इटलीको रोम, स्पेनको बार्सिलोना, फ्रान्सको पेरिसलगायत सहरमा ठूलो संख्यामा पर्यटक आउँछन् । तर, ती सहरलाई पनि पर्यटकीय राजधानी भनेर त्यहाँको सरकारले घोषणा गरेको छैन । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दाको एउटै मात्र राम्रो पक्ष सर्वसाधारणमा चेतना जगाउने भन्ने हो । तर, पर्यटक भिœयाउन चेतना मात्रै पर्याप्त हुँदैन । पूर्वाधारमा पर्याप्त लगानी गर्नुपर्छ ।

अहिले पोखराका कतिपय ठाउँमा सडकको अवस्था राम्रो छैन । कतिपय सडक अँध्यारा छन् । ट्राफिक जामको समस्या पनि छ कतिपय क्षेत्रमा । सहरको हालत यस्तो रहेसम्म पर्यटक आकर्षित हुन सक्दैनन् । लेकसाइडबाहेक अन्यत्र पर्यटकीय गतिविधि पनि कम देखिन्छ । बेगनासमा पनि तालवरपर मात्र केही रिसोर्ट छन् । पोखरामा अन्यत्र पनि पर्यटकीय गतिविधि बढाउन जरुरी छ । 

कुनै सहरमा देशका अन्य भागमा भन्दा बढी पर्यटक जान्छन् र त्यहाँको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन बन्छ भने त्यो स्वतः पर्यटकीय सहर या राजधानी हो, सरकारले औपचारिक घोषणा गरिरहनु जरुरी हुँदैन
 

पोखराको पर्यटनको अर्को आधार अन्नपूर्ण सर्किटको पदयात्रा हो । मुस्ताङ हुँदै कोरोलासम्म जाने नाकाको प्रवेशद्वार पनि पोखरा नै हो । यहाँको शीतल हावापानी र मनोरम दृश्यले धेरै पर्यटकलाई आकर्षित गर्छ । यहाँ पर्यटनको अपार सम्भावना छ । तर, यस सहरलाई पर्यटकीय राजधानीका रूपमा स्थापित गर्नका लागि भने गर्नुपर्ने काम अझै धेरै बाँकी छन् । 

अन्नपूर्ण सर्किटमा जानुपर्ने मानिसले अहिले एक–दुई रात पोखरा बसेर हिँड्ने गरेका छन् । उनीहरूको बसाइ लम्ब्याउन यहाँ विभिन्न गतिविधि गर्न सकिन्छ । पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको प्रवद्र्धन गर्नु जरुरी छ । क्रिकेट, फुटबलजस्ता खेलका विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्न सके पर्यटकलाई भित्र्याउन सहज हुन्छ । यहाँ रंगशाला पनि छन् । तर, अन्तर्राष्ट्रियस्तरका खेल खाएको भएको देखिँदैन । सरकारको सहयोग लिएर राम्रा खेल आयोजना गर्ने क्षमता विकास गर्न जरुरी छ । त्यसका लागि खेलकर्मी र पर्यटन व्यवसायीले विशेष चासो दिनुपर्छ । सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्छ । गल्फ खेल्नका लागि यहाँ ‘हाई क्लास टुरिस्ट’ आउन सक्छन् । यहाँ साहसिक खेलका प्रतियोगिता पनि आयोजना गर्न सकिन्छ । 

पोखरालाई ध्यानकेन्द्रका रूपमा पनि प्रवद्र्धन सकिन्छ । माछापुच्छ्रेको मनोहारी दृश्य हेर्दै ध्यान गर्नुको मजा नै बेग्लै छ । ऋषिमुनीहरूले नै ध्यान गरेको ठाउँँ हो, नेपाल । यहाँको मौसम पनि राम्रो छ । चारैतिर हरिया डाँडाकाँडा देखिन्छन् । उत्तरतिर हिमाली शृंखलाको सुन्दरता लोभलाग्दो देखिन्छ । तसर्थ, यहाँ ध्यान गर्नकै लागि हजारौँ मानिस आउन सक्छन् । तर, सुरक्षा र बसोवासको भने राम्रो व्यवस्था हुन जरुरी छ । 

भारतले योग दिवसलाई अन्तर्राष्ट्रिय जगत्मै स्थापित गरिसकेको छ । नेपालले पनि ध्यान दिवसलाई स्थापित गर्ने प्रयत्न गर्न सक्छ । वर्षमा एक दिन ध्यान दिवसका रूपमा मनाउने, ध्यान गर्नका लागि पर्यटकलाई नेपालमा आकर्षित गर्ने योजना बनाउन सकिन्छ । तीर्थाटनका लागि पनि नेपालमा धेरैभन्दा धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ । सकारात्मक कुरा, नेपालगन्ज सहरले भारतीय पर्यटकलाई लक्षित गरेर कैलाश मानसरोवर दर्शन गराउन थालेको छ । नेपालगन्जमा वेलकम गरेर त्यहाँबाट मानसरोवर पठाउने काम भइरहेको छ । पोखरामा पनि मुक्तिनाथ जाने भारतीय पर्यटक प्रशस्तै आउँछन् । 
विन्ध्यवासिनीलगायत मन्दिर, तालतलैया र त्यहाँको शीतल वातावरणले पनि आकर्षित गरिरहेका हुन्छन्, भारतीय पर्यटकलाई । तर, जति हुनुपर्ने हो, त्यति भइरहेको छैन । पोखरामा अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि आयोजना गर्न सकिन्छ । यस्ता कार्यक्रममा भिआइपी र भिभिआइपी अतिथिलाई बोलाउँदा सहरको पर्यटकीय प्रवद्र्धन आफैँ हुन्छ । तर, यसका लागि पनि हाम्रो सुरक्षा व्यवस्था भने चुस्त हुनुपर्छ । स्वास्थ्य र शिक्षाको हब पनि बनाउन सकिन्छ पोखरलाई । यहाँ अहिले सिक्किमको मणिपाल अस्पताल छ । अन्य अस्पताललाई पनि स्तरोन्नति गरेर यहाँ आउनेलाई दन्त चिकित्सा, प्लास्टिक सर्जरीलगायत उपचार सेवा उपलब्ध गराउन सकिन्छ । 

नेपालमा उपचार सस्तो पर्ने भएकाले विदेशीहरू आकर्षित हुन सक्छन् । घुमघाम पनि गर्ने प्लास्टिक सर्जरी वा दन्त चिकित्सा पनि गर्ने भनेर योजना बनाउन सक्छन् उनीहरूले । हावापानी राम्रो भएकाले यहाँ बस्न बिरामीले सहज महसुस पनि गर्छन् । यहाँ मेडिकल कलेजहरू पनि खोल्न सकिन्छ । यस्तो हुँदा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायत देशका विद्यार्थी आएर पढ्छन् । उनीहरूका बाबुआमा, दाजुभाइ र साथीभाइ पनि वेला–वेला भेट्न आउँछन् । यसले पनि पर्यटन प्रवद्र्धनमा राम्रै सहयोग पुर्‍याउँछ । 

पर्यटकका चाहना फरक–फरक हुन्छन् । कसैलाई क्यासिनो मन पर्छ त कसैलाई पदयात्रा । कोही तीर्थयात्राका लागि आउँछन् त कोही प्याराग्लाइडिङ गर्नकै लागि यहाँसम्म धाउँछन् । त्यसैले, सबैखाले पर्यटकलाई उनीहरूको रुचिअनुसारका सेवा उपलब्ध गराउन हामी तयार हुनुपर्छ । 

अहिले पर्यटकीय गतिविधि कम भएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । यस्तो अवस्थालाई चिर्न पर्यटन व्यवसायी पनि सक्रिय हुनुपर्छ । थाइल्यान्डबाट पाँच सयजना पर्यटक ल्याउने भनेर कुनै ट्राभल एजेन्सीले ग्यारेन्टी गर्‍यो भने नेपालका एयरलाइन्स त्यहाँ पुगिहाल्छन् । काठमाडौंका व्यवसायीसँग त्यहाँका पर्यटन व्यवसायीले पनि समन्वय गर्नुपर्‍यो । सुरुमा चार्टर्ड फ्लाइटमार्फत पर्यटक ल्याउने र पर्यटकको संख्या बढेपछि नियमित उडान गर्ने व्यवस्था मिलाउन सकिन्छ । बैंकक–पोखरा, मुम्बई–पोखरालगायत उडान गराउन सकिन्छ । तर, त्यसका लागि पनि पहिले पर्यटन गतिविधि नै बढाउन जरुरी छ । 

काठमाडौंबाट पोखरा जाने सडकलाई पनि व्यवस्थित बनाउन जरुरी छ । जाम र समय–समयमा सडक बिग्रिँदा पर्यटकले हैरानी खेप्छन् । पर्यटकहरू हैरानी खेप्न चाहँदैनन् । उनीहरू सफा–चिटिक्क सडकमा सुरक्षित यात्रा गर्न चाहन्छन् । त्यहीकारण सडकलाई व्यवस्थित बनाउन जरुरी छ । केही समयअघि मात्रै पोखराको हेम्जा हुँदै लुम्लेतिर जाने सडकको ड्रोनबाट खिचेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसले धेरै आन्तरिक पर्यटकलाई आकर्षित गर्‍यो । जहिल्यै धुलो उडिरहने सडकमा कोही जान चाहँदैन । पर्यटकले सुरक्षा र सरसफाइलाई सधैँ प्राथमिकतामा राखेका हुन्छन् । यसतर्फ सबैको ध्यान जानुपर्छ । किनकि, पर्यटक मुड फ्रेस गर्न आएका हुन्छन् । 

पर्यटकको बसाइलाई यादगार बनाउन आवासले पनि ठूलो भूमिका खेल्छ । हामीले आफ्नै मौलिक स्वरूपका घर निर्माण गर्नुपर्छ । पोखरामा अहिले मापदण्डविपरीत अग्लाअग्ला घर बनिरहेका छन् । एउटाले अग्लो घर बनाउँदा व्यक्तिगत रूपमा उसलाई फाइदा होला । तर, उसले सयौँ घरलाई अप्ठ्यारोमा पारेको हुन्छ । फेवाताल र माछापुच्छ«ेको दृश्य छोपेको हुन्छ । आफ्नो फाइदाका लागि सहरलाई कुरूप बनाउन कसैले पनि पाउँदैन । पर्यटकीय आकर्षण बढाउन हामीले यहाँको वास्तुकलामा पनि ध्यान दिन जरुरी छ । पोखराको संस्कृति संरक्षण गर्न जरुरी छ । यहाँ दिल्ली वा दुबईमा जस्तो घर बनाएर हुँदैन । यहाँको ल्यान्डस्केपसँग मिल्ने एकनासका भवन बनाउनुपर्छ । त्यसले सहर सुन्दर र आकर्षक देखिन्छ । 

पोखरामा तीन तलासम्मका घर राम्रा देखिन्छन् । ढुंगा, स्लेट, काठ प्रयोग गरेर घर बनाउनुपर्छ । भित्र कंक्रिट प्रयोग गरे पनि बाहिर झ्यालढोका र बरन्डामा परम्परागत ‘लुक्स’ आउनुपर्छ । भैरव टोलमा केही त्यस्ता घर संरक्षण गरिएका छन्, जसले पुरानो पोखराको झल्को दिन्छ । सबै महानगरमा यस्ता घर आवश्यक नपर्ला । तर, पर्यटकीय क्षेत्रमा भने यस्ता घर बनाउन जरुरी छ । 

होहल्ला, प्रदूषण, अव्यवस्थित घर, ट्राफिक व्यवस्थापन कमजोर भएका स्थानमा पर्यटक कम आउँछन् । त्यसैले, यहाँको ट्राफिक व्यवस्थापन पनि सुधार गर्नुपर्छ । यहाँको एउटा उदाहरणीय काम निजी व्यवसायीले चलाएका सार्वजनिक बस हुन् । ती बसको रंग एकैनासको छ । रुट व्यवस्थित छ । ट्याक्सी पनि एकरूपका देखिन्छन् । पोखराबाट विभिन्न स्थानसम्म जाने गुणस्तरीय पर्यटक बसको पनि राम्रो व्यवस्था छ । यो यहाँको सकारात्मक पाटो हो । 

पोखरामा अनेकौँ लामा–छोटा पदमार्ग छन् । तिनलाई प्रवद्र्धन गर्नुपर्छ । छोटो समयको पदयात्रा गर्न चाहनेहरूका आवश्यकतालाई पनि ध्यान दिनुपर्छ । पोखरा सफा सहरमै पर्छ । तर, केही खोँचमा फोहोर जम्मा भएको पनि देखिन्छ । त्यसलाई सरसफाइ गर्न स्थानीय नै जागरुक हुनुपर्छ । अनि मात्र देशकै पर्यटकीय राजधानी घोषणाले सार्थकता पाउन सक्छ । अन्यथा, यस्ता घोषणा केवल घोषणामै सीमित नहोलान् भन्न सकिन्न । 
(पूर्वाधारविज्ञ थापा नेपाल सरकारका पूर्वसचिव हुन्)

ad
ad