द्रोणाचार्य पाण्डव र कौरवका गुरु थिए । उनी तिनलाई एकसाथ धनुर्विद्या सिकाउँथे । एक दिन एकलव्य नामका गरिब बालक द्रोणाचार्यको आश्रममा पुगे र आफूलाई पनि धनुर्विद्याको ज्ञान दिन अनुरोध गरे । तर, द्रोणाचार्यले आफ्नो विवशता बताएर अन्य कुनै गुरुबाट शिक्षा प्राप्त गर्ने सल्लाह दिएर पठाए ।
यस घटनाको धेरै दिनपछि द्रोणाचार्य आफ्ना शिष्यलाई धनुर्विद्याको थप शिक्षा दिन जंगलको बीचमा रहेको चौरमा पुगेका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । त्यो कुकुर भुक्दै चौरबाट जंगलको एक छेउतिर दौडियो । जंगलभित्र पुगेर पनि ऊ केहीबेर भुकेको आवाज आइरहेको थियो । तर, अलि पछि उसको आवाज अचानक रोकियो । द्रोणाचार्य र उनका शिष्यलाई यो घटना अनौठो लाग्यो । उनीहरू कुकुरको आवाज आएको जंगलतिर बढे ।
त्यहाँ पुगेपछि उनीहरूले जे देखे, त्यो बिल्कुलै अविश्वसनीय थियो । कसैले कुकुरलाई चोट नलाग्ने गरी उसको मुख वाणैवाणले बन्द गराइदिएको थियो । त्यसैले, उसको भुकाइ रोकिएको थियो । यो देखेर द्रोणाचार्य छक्क परे । मनमनै सोचे– यति कुशलतापूर्वक वाण चलाउने क्षमता त मेरा प्रिय शिष्य अर्जुनसित पनि छैन । आखिर यस्तो अद्भूत काम कसले गर्यो होला ?
त्यति नै वेला एकलव्य आफ्नो हातमा धनु र वाण लिएर त्यहाँ आइपुगे । यो देखेर गुरु द्रोणाचार्य थप चकित भए । द्रोणाचार्यले एकलव्यसित प्रश्न गरे– बाबु, तिमीमा यस्तो आश्चर्यजनक क्षमता कहाँबाट आयो ? तिमीले कसबाट सिक्यौ धनुर्विद्या ? एकलव्यले जवाफ दिए– गुरुदेव, मैले हजुरको मूर्ति बनाएर हरेक दिन सोही मूर्तिसामु कडा अभ्यास गर्दै आएको छु । हजुरको आशीर्वादका कारण म आज हजुरसामु धनु धारण गर्नलायक बनेको छु ।
एकलव्यको जवाफ सुनेर गुरु द्रोणाचार्यले भने– तिम्रो कठोर अभ्यासले नै तिमीलाई श्रेष्ठ धनुर्धारी बनाएको हो । यो संसारको सर्वश्रेष्ठ गुरु भनेकै कठोर अनुशासनपूर्वक गरिने अभ्यास हो भन्ने तिमीले प्रमाणित गर्यौ । तिमी धन्य छौ, एकलव्य !