१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:२६:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

१२औँ हेमजा आलु महोत्सवमा चार करोडको कारोबार        

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

१२औँ संस्करणको हेमजा आलु महोत्सव बुधबार सम्पन्न भएको छ । महोत्सवमा चार करोडको कारोबार भएको आयोजकले जनाएको छ ।  ‘सुन्दर ठाउँ हेमजा जाउँ आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ पोखरा महानगरपालिका– २५ हेमजास्थित विष्णुपादुका क्लबको आयोजनामा २५ चैतदेखि जारी महोत्सवको ७५ हजार दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए ।

महोत्सवको समापन गर्दै पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा २५ का अध्यक्ष मोतीलाल तिम्सिनाले हेमजामा आलुको उत्पादन अझै बढाउन आग्रह गरे । हेमजाको आलुको माग देशका धेरै स्थानमा रहेको छ ।

महोत्सवमा प्रतिकेजी ४० रुपैयाँका दरले आलु बिक्री गरिएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए । तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेका उनले जानकारी दिए ।

आलु खरिदका लागि कास्कीसँगै स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँ, काठमाडाैंलगायतका जिल्लाबाट समेत मानिसहरू आएको बताउँदै संयोजक तिम्सिनाले एकजनाले न्यूनतम पाँचदेखि अधिकतम तीन सय किलोसम्म आलु खरिद गरेको बताए ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीको बृहत् प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटनको रूपमा देश विदेशमा चिनाउने, समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने, तरकारी संकलन तथा बिक्री–वितरण केन्द्र निर्माण गर्नेलगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आलुबाट बनेका विभिन्न परिकारहरू कवाव, रोस्ट, स्टार्ट पोटाटो, साँधेको आलु, आलुको पकौडा, आलुको ढिँडो, रोस्ट, दाल, सेकेको आलु, आलुको बर्गर, अचारलगायतका ढेड दर्जनभन्दा बढी परिकारका साथै सेलरोटी, खिर प्रदर्शन एवं बिक्रीका लागि राखिएको थियो ।

महोत्सवमा ४० टनको आलुको पहाड निर्माण, माटो, बाेट बिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषिविज्ञ र किसानबीच अन्तर्क्रिया, कृषि झाँकी प्रदर्शन, विविध सांस्कृतिक कार्यक्रम, विभिन्न कृषि उपज बिउ–विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी सँगै कृषक सम्मान तथा पुरस्कारलगायतका कार्यक्रमहरूसमेत गरिएको आयोजक क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । 

समुद्र सतहदेखि १०८८ मिटरको उचाइमा रहेको हेमजाको कुल क्षेत्रफल १२ हजार पाँच सय हेक्टर रहेकोमा ५५० हेक्टरमा आलु खेती हुँदै आएको छ भने एक हजार २२ घरपरिवार कृषिमा आधारित छन् । यहाँका पाँच सय ४० कृषक व्यावसायिक रूपमा आलु खेती गर्दै आएका छन् ।