१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मापदण्ड पूरा नभएको भन्दै विराट निदान अस्पताल बन्द गर्न महानगरको निर्देशन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

मापदण्ड पूरा नगरी सञ्चालन भइरहेको भन्दै विराटनगर महानगरपालिकाले विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरलाई तत्काल बन्द गरी अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

विराटनगर– ३ मा सञ्चालित उक्त अस्पतालले अनुमति नलिई स्वास्थ्य सेवा प्रवाह गरिरहेको पाइएपछि महानगरपालिकाले अनुगमनपछि यस्तो निर्देशन गरेको हो। महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले शुक्रबार अस्पतालको अनुगमन गरेको हो।

अनुगमनका क्रममा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको महानगरले जनाएको छ। व्यवसाय दर्ता र इजाजतपत्र सम्बन्धित निकायबाट लिन प्रक्रिया सुरु गरे पनि प्राप्त नभईकनै सञ्चालन गरेको र आवश्यक पूर्वाधार पनि पूरा नभएको पाइएको महानगरको स्वास्थ्य महाशाखाका प्रमुख दिलीप यादवले बताए। अस्पतालले चिकित्सकहरू पनि नियुक्त नगरेको पाइएको छ।

उक्त अस्पतालले एम्बुलेन्स र बिचौलियाहरूलाई चर्को कमिसन दिएर बिरामी भर्ना गराउने गरेको तथा भर्ना भएका बिरामीलाई विभिन्न नाममा शोषण गर्ने गरेको जनगुनासोको उजुरी परेपछि अनुगमन गरेको महानगरले जनाएको छ। अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवाहरू सञ्चालनमा रहेको र कम गुणस्तरीय उपचारले गर्दा धेरै बिरामीको मृत्यु भइसकेको अस्पतालमाथि आरोप छ।

निर्देशन पालना नगरी स्वास्थ्य सेवा सञ्चालन गरेको पाइए कानुनी कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको सामाजिक विकास समितिका संयोजक बस्नेतले बताए। उनले भने, ‘गैरकानुनी रूपमा सञ्चालन हुने जुनसुकै पेसा–व्यवसायलाई पनि कानुनी दायरामा ल्याउनेछौँ। सही तरिकाले गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गर्नेछौँ।’