१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
Invalid date format १४:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रशासनिक प्रमुख, दुई मन्त्री र एक राज्यमन्त्रीसहित आउँदै छन् कतारी राजा, यस्तो छ कार्यक्रम 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज अपराह्न बंगलादेशबाट विशेष विमानमा भ्रमण दलका सदस्यसहित काठमाडौं आउँदै छन्।

औपचारिक वार्तामा बस्ने ११ जना प्रतिनिधिमण्डलबाहेक  डेढ सयजनाको टोली राजाको भ्रमणमा हुनेछ। दुईजना मन्त्री र एकजना राज्यमन्त्रीसहितको टोली अपराह्न आइपुग्नेछ। उनी २० घण्टा नेपालमा रहनेछन्।

सुरक्षा स्राेतका अनुसार आज बिहान सवा १० बजे ६० जना प्रतिनिधिमण्डल बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। राजा थानीको विशेष विमान अपराह्न ५ बजे र अति विशिष्ट व्यक्तिहरूसमेत रहेको ३० जनाको भ्रमण दल पौने पाँच बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

कतारका राजालाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सबै सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत र बिदाइ गर्ने कार्यक्रम छ।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान  पनि सहभागी हुनेछन्। उनीसँगै यातायातसम्बन्धी मन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी पनि काठमाडौं आउँदै छन्।

यसैगरी, अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्युआइए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक  तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा)का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन्। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा ११ जना साथमा रहनेछन्।
 
राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता शीतलनिवासमा हुनेछ। आधा घण्टाको भेटवार्ता हुनेछ। साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन्। 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। औपचारिक वार्ता ४५ मिनेटका लागि तय भएको छ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। 

बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोगना गरेका छन्। दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ। कतारका राजा २ बजे कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ।