१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o६:५६:oo
Read Time : > 5 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

टी–२० मा नेपाल र युएईबीचका नाै भिडन्त

एसिसी प्रिमियर कपको साबिक विजेता नेपाल आज सेमिफाइनलमा युएईविरुद्ध भिड्दै, अहिलेसम्मका टी–२० आई भिडन्तमा युएईमाथि नेपालको पाँच जित

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५६:oo

नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईविरुद्ध शुक्रबार (आज) एसिसी प्रिमियर कप– २०२४ को सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै छ । अर्को सेमिफाइनल ओमान र हङकङबीच हुनेछ । प्रतियोगिताको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ । नेपाल ‘ए’को समूह विजेता र युएई समूह ‘ए’को उपविजेता हुन् । प्रतियोगिताकै साबिक विजेता रहेको नेपालको लक्ष्य उपाधि रक्षा गर्नु हो ।

उपाधि विजेताले एसिया कप खेल्नेछ । नेपालले एसिया कप र उपाधि रक्षा गर्न पहिलो खुड्किलोका रूपमा युएईको चुनौती पाखा लगाउनुपर्नेछ । एकदिवसीय र टी–२० फम्र्याटमा यी दुईबीचको खेल महत्वका साथ हेरिने गरिन्छ । पछिल्लो समय नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी उत्कृष्ट फर्ममा छन् । युएईका बलरमाथि उनी हावी हुन सक्छन् ।

दुवै टोली एकअर्काका कठिन प्रतिद्वन्द्वी हुन् । महत्वपूर्ण खेलमा युएई र नेपालबीचको भिडन्त रोमाञ्चक भइरहेको तथ्यांक छ । पछिल्लो समयमा नेपाल उत्कृष्ट लयमा छ । कुनै समय युएई हाबी हुने गथ्र्यो । तर, अहिले नेपालले उल्टै युएईविरुद्ध उत्कृष्ट जित निकालेको छ ।

गत वर्ष प्रिमियर कपको फाइनलमा युएईलाई सात विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपालले आइसिसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई आठ विकेटले हराउँदै १० वर्षपछि विश्वकपमा स्थान बनाएको थियो । आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा ३१० रन बनाएर पनि युएई हारेको थियो ।

नेपाल र युएईबीच नौ अन्तर्राष्ट्रिय टी–२० खेल भएका छन् । जसमा नेपालले पाँच र युएईले चार खेलमा जित निकालेका छन् । एक वर्षभित्र नेपालले युएईलाई चारमध्ये तीन खेलमा हराएको छ । यी सबै जित नेपालले घरेलु मैदानमा निकालेको थियो । एजेन्सीको सहयोगमा दुईबीचका खेल नतिजा यस्ता छन् :

३ नोभेम्बर २०२३ 
युएई १३४/९ । नेपाल १३५/२
नेपाल आठ विकेटले विजयी

आइसिसी पुरुष टी–२० विश्वकप एसिया क्लालिफायरको फाइनलमा नेपालले मूलपानी मैदानमा युएईलाई आठ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा नौ विकेट गुमाएर १३४ रनको मध्यम योगफल खडा गरेको थियो । प्रत्युत्तरमा नेपालले १७.१ ओभरमा दुई विकेटको नोक्सानीमा १३५ रन बनायो । नेपालले १७ बलअघि नै जित निकालेको थियो । खेलमा युएईका भृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाएका थिए । बलिङमा कुशल मल्लले ११ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । लक्ष्य पछ्याएको इनिङ्समा नेपालका लागि आसिफ शेखले नटआउट ६४ रन बनाए । गुल्सन झाले २२ र कप्तान रोहित पौडेलले २० बलमा ३४ रन बटुले ।

 २७ अक्टोबर २०२३
नेपाल १६२/८ । युएई १६७/६
युएई चार विकेटले विजयी

त्रिवि क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० फाइनलमा युएईले आयोजक नेपालमाथि चार विकेटको जित निकालेको थियो । नेपालले पहिलो ब्याटिङ गरी आठ विकेट गुमाएर १६२ रनको चुनौतीपूर्ण योगफल खडा ग¥यो । प्रत्युत्तरमा युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउँदै उपाधि जित्यो । खेलमा युएईका आयन खानले १९ रन खर्चेर तीन विकेट लिएका थिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ५० रनको आक्रामक इनिङ्स खेले । उनले ६ चौका र तीन छक्का प्रहार गरे । भुर्तेलबाहेक अन्य खेलाडीले गतिलो योगदान दिन सकेनन् । युएईको ब्याटिङमा ओपनर महुमद वासिमले २२ बलमा ४५ रन जोडे । उनले सात चौका र दुई छक्का प्रहार गरे । आयंश शर्माले २५ तथा भृत्या अरविन्दले २६ रन बनाए । बलिङमा गुल्सन झा र अविनाश बोहराले समान दुई विकेट लिए ।

२३ अक्टोबर २०२३
युएई १६४/७ । नेपाल १६५/५
युएई पाँच विकेटले पराजित

त्रिकोणात्मक सिरिजमा नेपालले मूलपानी मैदानमा युएईमाथि पाँच विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ रोजेको युएईले २० ओभरमा सात विकेटको क्षतिमा १६४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १९.२ ओभरमा पाँच विकेट गुमाएर १६५ रन जोड्यो । नेपालका लागि म्याच अफ दी म्याच दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४० रनको योगदान दिए । उनले ६ चौका र एक छक्का प्रहार गरे । ओपनर आसिफ शेखले ५० बलमा ६२ र कप्तान रोहिले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरी ४७ रन बटुले । युएईका भृत्या अरविन्दले ५१ बलमा ४५ रन जोडे । बसिल हमिदले १९ बलमा पाँच छक्का र दुई चौकाको सहयोगमा ४५ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र अविनाश बोहराले समान दुई विकेट लिए ।

१८ अक्टोबर २०२३
युएई १४०/७ । नेपाल १४४/३
नेपाल सात विकेटले विजयी

मूलपानी क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिजको पहिलो खेल नै नेपाल र युएईबीच थियो । जसमा नेपालले युएईमाथि सानदार सात विकेटको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको युएईले सात विकेटको क्षतिमा १४० रन जोडेको थियो । प्रत्युत्तरमा नेपालले १८.५ ओभरमा तीन विकेटको क्षतिमा १४४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ४० बलमा ५१ रन बनाए । उनले युएईका दुई क्याचसमेत लिए । उनी खेलका म्यान अफ दी म्याच भए । पहिलो ब्याटिङ गर्दा युएईका लागि बसिर हमिदले सर्वाधिक ५१ रन जोडे । उनले चार छक्का र एक चौका प्रहार गरे । अली नासिरले ३२ रन जोडे । बलिङका क्रममा करण केसीले तीन तथा गुल्सन झाले दुई विकेट लिए । नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३४ तथा ओपनर आसिफ शेखले २७ बलमा २३ रन बनाए । 

२२ फेब्रुअरी २०२२
युएई १७५/७ । नेपाल १०७/१०
युएई ६८ रनले विजयी

आइसिसी पुरुष टी–२० विश्वकप क्लालिफायर ‘ए’को सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । ओमानमा भएको खेलमा युएईले पहिलो ब्याटिङ गरी सात विकेटको नोक्सानीमा १७५ रन बनाएको थियो । प्रत्युत्तरमा युएईका अहमेद राजाको घातक बलिङ सामना गर्न नसक्दा नेपाल १८.४ ओभरमा १०७ रनमा समेटियो । राजाले १९ रन खर्चेर पाँच विकेट लिए । युएईको ब्याटिङमा ओपनर मुहमद वासिमले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरी सर्वाधिक ७० तथा भृत्या अरविन्दले २३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरी ४६ रनको योगदान दिए । बलिङमा जितेन्द्र मुखिया र अविनाश बोहराले समान तीन विकेट हात पारे । नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ३८ तथा ज्ञानेन्द्र मल्लले २० रन जोडे । 

१२ फेब्रुअरी २०२२
युएई १९२/३ । नेपाल १६७/५
युएई २५ रनले विजयी

ओमानमा भएको अन्तर्राष्ट्रिय टी–२० सिरिजको दोस्रो खेलमा नेपालमाथि युएईले २५ रनको जित निकाल्यो । पहिलो ब्याटिङ गरेको युएईले २० ओभरमा तीन विकेट मात्र गुमाएर १९२ रनको बलियो योगफल खडा गर्‍यो । युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रन बनाए । प्रत्युत्तरमा लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा पाँच विकेटको नोक्सानीमा १६७ रन मात्र जोड्न सक्यो । युएईका चिरागले समान पाँच चौका र छक्का प्रहार गरे । रोहन मुस्तफाले ३५ बलमा ४९ रन बनाए । नेपालको ब्याटिङमा दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ४१ रन जोडे । ओपनर ज्ञानेन्द्र मल्लले १९ बलमा २२ तथा आसिफ शेखले २९ बलमा ३४ रन जोडे । लोकेश बमले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरी ३३ रन बनाए ।

३ फेब्रुअरी २०१९
नेपाल १०४/८ । युएई ९०/८
नेपाल १४ रनले विजयी

नेपालले युएईमा अन्तर्राष्ट्रिय टी–२० सिरिज खेलेको थियो । दुबईको आइसिसी मैदानमा वर्षाले प्रभावित खेलमा नेपालले १० ओभरमा आठ विकेट गुमाएर १०८ रन जोडेको थियो । प्रत्युत्तरमा युएईले १० ओभरमा आठ विकेटको नोक्सानीमा ९० रन जोड्यो । सिरिजको अन्तिम खेलमा नेपालका करण केसीले १३ रन खर्चेर दुई विकेट लिएका थिए । सिरिजको म्यान अफ दी सिरिज नेपालका अविनाश बोहरा भए । उनले ६ विकेट लिए । पहिलो ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्काले १४ बलमा चार चौका र एक छक्का प्रहार गरी सर्वाधिक २९ रन बनाए । सन्दीप जोराले ११ बलमा तीन छक्काको सहयोगमा २८ र विनोद भण्डारीले २१ रन बनाए । प्रत्युत्तरमा युएईका लागि ओपनर गुलाम सावेरले १५ बलमा २५ रन तथा सैमान अनवरले ३० रन जोडे । बलिङमा नेपालका करण, अविनाश तथा ललित राजवंशीले समान दुई विकेट हात पारेका थिए । नेपालले सिरिज २–१ ले जितेको थियो । 

१ फेब्रुअरी २०१९
युएई १०७/१० । नेपाल १११/६
नेपाल चार विकेटले विजयी

युएईको भ्रमणमा रहँदा नेपालले दोस्रो खेलमा चार विकेटको जित निकाल्यो । आइसिसिएको मैदानमा पहिलो ब्याटिङ गरेको युएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा ६ विकेटको नोक्सानीमा १११ रन बनायो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ४१ बलमा ४७ रनको योगदान दिए । युएईको ब्याटिङमा रिजवानले ४३ बलमा ४४ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । बलिङमा अविनाश बोहराले तीन विकेट लिए । सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट हात पारे । 

३१ जनवरी २०१९
युएई १५३/६ । नेपाल १३२/७
युएई २१ रनले विजयी

नेपाल र युएईबीच आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय टी–२० खेलमा ३१ जनवरी २०१९ मा भएको थियो । युएईले पहिलो भेटमै नेपाललाई २१ रनले हरायो । पहिलो ब्याटिङ गरेको युएईले ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १३२ रन जोड्यो । युएईका सैमान अनवरले ३८ बलमा ५९ रन जोडे । युएईको ब्याटिङमा मुहमद उस्मानले ३० र रिजवानले २२ रन बनाए । प्रत्युत्तरमा कप्तान पारस खड्काले २५ बलमा २५ रन बनाए । सन्दीप जोराले नटआउट ५३ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरे । सोमपाल कामीले १९ बलमा समान एक चौका र छक्का प्रहार गरी २७ रन जोडे ।

 

ad
ad