१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:o१:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निर्जीवन बिमा कम्पनीले उठाए ३० अर्ब

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:o१:oo

निर्जीवन बिमा व्यवसाय गरिरहेका १४ कम्पनीले चालू आर्थिक बर्ष ०८०–८१ को चैत मसान्तसम्म २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क उठाएका गरेका छन् । यो रकम गत आव ०७९–८० को सोही अवधिको तुलनामा ०.०६ प्रतिशतले कम हो ।

आर्थिक शिथिलता कारण पछिल्लो दुई वर्षयता निर्जीवन बिमाको वृद्धिदर सन्तोषजनक छैन । दुई बर्षअघि ०७८/७९ मा निर्जीवन बिमा अघिल्लो बर्षको तुलनामा २३.५६ प्रतिशतले बढेको थियो । त्यसयता भने निर्जिवन बिमा शुल्क संकलन ओरालो लागेको हो । गत आव ०७९/८० को चैत मसान्तसम्म २.६६ प्रतिशतले मात्रै बृद्धि भएर ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ संकलन भएको थियो । अर्थतन्त्रमा सुधार हुन नसक्दा यो बर्ष निर्जिवन बिमा क्षेत्र झन् खस्किएको बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए ।

बिमा क्षेत्र प्रभावित हुनुमा आर्थिक शिथिलता नै प्रमुख कारण रहेको क्षेत्रीको भनाई छ । ‘अहिले अर्थतन्त्र शिथिल अवस्थामा हुँदा निर्जीवन बिमा व्यवसाय प्रभावित भएको छ,’ क्षेत्रीले भने, ‘विकास निर्माणका काम न्यून छन् । उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । आयात–निर्यात खुम्चिएको छ । सवारीसाधनको खरिद–बिक्री न्यून छ । सरकारले अनुदानको पैसा नदिँदा कृषि तथा पशुपक्षी बिमाको कारोबार स्थगित गरिएको छ । त्यसले गर्दा समग्र निर्जीवन बिमा व्यवसाय प्रभावित भएको छ ।’ 

बिमा प्राधिकरणको तथ्यांकअनुसार चालू आवको नौ महिनामा ढुवानी, मोटर, इन्जिनियरिङ र कृषि तथा पशुपालन बिमा व्यवसाय घटेको छ । निर्जिवन बिमातर्फ सबैभन्दा धेरै हिस्सा भएको मोटर बिमा व्यवसाय ६ प्रतिशतले घटेको छ । गत आवको समीक्षा अवधिमा नौ अर्ब ८८ करोड ७६ लाख रुपैयाँबराबरको मोटर बिमा शुल्क संकलन भएकोमा चालू आवको समीक्षा अवधिमा नौ अर्ब २८ करोड ९२ लाख रुपैयाँ मात्रै संकलन भएको प्राधिकरणले जनाएको छ ।

समीक्षा अवधिमा इन्जिनियर बिमा व्यवसाय १० प्रतिशतले घटेर चार अर्ब ७५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । गत आव सोही अवधिमा पाँच अर्ब २६ करोड २६ लाख संकलन भएको थियो । कृषि बिमा व्यवसाय ८ प्रतिशतले घटेको छ । गत आवको नौ महिनामा एक अर्ब ८१ करोड ५१ लाखको कृषि बिमाशुल्क संकलन भएकोमा चालू आवमा एक अर्ब ६७ करोड ६२ लाखमा सीमित भएको छ । 

ढुवानीतर्फ करिब ५ प्रतिशतले बिमा शुल्क घटेर एक अर्ब ४७ करोड ४१ लाख रुपैयाँ उठेको छ । सम्पत्ति, हवाइ र अन्य बिमा भने वृद्धि भएको छ । सम्पत्ति बिमा ११ प्रतिशत बढेर सात अर्ब ४२ करोड, हवाई बिमा ३१.३१ प्रतिशतले बढेर एक अर्ब ९७ करोड, अन्य बिमा तीन अर्ब १६ करोड रुपैयाँ संकलन भएको प्राधिकरणले जनाएको छ । यता, पहिलो बर्षमै निर्जिवन लघु बिमा भने चम्किएको छ । चार वटा कम्पनीले चैत मसान्तसम्म १५ करोड रुपैयाँ संकलन गरेका छन् ।


विगतको भन्दा घट्यो निर्जीवन बिमा शुल्क
उद्योग सञ्चालन, निर्माणका गतिविधि, आयात/निर्यात, सम्पत्ति, मोटर व्यवसायलगायतमा निर्जीवन बिमा निर्भर

  • निर्जीवन बिमामा सबैभन्दा धेरै हिस्सा सवारी बिमाको छ । तर, डेढ–दुई वर्षयता नेपालमा अटो व्यवसाय खस्किएको छ । 
  • बजारमा माग नभएपछि अधिकांश उद्योगहरूले उत्पादन घटाएका छन् । जसकारण उद्योगको भण्डारण रित्तन गई जिन्सी सामानको बिमा शुल्क बापत उठ्ने रकम नै घट्न गएको छ ।
  • जलविद्युत्, सडक, पुल, व्यावसायिक भवनजस्ता पूर्वाधारको निर्माण गर्दा इन्जिनियरिङ बिमा गरिन्छ, यस्ता भवन निर्माणको संख्या घटेको छ ।
  • निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकारी भुक्तानी रोकिदा पूर्वाधार निर्माण सुस्ताएको छ । आयात र निर्यातमा पनि कमी आउँदा ढुवानी बिमा प्रभावित भएको छ । 
  • बैंकबाट कर्जा लिएर गर्ने जुनसुकै व्यवसाय बिमाको दायरामा आउनुपर्ने व्यवस्था छ, तर अहिले व्यवसायीक क्षेत्रमा कर्जा घटेको छ । स्वदेशी तथा विदेशी लगानीमा समेत संकुचन आइरहेको छ ।

 

ad
ad