खासा–काठमाडौं सामान आयात–निर्यातमा ढुवानी गर्ने कन्टेनरको विषय चुनौतीपूर्ण बन्दै गएको पाइएको छ। खासाबाट काठमाडौं र काठमाडौंबाट खासाका लागि सामान ओसारपसार गर्ने कन्टेनर, टेलर नेपाल–चीन दुवैपट्टिका ट्रान्सपोर्ट कम्पनीले व्यवस्थापन गर्दै आएका छन्।
नेपाली व्यापारीले आफ्नो कन्टेनर खासा प्रवेश गर्न पाउनुपर्ने माग राखेका छन्। नेपाली गाडी खासा गए जसरी चिनियाँ कन्टेनर पनि सामान लिएर सीधै काठमाडौं जान पाउनुपर्ने विषय चिनियाँ ट्रान्सपोर्ट कम्पनीहरूले अडानको रूपमा सरकारसमक्ष पेस गरेका छन्।
भूकम्पछि नाका खुल्दा ‘हुक एन्ड ड्रप’ प्रणाली लागू गरियो। चिनियाँ टेलरले मितेरीपुलसम्म ल्याएका सामान नेपालपट्टि रहेका इन्जिनले तानेर सुक्खा बन्दरगाह लार्चा पुर्याउँथे। कोरोना कालभर यही प्रणाली सञ्चालन भयो। अहिले पनि यो प्रणाली कायमै छ।
कोरोना कालमा चिनियाँ क्षेत्रमा रहेका ट्रान्सपोर्ट कम्पनीहरू तिब्बत सिल्क, मुसा, आडो र खासाले करोडौँ लगानी गरेर दुई सय नयाँ कन्टेनर र टेलर खरिद गरेका थिए। जसले हालसम्म खासाबाट लार्चासम्म सामान ढुवानी गर्छ।
नेपाली ढुवानी कम्पनीका गाडीले खासा पुगेर सामान ल्याए चिनियाँ गाडीले पनि खासाबाट सीधै काठमाडौं सामान लाने बाटो खुल्छ। किनकि, नेपाली गाडी चीन जाँदा चिनियाँ गाडी पनि नेपाल आउन सक्छन्। यो विषयमा ढुवानी कम्पनीहरूबीच पनि मतैक्यता छैन। नेपालपट्टि सिल्क, रेवाङ र नमस्ते ट्रान्सपोर्ट कम्पनीले करोडौँ लगानी गरेर टेलर तान्ने मोटर टाउको किनेका छन् । हुक एन्ड ड्रप प्रणाली तत्काल हटाउँदा ती व्यवसायी डुब्नेवाला छन्।
तातोपानी भन्सार यार्डमा ६ सय स्थानीय मजदुरले लोडअनलोडको काम गर्छन् । चिनियाँ कन्टेनर भन्सार गरेर सीधै काठमाडौं जाने प्रणाली लागू हुँदा ती मजदुरको रोजीरोटी नै खोसिन्छ। कोरोना कालमा काम गरेका ट्रान्सपोर्ट कम्पनीहरू भूकम्पअघिको खासा–काठमाडौं ढुवानी प्रणालीको पक्षमा छैनन्। पुराना व्यापारीहरू नेपाली कन्टेनर खासा पुर्याउने पक्षमा छन्।
नेपाल ट्रक कन्टेनर ढुवानी प्रालिका अध्यक्ष अर्जुनबहादुर सापकोटाले सबै व्यापारी र व्यवसायीलाई मान्य हुने प्रणाली लागू गर्न माग गरे । सीमित कम्पनीका करिब ३० गाडीले मात्रै सामान ढुवानी गर्न पाएकोले अरू व्यवसायी निराश बनेका छन्।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसी भन्छन्, ‘आयात–निर्यातको भोल्युम बढ्दै गएको छ। तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कने क्रममा छ।’
ढुवानी खर्च कम लाग्ने भएकोले व्यापारीले खासाबाट सामान ल्याउन थालेको उनले बताए। तर, सामान लिन खासा जाने विषय सहज नभएको उनले प्रस्ट्याए। किनकि, खासा नयाँ सिटीको रूपमा विकास गर्न लागेकोले निर्माणको चरणमा छ।
खासा भएर ९० प्रतिशत स्याउ र ७५ प्रतिशत रेडिमेडका सामान नेपाल आयात भइरहेकोले लोड–अनलोडको काम धेरै छन्। भूकम्पपछि स्थापना भएका चिनियाँ ट्रान्सपोर्ट कम्पनीले नेपालतर्फ आउने मालवाहक लामोलामो टेलर खासाका लागि दर्ता गरेकोले यहाँको व्यापार बढ्दै जाने निश्चित भएको छ।
नाकाको विषयमा संघीय सांसद माधव सापकोटाको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यसहित सुरक्षा निकाय, भन्सार, सडक र सम्बन्धित कार्यालयका प्रमुखको बुधबार भन्सार परिसरमा बैठक भयो। बैठकमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक, सरकारी भवनको पूर्वाधार र कन्टेनरलाई खासा प्रवेश गराउने विषयमा छलफल भएको थियो।
‘मासिक एक अर्ब राजस्व उठ्ने भन्सार जोडिएको अन्तर्राष्ट्रिय नाका कोदारी राजमार्ग जीर्ण छ । सीमाका सरकारी कार्यालयमा जनशक्ति अभाव छ । यसबाहेक कन्टेनर व्यवस्थापन चुनौती त्यस्तै छ,’ सदनमा तातोपानी नाकाबारे पटकपटक आवाज उठाएको स्मरण गर्दै सांसद सापकोटाले भने, ‘यस विषयमा नेपाल–चीन दुवै गम्भीर हुनैपर्छ । लामो समयदेखिको दौत्य सम्बन्ध दिगो बनाउन तातोपानी नाका सहज बन्नुपर्छ।’
एकीकृत सुरक्षा जाँच भवन र नेपालपट्टि मितेरीपुलमा सानदार गेट निर्माण गर्ने विषयमा छलफल भएको उनले बताए। कन्टेनर व्यवस्थापनको विषयमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी प्रालि र सबै ट्रान्सपोर्ट कम्पनीसँग संयुक्त रूपमा छलफलको तयारी गरेको उनले जानकारी दिए।
सीमामा आश्रित मजदुरहरूले खासाबाट आएका चिनियाँ कन्टेनरले भन्सार यार्डसम्म ढुवानी गर्ने र नेपाली कन्टेनरले काठमाडौंसम्म ढुवानी गर्ने हालको प्रणाली कायम रहे रोजीरोटी नखोसिने बताएका छन्। सीमित कम्पनीको एकाधिकार तोडेर सामान आयात–निर्यात गर्दा नेपाल–चीन दुवै देशका व्यापारीले काम गर्न पाउने वातावरण बन्छ।