१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार o६:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दुधकोशीको क्षमता ३५ मेगावाट थप गरिँदै

६ सय ३५ मेगावाटको बनाउने भनिएकोमा अहिले ६ सय ७० मेगावाट पु¥याउने गरी अघि बढाइयोे प्रक्रिया 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:o९:oo

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्ने दुधकोशी जलाशय जलविद्युत् आयोजनाको जडित क्षमता ३५ मेगावाट थप गरिने भएको छ । यसअघि उक्त परियोजना ६ सय ३५ मेगावाटको बनाउने भनिएकोमा अहिले ६ सय ७० मेगावाटमा पुर्‍याउने गरी प्रक्रिया अघि बढाइएको हो ।

विशेष गरी बाधसँगै जोडिएको (ड्याम टो) विद्युत्गृहको क्षमता ३५ मेगावाट बढाउन लागिएको हो । यो परियोजनामा दुईवटा विद्युत्गृह हुनेछन् । त्यसमा ६ सय मेगावाटको मुख्य विद्यत्गृह खोटाङको धितुङ गाउँनजिक सुनकोशी नदीको देब्रे किनारमा बनाइँदै छ । त्यसमा ड्यामबाट सुरुङ बनाएर पानी लगिनेछ । त्यसबाहेक बाँधमै ‘ड्याम टो’ विद्युत्गृह बनाइनेछ, जुन विद्युत्गृह ‘ओभरफ्लो’ हुने पानीबाट चल्नेछ । उक्त विद्युत्गृह ३५ मेगावाटमा क्षमतामा सञ्चालन गर्ने डिजाइनको थियो । तर, अहिले त्यसबाट ७० मेगावाट विद्युत् निकाल्न सकिने देखिएको दुधकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । परियोजनाको विस्तृत सम्भाव्यता प्रतिवेदन अद्यावधिक गर्ने क्रममा यस्तो सम्भावना देखिएको हो । 

‘हामीले वातावरण संरक्षणका लागि २५ प्रतिशत पानी खोलामै छाड्नुपर्छ । ड्याममा जम्मा गर्न पाइँदैन । त्यसरी छाडिने पानीले ७० मेगावाटसम्म विद्युत् निकाल्न सकिने देखियो,’ उनले भने, ‘त्यसैले परियोजनाको क्षमता अभिवृद्धि गर्न लागिएको हो । सम्भवतः अब यहीअनुसार परियोजनाको निर्माण कार्य अघि बढ्छ ।’

क्षमता बढाउँदा परियोजनाको लागत केही बढ्न सक्ने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हाल परियोजनाको लागत अनुमान दुई अर्ब २० करोड डलर छ, त्यसमा केही रकम थप हुन सक्ने घिसिङको भनाइ छ । प्राधिकरणले सहायक कम्पनीका रूपमा दुधकोशी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरेर यो परियोजनाको विकास निर्माण अघि बढाएको छ ।

 डिसेम्बरभित्र परियोजनाको वित्तीय व्यवस्थापन
प्राधिकरणले आगामी डिसेम्बरभित्र परियोजनाको वित्तीय व्यवस्थापन हुने बताएको छ । विश्व बैंकलाई समेत समावेश गरेर एसियाली विकास बैंकले आफ्नो नेतृत्वमा यस परियोजनामा एक अर्ब ४५ करोड डलर हाराहारीमा ऋण लगानी गर्दै छ । यसैगरी, विभिन्न स्वदेशी संस्थाले पनि ऋण तथा सेयर लगानी गर्दै छन् ।

हाल लगानी सम्झौताका लागि उनीहरूसँग प्राधिकरणले छलफल गरिरहेको छ । सम्भवतः आगामी डिसेम्बरसम्म परियोजनाको वित्तीय व्यवस्थापन हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत हप्ता अर्थ मन्त्रालयमा भएको छलफलमा पनि एडिबी र विश्व बैंकले छिट्टै वित्तीय व्यवस्थापन गर्ने सहमति गरेका छन् ।

हाल परियोजनाको प्राविधिक, वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन र सामाजिक विषयलाई अन्तिम रूप दिने काम भइरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतका लागि वन तथा वातावरण मन्त्रालयमा पेस भइसकेको छ । वित्तीय व्यवस्थापन भएपछि परियोजनाको निर्माण प्रक्रिया अघि बढाउने बताइएको छ । 

सन् १९८५ मा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले यस परियोजनाको पहिचान गरेको थियो । सन् १९९८ मा नेपाल विद्युत् प्राधिकरणले यस परियोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि सन् २०१३ मा सम्भाव्यता अध्ययनको रिभ्यु गरिएको थियो । त्यसपछि यसको निर्माण अघि बढाउने प्रयास गरिएको थियो । यद्यपि, अहिले परियोजनाको सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने काम भइरहेको छ, जुन अन्तिम चरणमा पुगेको बताइएको छ । आयोजनाबाट वार्षिक रूपमा तीन अर्ब ४४ करोड युनिट विद्युत् उत्पादन हुनेछ । यसमध्ये सुक्खायाममा एक अर्ब ३६ करोड र वर्षायाममा दुई अर्ब आठ करोड युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको निर्माण अवधि सात वर्षको रहेको छ । 

यो परियोजना दुधकोशी नदी र यसका अन्य सहायक खोलाहरूको पानीलाई उपयोग गर्ने गरी डिजाइन गरिएको छ । यस जलाशययुक्त आयोजनाको मुख्य बाँध खोटाङ र ओखलढुंगा जिल्लाको सिमानामा पर्ने रबुवा बजारभन्दा करिब एक किमि दक्षिणमा निर्माण हुनेछ । आयोजनाका दुईवटा विद्युत्गृह हुनेछन् । त्यसमा ६ सय मेगावाटको मुख्य विद्युत्गृह खोटाङ जिल्लाको हलेसी धितुङ गाउँनजिक सुनकोशी नदीको देब्रे किनारमा भूमिगत बनाइनेछ । ७० मेगावाटसम्मको ड्याम टो विद्युत्गृह बाँधसँगै ओखलढुंगाकोे चिसंखुगढीमा बनाइनेछ । 

दुई सय २० मिटर अग्लो रकफिल बाँधको निर्माणबाट कुल ३१.५ किमि लामो र एक सय ५८ करोड घनमिटरको जलाशय निर्माण हुनेछ । मुख्य विद्युत्गृहमा पानी पु¥याउन १३.२ किमि लामो सुरुङ बनाइन्छ । प्राकृतिक रूपमा उपलब्ध हुने एक सय ३२ मिटर हेड र जलाशयको निर्माणबाट सिर्जना हुने थप दुई सय १० मिटर (अधिकतम)को कृत्रिम हेड उपयोग गरिनेछ । सो विद्युत्गृहको डिजाइन डिस्चार्ज २२४.४ घनमिटर प्रतिसेकेन्ड रहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् करिब ८१ किमि लामो चार सय केभी डबल सर्किट प्रसारणलाइनमार्फत ढल्केबर सबस्टेसनमा जोडिनेछ । 

ad
ad