१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार o६:२२:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलाम २ उपनिर्वाचन : एमालेले विरासत जोगायो, कांग्रेस फेरि चुक्यो

रास्वपा प्रतिस्पर्धामै आउन सकेन, पहिचानको आन्दोलनले पायो वैधता

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार o६:२२:oo

संसदीय निर्वाचनको डेढ वर्षपछि भएको इलाम २ को उपनिर्वाचनमा एमालेले विरासत जोगाएको छ । ३३ वर्षीय सुहाङ नेम्वाङ विजयी भएका छन् । माओवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमालेलाई सघाएका थिए ।

प्रजातन्त्र पुनर्स्थापनापछि भएका सातमध्ये ६ निर्वाचनमा यो क्षेत्र एमालेले जित्दै आएको थियो । ०५६ पछिका सबै निर्वाचनमा सुहाङका पिता सुवासचन्द्र नेम्वाङ विजयी हुँदै आएका थिए । बुबाको निधनपछि भएको उपनिर्वाचनमा सुहाङ पाँच हजार आठ सय ३० मतान्तरले विजयी भएका हुन् । निर्वाचनमा हार खाएको कांग्रेसले आफ्ना मत बाँडिएको, रास्वपाले अपेक्षाकृत मत नपाएको टिप्पणी गरेको छ । 

सुहाङले २७ हजार ७७२ मत ल्याउँदै विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गरेका छन् । ४ मंसिर ०७९ को निर्वाचनमा सुहाङका बुवा सुवासचन्द्रसँग कांग्रेसका खड्का एक सय १४ मतान्तरले मात्र हारेका थिए । त्यति वेला माओवादी–कांग्रेस एउटै गठबन्धनमा थिए । 

यसपटक एमालेले इलामको यो निर्वाचन क्षेत्रमा ०४८ यताका एउटाबाहेक सबै निर्वाचनमा जित निकालेको थियो । जसमध्ये पनि सुहाङका बुवा सुवासले पाँचपटक जित हात पारेका थिए । ‘सुवासचन्द्र नेम्वाङ स्थापित नेता थिए । सुहाङले त्यसको पनि विरासतले मत पाए । उनले सिमप्याथी मत पाए,’ महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिशास्त्रका उपप्राध्यापक सहकुल श्रेष्ठले भने, ‘एमालेको मजबुद संगठनले पनि जित निकाल्यो । माओवादी, विप्लवनिकट नेकपा एक हुँदा सबै वाम एक भएजस्तो पनि भयो । तसर्थ सुहाङले सहज जित निकाले ।’ 

विजयी भएपछि आयोजना गरिएको सभामा बोल्दै सुहाङले इलामेली जनताको शिर झुक्न नदिई काम गर्ने प्रतिबद्धता जनाए । ‘साना–सानाका सुखदुःखमा सबैमा म समर्पित भएर नागरिकको सेवा गर्नेछु । तपाईंहरू (मतदाता)को सल्लाह सुझाव दिएर अघि बढ्नेछु,’ उनले भने, ‘काम गर्दा शिर झुक्न दिनेछैन । इमानदारीसाथ काम गर्नेछु ।’ उनले आफ्ना बुवा सुवासचन्द्रले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘बुवाले देखाउनुभएको बाटो र उज्यालोलाई  समाएर उहाँकै तरिकाले इमान र निष्ठापूर्वक काम गरेर देखाउनुछ,’ उनले भने, ‘त्यो सबै मेरो काँधमा आएको छ । काम गर्ने वेलामा मतदातालाई कहिल्यै संकोच हुन दिनेछैन । पछुतो हुन दिनेछैन ।’ 

एमाले इलाम २ मा संगठनका हिसाबले शक्तिशाली पार्टी हो । प्रतिस्पर्धी पार्टी कांग्रेस पनि बलियो नै छ । तर, पार्टीबीचमै बेमेल हुँदा कांग्रेस यस क्षेत्रमा सधैँ पराजित हुन्छ । यसपटक पनि उम्मेदवार चयनलाई लिएर कांग्रेसभित्र ठूलो विवाद भएको थियो । 

यसपटक पहिचानवादी शक्तिले उठाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आफूहरूको मत काटेको कांग्रेस उम्मेदवार खड्काको दाबी छ । ‘कांग्रेसका साथीहरूले मुढा (डकेन्द्रसिंह लिम्बू)लाई मत दिए । घण्टी (रास्वपा)लाई अलिकति दिए । तसर्थ सोचेजस्तो भएन,’ खड्काले नयाँ पत्रिकासँग भने, ‘तर, हामीले सहज रूपमा लिएका छौँ । एमालेसँग चार दलको गठबन्धन हुँदा पनि हाम्रो सम्मानजनक मत आएको छ । हामीले दह्रो प्रतिस्पर्धा गरेका छौँ ।’

पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू उपनिर्वाचनमा तेस्रो भए । उनले ११ हजार चार सय ५७ मत पाए । जब ०७९ फागुन १७ गते प्रदेश–१ को नाम कोशी राखियो त्यसपछि बलेको आन्दोलनको आगो ब्यालेटसम्म पुग्यो । प्रदेशको नाम पहिचानको आधारमा राख्नुपर्ने माग राख्दै पहिचानवादी आन्दोलित बने । यसबीचमा पहिचानवादीलाई ठूला राजनीतिक दलले ‘पहिचानको नाम एक÷दुईजना उफ्रिएको’ आरोप लगाउँदै आएका थिए । आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा इलाम–२ को उपनिर्वाचन आयो । यो उपनिर्वाचनमा एउटै निर्वाचन क्षेत्रमा पनि पहिचानवादी शक्ति ठूलो छ भन्ने देखाएको छ । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह पनि पहिचानको मुद्दाले जनताबाट वैधता पाएको बताउँछन् । तर, ठूला राजनीतिक शक्तिको चलखेलले चुनावमा हार भएको उनको तर्क छ । 

इलाम २ को नतिजापछि एमाले अध्यक्ष केपी ओलीले इलाममा पहिचानवादीको हार भएको अप्रत्यक्ष टिप्पणी गरेका छन् । नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको विजयी र्‍यालीमा पुगेका ओलीले प्रदेशको नामकरण पहिचानको विषय नरहेको बताए । ‘पहिचान भनेको नामको कुरा होइन । जाति विशेषको, थर विशेषको कुरा होइन । पहिले पनि जसरी बाँडिएका थिए, मेची, कोशी अञ्चल थिए । तसर्थ, यो धेरै ठूलो कुरा होइन । यो विषयलाई संवेदनशील बनाउनुपर्ने केही छैन । साझा नाम राख्दा केही बिग्रिँदैन । हामी सयौँ थुंगा फूलका एउटै माला हौँ,’ ओलीले भने, ‘इलाममा पनि सूर्य चिह्नले जित्यो, त्यही हो पहिचान ।’

महेन्द्र बहुमुखी क्याम्पस धरानका राजनीतिशास्त्रका उपप्राध्यापक सहकुल श्रेष्ठ भन्छन्–
सुवासचन्द्र नेम्वाङ स्थापित नेता थिए । सुहाङले त्यसको पनि विरासतले मत पाए । उनले सिमप्याथी मत पाए । एमालेको मजबुत संगठनले पनि जित निकाल्यो । माओवादी, विप्लवनिकट नेकपा एक हुँदा सबै वाम एक भएजस्तो पनि भयो । तसर्थ सुहाङले सहज जित निकाले । रास्वपाको संविधानका मूल कुराहरू संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलगायत विषयमा स्पष्ट धारणा छैन । परराष्ट्र नीति, आर्थिक नीति के हुने हो भन्नेमा पनि स्पष्ट छैन । संगठन पनि कमजोर हो । हल्ला, फेसबुक र मिडियाकै आधारमा चाहिँ नहुने रहेछ भन्ने सन्देश चुनावले दिएको छ । एउटा निर्वाचन क्षेत्रमा त्यति मत ल्याउनु पहिचानवादीको मुद्दा स्थापित हुनु हो । पहिचानवादी नागरिकबाट अनुमोदित भएको मान्नुपर्छ । 

सुहाङको विजयोत्सवपछि ओलीको घोषणा– अबको संसद्मा सुहाङजस्तै युवाको बाहुल्य हुनेछ
इलाम २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङको विजयोत्सवमा सहभागी भएर काठमाडौं फर्किएपछि सामाजिक सञ्जालमार्फत ओलीले भने–

इलामबाट सुहाङ नेम्वाङको विजयोत्सवमा सहभागी भएर म काठमाडौं फर्केको छु । सुहाङको विजय देशभरका युवाहरूको जित हो । हामी युवाहरूलाई नेतृत्वमा अगाडि सार्ने काम तीव्रताका साथ गर्नेछौँ । आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महŒवपूर्ण ठाउँमा युवाहरूलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्‍याउनेछौँ । अर्को संसद्मा हाम्रोतर्फबाट सुहाङजस्ता युवाको बाहुल्य रहनेछ । एमाले इतिहास बोकेको मात्र होइन, नयाँ पुस्ताको पार्टी पनि हो ।

विजयी भएपछि आयोजना गरिएको सभामा बोल्दै सुहाङ नेम्वाङले भने–
साना–सानाका सुखदुःखमा सबैमा म समर्पित भएर नागरिकको सेवा गर्नेछु । तपाईंहरू (मतदाता)को सल्लाह सुझाव दिएर अघि बढ्नेछु । काम गर्दा शिर झुक्न दिनेछैन । इमानदारीसाथ काम गर्नेछु ।

पराजयबारे कांग्रेसको प्रारम्भिक निष्कर्ष : गठबन्धन र केही भोट पहिचानवादीले काट्दा इलाममा चुनाव हारियो, आन्तरिक व्यवस्थापन नहुँदा बझाङमा पराजित 

प्रमुख विपक्षी दल कांग्रेसले एमालेको गठबन्धन र केही भोट पहिचानवादीले काट्दा इलाममा र आन्तरिक व्यवस्थापन नहुँदा बझाङमा पराजित हुनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।  ‘इलाममा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी देखिए, विगतमा पनि हाराहारी मत आएको थियो । हामीले गठबन्धनबाट लड्दा १ सय १४ मत फरक परेको थियो, तर अहिले एमालेले गठबन्धन गर्दा हामीतिर आएको पाँच हजार मत उता थपिँदा त्यति नै मतले पराजित भएका हौँ,’ कांग्रेस नेता मीन विश्वकर्माले भने, ‘त्यसैले हाम्रो मतको अनुपात स्थिर नै छ, तर दुवैतर्फ (एमाले र कांग्रेस)को मत पहिचानवादीलाई गयो, हामीलाई त्यसले पनि असर पारेको हो । आन्तरिक व्यवस्थापनमा चुक्दा झिनो मतान्तरले बझाङमा पराजित हुनुपर्‍यो ।

रास्वपालाई अप्रत्याशित धक्का

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले अहिलेको चुनावी नतिजाले ०८४ लाई प्रभावित नगर्ने बताए । ‘काम गर्ने भनेर आएको, काम मात्र होइन राजनीति पनि गर्नुपर्ने रहेछ भन्ने सिकाइ भयो । यो सिकाइबाट आगामी बाटो अझ फराकिलो बनाएर जान्छौँ,’ उनले भने, ‘०८४ को चुनाव आउन धेरै समय बाँकी छ । यसबीचमा अरू उपनिर्वाचन पनि हुन्छन् । अहिलेको चुनावी नतिजाले ०८४ लाई प्रभावित पार्दैन । बरु हामीलाई अझै खारिन मद्दत गर्छ ।’

पहिचानवादीलाई सम्मानजनक मत
पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह पनि पहिचानको मुद्दाले जनताबाट वैधता पाएको बताउँछन् । तर, ठूला राजनीतिक शक्तिको चलखेलले चुनावमा हार भएको उनको तर्क छ । ‘सम्मानयोग्य मत पाएका छौँ । यो निर्वाचनले हाम्रो पहिचानको मुद्दा स्थापित गर्‍यो,’ उनले भने, ‘यहाँ चलखेल नभएको भए, इमानदारीका साथ दलहरू चुनावमा प्रतिस्पर्धा गरेको भएको योभन्दा अलिक बढी हामीले मत पाउँथ्यौँ । मौन अवधिमा आर्थिक प्रलोभन र धाकधम्की भयो ।’

 

ad
ad