१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
प्रा. कृष्ण खनाल
२o८१ जेठ ८ मंगलबार o६:३o:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

उपनिर्वाचनको सन्देश

उपनिर्वाचनको परिणामले नेपाली राजनीतिका प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् भन्ने पुनः पुष्टि गरेको छ

Read Time : > 4 मिनेट
प्रा. कृष्ण खनाल
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:३o:oo

भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली राजनीतिका प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले नै हुन् भन्ने पुनः पुष्टि गरेको छ । यसले एमालेको बलियो संगठनात्मक आधारलाई पनि पुष्टि गरेको छ । कांग्रेसको भन्दा एमालेको मतदातामाझ तुलनात्मक रूपमा अपिल अलि बढी देखियो । बझाङलाई एउटा आधार मान्ने हो भने कांग्रेस र एमालेबीच राम्रै प्रतिस्पर्धा भएको देखियो । २६७ मतान्तरमा मात्रै हारजित भयो । बझाङ कांग्रेस सभापति शेरबहादुर देउवाको प्रदेश पनि हो । सुदूरपश्चिममा कांग्रेस सबैभन्दा ठूलो पार्टी पनि हो । त्यति हुँदाहुँदै पनि कांग्रेस पराजित हुनु भनेको तुलनात्मक रूपमा एमाले सुदृढ हुँदै गएको देखिनु हो । 

नेपाली राजनीतिमा विकल्पका रूपमा गत निर्वाचन र उपनिर्वाचनमा पनि जुन किसिमबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाएको थियो, इलामको उपनिर्वाचनले त्यसलाई पुष्टि गर्न सकेन । हुन त इलामको उपनिर्वाचनकै भरमा मात्र मतदातामा रास्वपाको अपिल रहेन भन्न त मिल्दैन । किनकि, गत निर्वाचनमा पनि इलाममा उसको उल्लेख्य प्रभाव थिएन । रूपान्तरणकै रूपमा आएको भए एक वर्षको अन्तरालमा निर्वाचन हुँदा रास्वपा अगाडि बढ्नुपर्ने थियो । तर, पछिल्लो परिणामले रास्वपा नयाँ विकल्पका रूपमा आइरहेको छ भन्ने कुरालाई खासै ठाउँ दिएन । बिस्तारै नेपालमा अस्थिर मतदाताको संख्या बढिरहेको छ । अस्थिर मतदाताले रास्वपा मात्रै होइन, यही पार्टी नै रोज्छन् भन्ने अनुमान लगाउन सकिन्न । 

गत निर्वाचनको तुलनामा बझाङमा निकै कम भोट खस्यो । उपनिर्वाचनमा मतदाताको ध्यानाकर्षण गर्न नपुगेको हो, मतदाता विदेशमा भएकाले हो या निर्वाचनप्रति उदासीन रहेकाले निर्वाचनमा सहभागी नभएका हुन् ? यसको विश्लेषण भविष्यमा हुँदै गर्ला । तर, यही उपनिर्वाचनकै आधारमा नेपालको निर्वाचनको भविष्य, दलहरूप्रति मतदाताको रुझान यही नै हो भनिहाल्न सक्ने अवस्था छैन । 

कांग्रेस र एमालेमा सत्ताको मोह देखियो भनेर दिक्क भएका मतदातालाई त्यही ‘रेस’मा लागेको रास्वपाले आकर्षित गर्न सक्दैनथ्यो र सकेन पनि ।
 

मत घट्नुको कारण :  यो चितवन र तनहुँको अघिल्लो उपनिर्वाचनजस्तो ठूलो आकर्षणको उपनिर्वाचन होइन । इलाममा सुवास नेम्वाङकै ‘लिगेसी’मा सायद एमालेले नै जित्छ भन्ने पूर्वानुमान धेरैले गरेका थिए । त्यही कारण मतदातालाई खासै धेरै अपिल नगरेको पनि हुन सक्छ । कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै गर्दा दुवै पार्टीले आफ्नो पुरानो मतलाई भने कायम राख्न सकेनन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याउँदा कांग्रेसका खड्काको २९ हजार ९०६ मत आएको थियो ।

गत निर्वाचनमा एमालेले त्यस क्षेत्रमा समानुपातिकतर्फ २६ हजार ५६२ मत ल्याएको थियो । गत निर्वाचनमा कांग्रेसले समानुपातिकमा भन्दा बढी मत ल्याउनुमा माओवादीसहितको मत पनि कारक रहेको हुन सक्छ । फेरि गत निर्वाचनमा सुवास नेम्वाङले पाएको भन्दा कम मत सुहाङले पाएका छन् । यसमा स्वतन्त्र उम्मेदवार र रास्वपाले प्राप्त गरेको मतलाई कारण मान्न पनि सकिन्छ । डकेन्द्र अघिल्लो निर्वाचनमा उम्मेदवार थिएनन् । पहिचानवादी यो उपनिर्वाचनमा आफ्नो ‘होल्ड’ कायम राख्न सफल भएका छन् । रास्वपाले पनि विगतको भन्दा मत बढाएको छ ।

कांग्रेस र एमालेको मत घट्नुको एउटा कारण यो पनि हो । तैपनि, मतदाताको ठूलो संख्या अहिले पनि कांग्रेस र एमालेकै पक्षमा देखिन्छ । गत निर्वाचनमा माओवादीसहितको समर्थनमा गठबन्धनका तर्फबाट कांग्रेसको उम्मेदवार हुँदा थोरै भोट (११४ मतान्तर) को हारजित भएको थियो । अहिले उपनिर्वाचनमा पाँच हजार आठ सय ३० को मतान्तर देखियो । त्यसैको आधारमा हिसाबकिताब गर्ने हो भने त्यही पाँच÷६ हजार भोट माओवादीको रहेछ भन्नुपर्ने हुन्छ । तर, त्यसरी ठ्याक्कै अनुमान गर्न भने मिल्दैन । माओवादीको समर्थन नभएको भए मत तलमाथि हुने अनुमान भने लगाउन सकिन्छ । अर्कातर्फ, आफ्नो उम्मेदवार नभएको अवस्थामा माओवादीका कतिपय भोट पहिचानवादीलाई गएको पनि हुन सक्छ । 

वाम मतदाताको ‘होल्ड’ :  एमालेको आफ्नो होल्ड बलियो देखिन्छ । अहिलेको स्थिति हेर्दा माओवादी थप हुँदा पल्ला भारी एमालेकै हुन सक्छ । गत निर्वाचन पनि एमालेले प्रतिकूल अवस्थामै लडेको हो । पाँचदलीय गठबन्धनका बाबजुद पनि एमालेले राम्रै उपस्थिति देखाएको हो । उसले पाएको त्यतिखेरको मतलाई कमजोर मान्न मिल्दैन । पपुलर भोटमा हिजो पनि एमाले ‘फस्र्ट पार्टी’ नै भएको हो । पाँच दल एकातिर हुँदा प्रत्यक्षतर्फको सिट घट्नु त स्वाभाविक नै थियो । वाम भोटलाई एकत्रित गर्न सक्दा (चाहे एमाले होस् वा माओवादी) त्यसको प्रभाव बलियै छ । वाम मतदाताको होल्ड नेपालको निर्वाचनमा प्रस्टै देखिन्छ । वाम मत विभाजनको फाइदा कांग्रेसलाई नै हुने हो । तर, वाम मत विभाजित नभई एक ठाउँमा जाँदा स्वाभाविक रूपमा कांग्रेसलाई त्यसले पछाडि पार्छ ।

तर, बझाङमा भने वाम दल छुट्टाछुट्टै निर्वाचन लड्दा पनि एमालेले फाइदा लियो । माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो स्थानमा आउँदा पनि बझाङमा कांग्रेसले फाइदा लिन सकेन । कांग्रेसको भोट कमजोर होइन । तर कांग्रेस नेतृत्वले मतदातामा ‘अपिल’ गर्न नसक्नुको परिणाम हो यो उपनिर्वाचनको नतिजा । कांग्रेस नेतृत्वको मतदातामा खासै अपिल देखिँदैन । कांग्रेसको एउटा आधार छ । तर, यही नेतृत्वबाट कांग्रेसले उपलब्धि हासिल गर्छ भन्ने कुनै आधार छैन ।

पहिचानवादीको प्रभाव : पूर्वमा पहिचानवादीहरूको आफ्नै वर्चस्व पनि देखिन्छ । डकेन्द्र सिंह लिम्बूले प्राप्त गरेको ११ हजार चार सय ५७ मत थोरै होइन । निर्वाचन नजित्दैमा कसैले पनि त्यो मतलाई नजरअन्दाज गर्न सक्दैन । इलाममा पहिचानवादीको प्रभाव देखियो । तर, रास्वपा प्रतिस्पर्धामा आउन सकेन । दुई ठूलाबाहेक अन्य पार्टीले पनि प्रभाव छाड्न सकेनन् । तर, पहिचानवादीले भने आफ्नो ठाउँ सुरक्षित राखे ।

पूर्वको यसअघिको अवस्था हेर्दा निर्वाचनमा पहिचानवादीले खासै ठूलो प्रभाव पार्न सकेको देखिँदैन । पहिचानको ठूलो द्वन्द्व त संविधानसभाको दोस्रो निर्वाचनमा थियो । त्यसपछिका संसदीय निर्वाचनलाई हेर्दा पनि पहाडको मतदानमा पहिचानवादीले खासै ठूलो वर्चस्व कायम गर्न सकेका थिएनन् । पहिचानवादीका नाममा यति ठूलो संख्यामा पहाडमा मत आएको सायद यो नै पहिलोपटक हो । 

वैकल्पिक शक्तिको प्रश्न :  कांग्रेस र एमालेलाई उछिनेर कुनै शक्ति अझै पनि पहिलो पार्टी बनेर आउने अवस्था देखिँदैन । भोलि कुनै दल तेस्रो शक्तिका रूपमा आउला, अहिलेको भन्दा ‘साइज’ बढ्ला । अहिले पनि कांग्रेस र एमालेका मतदातामा व्यापक असन्तुष्टि छ । विकल्प नभएजस्तो खालि उही व्यक्ति मात्रै दोहोरिने गरेको गुनासो व्यापक मात्रामा सुनिन्छ । त्यसको फाइदा वैकल्पिक शक्ति भन्नेहरूले नै लिने हो । तर, त्यस असन्तुष्टिको फाइदा रास्वपाले नै लिन्छ भन्नेचाहिँ कुनै ग्यारेन्टी छैन ।

भोलि अर्को कुनै शक्तिले पनि त्यो फाइदा लिन सक्छ । कांग्रेस र एमालेको विकल्पको मत अझै पनि एकीकृत रूपमा लैजान सक्ने पार्टी र नेतृत्व देखिइसकेको छैन । असन्तोषको फाइदा लिनु एउटा कुरा हो भने विकल्प दिनु अर्को कुरा हो । असन्तोषको फाइदा कुनै पनि पार्टी वा व्यक्तिले लिन सक्छ । तर, विकल्पकै रूपमा अर्को निर्वाचनमा वैकल्पिक शक्ति आउन सक्ने सम्भावना भने देखिइसकेको छैन ।

रास्वपाले हिजो निर्वाचनमा जुन किसिमको वाचा गरेको थियो, सुरुवातमा केही कुरा राम्रै पनि भएको थियो । हामी संसदीय अभ्यासलाई अगाडि बढाउँछौँ भने पनि उसमा सत्ताको मोह ज्यादा देखियो । त्यसलाई मानिसले देखिरहेकै हुन्छन् । कांग्रेस र एमालेमा सत्ताको मोह देखियो भनेर दिक्क भएका मतदातालाई त्यही ‘रेस’मा लागेको रास्वपाले आकर्षित गर्न सक्दैनथ्यो र सकेन पनि । आफ्नो वाचामा रास्वपा पनि कमजोर देखियो । जति विवाद गरे पनि लोकतन्त्रमा प्रश्नको जवाफ दिनैपर्छ । सहरी क्षेत्रमा रास्वपाको प्रभाव व्यापक रूपमा पर्न थालेको थियो । सहरी मतदाता क्रिटिकल छन् । ती मतदाता रास्वपाप्रति पनि क्रिटिकल नै हुन सक्छन् । 

पार्टीहरूले निर्वाचन हामी जित्छौँ भन्नु अस्वाभाविक होइन । नेताहरूले भावी निर्वाचनबारे दाबी गर्नु सामान्य विषय हो । तर, रास्वपाको दाबीको भने मतदातामा खासै प्रभाव परेन । अघिल्लोपटकको आमनिर्वाचनमा अध्यक्ष रवि लामिछानेबाहेक अरू खासै देखिएका थिएनन् । सबै आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित थिए । तैपनि, रास्वपाले कुनै न कुनै रूपमा राष्ट्रिय राजनीतिमा तरंग ल्याएको थियो । त्यसको आधारमा भोलिको विकल्प उही हो भन्ने अनुमान गर्नु र त्यो पार्टीले त्यसैलाई आधार बनाएर दाबी गरेको भए पनि त्यस्ता दाबी र अनुमानलाई यो उपनिर्वाचनले ठाउँ दिएको भने देखिएन । 
(प्रा. खनाल राजनीतिशास्त्री हुन्)

ad
ad