१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख १८ मंगलबार ११:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने तयारी

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२४:oo

राष्ट्रव्यापी अभियानअन्तर्गत सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी भएको छ । जिल्लाभरिका दुई वर्ष उमेर समूहमाथिका आठ लाख २४ हजार ६ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउने तयारी भएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए । अभियानबारे जानकारी दिन मंलगबार स्वास्थ्य कार्यालय मलंगवामा हात्तीपाइले रोगको आम औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सर्लाहीमा वैशाख १६ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गरिने जानकारी गराइएको थियो । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गरिने भएको छ । हात्तीपाइले रोगविरुद्ध औषधि गर्भवती महिला, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले सेवन गर्न नहुने डाक्टर झाले बताए । 

अन्य सबैले हात्तीपाइले रोगबाट बच्न अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्ने चिकित्सकको भनाइ छ । औषधि सेवनको क्रममा जिल्ला हालसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर औषधि सेवन गर्न स्वास्थ्य कार्यालय मलंगवा सर्लाहीले सबैमा आग्रह गरेको छ । अपुष्ट भ्रमहरूका कारण समाजमा औषधि सेवनमा लापरबाही हुने र परिणामस्वरूप हात्तीपाइलेको संक्रमण हुने भएकाले सचेत रहन आग्रहसमेत गरिएको छ ।  

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गत वर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार ६ सय ८४ जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइएको थियोे । जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो। यो अभियानअन्तर्गत देशभर गरेर सातवटा जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये सर्लाहीसहित मधेशका चार जिल्ला समेटिएको छ । 

सर्लाहीमा हालसम्म एक हजार चार सय ७५ जना हात्तीपाइले रोगका बिमारी रहेका स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो। उनीहरू लामो समयदेखस संक्रमित भई उपचार गराइरहेका हुन् । जिल्लामा पछिल्लो समय नयाँ संक्रमित नगन्य मात्रामा फेला पर्ने गरेका तथ्यांकमा उल्लेख गरिएको छ । हात्तीपाइले रोग संक्रमितलाई टोकेको क्युलेस लामखुट्टेले अन्य मान्छेलाई टोकेपछि यो संक्रमण फैलने गर्दछ ।

जनचेतना तथा औषधि–उपचारका कारण संक्रमण घट्दै गएको स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोज झाले जानकारी दिए । 
 

ad
ad