१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
२o८१ बैशाख १७ सोमबार o७:१३:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आजको समाजवादी आन्दोलन

विकसित भनिएका देशमै पनि समाजवाद तथा प्रगतिशील पुँजीवादको प्रश्न उठिरहेकाले यतिखेर समाजवादी क्रान्तिको वस्तुगत अवस्था अनुकूल देखिन्छ

Read Time : > 5 मिनेट
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१३:oo

नेपालमा पुँजीवादी र कम्युनिस्ट पार्टीहरू मिलेर शान्तिपूर्ण जनआन्दोलन, सशस्त्र क्रान्ति र जनयुद्धका माध्यमबाट राजतन्त्र अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएको छ । सम्झौताको यो संविधानमा पुँजीवाद र कम्युनिस्ट दुवै शक्तिका तत्व अन्तर्निहित छन् । आज प्रारम्भिक पुँजीवादी समाज हुँदै संविधानले उठाएको समाजवादउन्मुख जनवादी युग सुरु भएको छ । 

अन्तर्राष्ट्रिय राजनीतिक पानीढलो ठूला शक्ति राष्ट्रको प्रभावमा पुँजीवादी नवउदारवादतर्फ हाबी छ । यो निजीकरण, नवउदारीकरण र भूमण्डलीकरणको तीव्र प्रभावले नेपालमा दलाल र वित्तीय पुँजीवाद सत्तासीन छ । सबै राष्ट्रिय उद्योगधन्दा निजीकरण, कमजोर र परनिर्भर बनेका छन् । उपभोक्तावादी समाज निर्माण भएको छ ।

नेपाल अन्तर्राष्ट्रिय पुँजीवादको बाजार बन्दै गएकाले दलाल र वित्तीय पुँजीवाद आजको मूल समस्या हो । यो प्रगति र परिवर्तनको बाधक हो । प्रगतिशील र वामपन्थी आन्दोलनको मात्र होइन, यो बुर्जुवा पुँजीवादको पनि भाइरससरह शत्रु हो । यसले श्रमजीवी जनता तथा मजदुरको नारा, झन्डा र कार्यक्रमलाई मात्र होइन, नेतृत्व नै कब्जा गर्छ । यति मात्र होइन, यसले बुर्जुवा पुँजीवादलाई पनि कब्जा गरेको छ । यो कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट नै भएर र पुँजीवादी आन्दोलनमा पुँजीवादी नै भएर देखा पर्छ । यो समाजवादी आन्दोलनको प्रमुख दुस्मन हो । 

कम्युनिस्टले राजनीतिक रूपमा दह्रोसँग उठाएका स्वतन्त्रता, समानता र भ्रातृत्व तथा गाँस, वास र कपासको नारालाई रोक्न र जमिन कब्जा गर्न प्रथम विश्वयुद्ध भयो । दोस्रो विश्वयुद्ध अप्रत्यक्ष रूपमा जमिनका साथै मूलतः बाजार कब्जाका लागि भयो । जमिन, बाजार, वित्त, सूचना, सञ्चार, विज्ञान, प्रविधि र डाटा, चेतना, अन्तरिक्ष, पर्यावरणमाथिको एकीकृत कब्जा र त्यसको दुरुपयोग नै आजको पुँजीवाद हो । त्यसलाई दलाल र वित्तीय पुँजीवाद भनिन्छ ।

यो तेस्रो विश्वयुद्धको नयाँ रूप हो । यो युद्धलाई परस्त गर्नु नै आजको समाजवादी आन्दोलनको मूल कार्यभार हो । त्यसैले नयाँ विचार, नयाँ सोच, नयाँ कार्यदिशा, नयाँ कार्यक्रम, नयाँ संगठन, नयाँ आन्दोलन र नयाँ नेतृत्व आजको आवश्यकता हो । जमिन, बजार, विज्ञान, प्रविधि, डाटा, अन्तरिक्ष, आजको नयाँ श्रम र चेतनालाई मानवको साझा सम्पत्तिमा परिणत गर्नु समाजवादको दायित्व हो । पुँजीपति र श्रमजीवी सर्वहारा वर्गको आजको लडाइँ त्यसैमा केन्द्रित छ र बनाइनुपर्छ । यो नै वैज्ञानिक समाजवाद हो । 


पुँजीवादको विकल्पमा समाजवादी आन्दोलनलाई नयाँ ढंगले रक्षा, प्रयोग, परिमार्जन र विकास गरी सर्वहारा विश्व दृष्टिकोणलाई बलियो बनाउनु आजको आवश्यकता हो
 

नेपाली समाजको शोषण र वर्गसंघर्ष :  शासकवर्गले वर्गीय समाज निर्माण भएदेखि विभिन्न चरणमा कृषि, उद्योग र सेवाको क्षेत्रमा बचत हुने अतिरिक्त मूल्य, श्रम वा सामाजिक बचतको शोषण विभिन्न तरिकाबाट गरिरहेको छ र आजको पुँजीवादमा यो प्रक्रिया झनै तीव्र भएको छ । नेपाली समाजलाई जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, सांस्कृतिक रूपमा पछाडि पारिएको छ । गाँस, वास, कपास, यौन, शिक्षा, स्वास्थ्य, रोजगार, मनोरञ्जन, सुरक्षा, पूर्वधार विकासजस्ता आधारभूत मानवीय आवश्यकतामाथिको असमानताले समाजका सम्पूर्ण व्यक्तिगत तथा सामाजिक क्षमताको विकास अवरुद्ध हुन पुगेको छ ।

विज्ञान प्रविधिको नयाँ खोज तथा अन्वेषण, विस्तार तथा विकासले ल्याउने सामाजिक, आर्थिक, राजनीतिक र उत्पादक शक्तिको विकासलाई दलाल र वित्तीय पुँजीवादले नियन्त्रण गरेको छ । उत्पादन साधनका रूपमा उत्पीडित श्रमजीवी वर्ग र अर्कातिर उत्पादन साधनकै अवसरबाट बाहिरिएका वर्ग (बेरोजगार, दलित, भूमिहीन, जनजाति, मधेसी र अल्पसंख्यक) र शासकबीच वर्गसंघर्ष हुन्छ । मान्छेद्वारा मान्छेमाथि गरिने संस्थागत शोषणको अन्तिम रूप भूमण्डलीकृत पुँजीवादमा अभिव्यक्त भएको छ । यसको विकल्पमा सचेत र विकसित उत्पादक शक्ति र पुँजीवादी उत्पादन सम्बन्धबीचको अन्तरविरोधले क्रान्ति र क्रान्तिले वैज्ञानिक समाजवाद जन्मिन्छ । 

नेपालको नयाँ वर्ग विश्लेषण :  १. भूमण्डलीकृत पुँजीवादी आर्थिक व्यवस्थाबाट जन्मिएको दलाल र वित्तीय पुँजीपति वर्ग, २. राष्ट्रिय पुँजीपति वर्ग, ३. मध्यम वर्ग, निम्न मध्यम वर्ग, किसान वर्ग, श्रमजीवी सर्वहारा वर्ग अर्थात् जातीय, लैंगिक, क्षेत्रीय, धार्मिक, सांस्कृतिक रूपमा पछाडि पारिएका उत्पीडित वर्ग, ४. विज्ञान र प्रविधिले जन्माएको सामाजिक सञ्जाल, साइबर वर्ग अर्थात् ‘जेड जेनेरेसन’, ५. उत्तर आधुनिकतावादले परिभाषित गरेको निवर्गीय अर्थात् जनसमुदाय, लोकप्रियतावादी चरम व्यक्तिवादी वर्ग, ६. बिदेसिन बाध्य भएका श्रमिक र विद्यार्थी वर्ग ।

विश्व दृष्टिकोण :  इजरायली प्राध्यापक युभल नोह हरारीले उठाएका कैयौँ मुद्दा आज बहसका विषय बनेका छन् । हरारी मूलतः बुर्जुवा विश्व दृष्टिकोणका मान्छे भए पनि आजको पुँजीवादले निम्त्याएका समस्यालाई उनले उजागर गरेका छन् । उनले आणविक युद्ध, पर्यावरणको विनाश र प्रविधिले निम्त्याउने विनाशले मानव जातिको अन्त्य हुन सक्ने संकेत गर्दै पुँजीवादको विकल्प पेस गरेका छन् । पुँजीवादको विकल्पमा समाजवादी आन्दोलनलाई नयाँ ढंगले रक्षा, प्रयोग, परिमार्जन र विकास गरी सर्वहारा विश्व दृष्टिकोणलाई बलियो बनाउनुपर्छ । ठुल्ठूला भाषण र शब्दजालले मात्र समाजवादी आन्दोलनलाई नाप्न सकिँदैन, इमानदारीपूर्वक समाजवादी आन्दोलनलाई दह्रोसँग पक्रनुपर्छ । 

विज्ञान र प्रविधिको प्रभाव :  विज्ञान, प्रविधि, सूचना सञ्चारको स्वामित्व सीमित पुँजीवादीबाट श्रमजीवी वर्गको स्वामित्वमा ल्याउनु नै आजको क्रान्ति हो । आज विज्ञान र प्रविधिको गति अत्यन्तै तीव्र रूपमा अगाडि बढेको छ । साइबरनेटिक डिजिटल युग, आर्टिफिसियल इन्टेलिजेन्स हुँदै विज्ञान र प्रविधिमा कृत्रिम बौद्धिकताको विकास हुँदै छ । साथै, जेनेटिक इन्जिनियरिङले डिएनएमै परिवर्तन गर्छ । रोगहरूको खोजी र उपचारमा यो प्रयोगले ठूलो क्रान्ति ल्याउनेछ ।

जिन काट्ने कैंची ‘जेनम’लेसेलको इडिटिङ गरेर मान्छेलाई युवावस्थामै राख्ने, बच्चा कस्तो रूप र कस्तो दिमाग भएको जन्माउने ? भन्नेसमेत परिकल्पना गरिएको छ । यस्ता प्रविधिको प्रयोगले आज डार्बिनको विकासवादी सिद्धान्तलाई चुनौती दिँदै लाखौँ वर्ष लाग्ने आनुवंशिक रूपान्तरण तत्काल गर्नेछ । वनस्पतिमा प्रयोग हुने क्लोनिङ विधि मान्छेमा पनि प्रयोग गर्न सकिन्छ । बुढ्यौली र रोग निम्त्याउन सक्ने माइक्रोबायोलोजिकल, फिजियोलोजिकल र अनुवंशिक प्रणालीबारे अनुसन्धान भइरहेको छ । नयाँ औषधि र उपचारपद्धति विकासले मृत्युलाई धकेल्न मात्र होइन, जित्न पनि सकिन्छ । आज विज्ञानले मानिसको दिमागलाई नक्कल गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ । यति मात्र होइन, आज मान्छेको दिमागमा चिप्स हालेर कम्प्युटरसँग जोड्ने प्रविधिको विकास भएको छ । ऊर्जाका भद्दा प्रक्रिया परिस्कृत हुनेछन् । पानीबाट उत्पादन हुने हाइड्रोजन ग्यास र त्यसबाट चल्ने इन्जिनजस्ता सरल र नयाँ ऊर्जाका रहस्य पत्ता लागेका छन् । 

प्रतिक्रान्तिको चुनौती :  कम्युनिस्टहरू सत्ताबाहिर हुँदा पुँजीपति वर्गसँगको वर्गसंघर्षमा जुन वर्ग निष्ठा देखिन्छ, तर सत्तामा पुगेपछि भने सत्ता, शक्ति र पदको उन्मादमा वर्ग उत्थान हुने र नजानिँदो ढंगबाट बिनारक्तपात सत्ता पुँजीवादमा रूपान्तरण हुने आमप्रक्रिया समाजवादी आन्दोलनको मूल चुनौती हो ।

कम्युनिस्ट पार्टी, क्रान्ति, वर्गसंघर्ष, समाजवाद र साम्यवादको नाराको आवरणभित्रबाटै प्रतिक्रान्ति जन्मिएको अवस्था छ । ‌वस्तुगत रूपले आज एकध्रुवीय विश्व भत्किएको र बहुध्रुव बनिनसकेको अवस्था छ । विश्व भूमण्डलीकरण र अन्तरसम्बन्धित छ । उत्पादनको केन्द्र पश्चिमबाट पूर्वतिर सरिरहेको छ । चीनको बिआरआई र अमेरिकाको हिन्द–प्रशान्त रणनीति एक–आपसमा टकराइरहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्ध आदिले विश्वयुद्धको संकेत गरेका छन् ।

अमेरिकाको अर्कालाई भिडाउने र शक्ति सञ्चय गर्ने, हतियारको व्यापार गर्ने रणनीति आज पनि कायमै छ । तर, आजको पुँजीवाद र साम्राज्यवादको विकल्पको खोजी विकसित भनिएका देशमै हुँदै छ । विभिन्न प्रकारका समाजवाद तथा प्रगतिशील पुँजीवादको प्रश्न उठिरहेकाले समाजवादी क्रान्तिको वस्तुगत अवस्थाअनुकूल रहेको छ । तर, आज समाजवादी व्यवस्था भएका देश निकै कम भएकाले समाजवादी क्रान्तिको आत्मगत अवस्था भने प्रतिकूल छ । यो वैज्ञानिक समाजवादका लागि निकै नै ठूलो चुनौती हो । 

पुँजीवादले अपनाएको वैचारिक हस्तक्षेप र नवउदारवादको अधिनायकत्व नै आजको पुँजीवाद हो । यो सर्वहारा वर्गका लागि निकै ठूलो चुनौती हो । आज पुँजीवादले सूचना, सञ्चार, विज्ञान, प्रविधिको दुरुयोग गरी विकसित विज्ञानको पछिल्लो क्वान्टम सिद्धान्तका नियमलाई बंग्याएर उत्तरआधुनकतावादी विचारको सहरा लिइरहेको छ ।

पुँजीवादको यो वैचारिक, आर्थिकलगायत घेराबन्दीलाई कसरी परास्त गर्ने ? भूमण्डलीकरण र अन्तरसम्बन्धित विश्वमा समाजवादी आन्दोलनलाई जोगाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय संगठन निर्माण कसरी गर्ने ? पार्टी र सरकारलाई जनतासँग जोड्ने र पालैपालो सरकारमा जाने संगठनात्मक विधि र मान्यतालाई कसरी विकास गर्ने ? यो एकाइसौँ शताब्दीको जनवादले उठाएको विषय हो । ठोस परिस्थितिको ठोस विश्लेषण र जनदिशाको प्रयोगका माध्यमबाट मार्क्सवाद  र वर्गसंघर्षलाई सूत्रका रूपमा होइन, समाज विकासको स्तर, चरण, चेतना, विज्ञान र प्रविधिको विकासअनुसार गतिशील विज्ञानका रूपमा व्यवहारमा प्रयोग गर्नुपर्छ । मार्क्सवाद  र वर्गसंघर्षबाट प्राप्त हुने वैज्ञानिक समाजवाद पनि त्यही हो, जुन हिजोको जस्तो हुँदैन, विकसित हुँदै जान्छ । कसरी समाजवाद ? क्रान्तिबाट वा शान्तिपूर्ण ढंगबाट ? कस्तो समाजवाद ? देखाउने समाजवाद वा वैज्ञानिक समाजवाद ? समाजवाद आजैदेखि कि भोलिदेखि ? यी विषय आजको बहसमा छन् । माक्र्सवादी मान्यताअनुसारको वैज्ञानिक समाजवाद नै सत्य समाजवाद हो । 

वैज्ञानिक समाजवादको पूर्वाधार :  १. विचारको रक्षा, प्रयोग र विकास गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ध्रुवीकरणका लागि सचेत प्रयास गर्ने । २. शक्तिशाली, गतिशील, देशव्यापी कम्युनिस्ट पार्टी निर्माण र समाजवाद मान्ने अन्य शक्तिसँग बलियो संयुक्त मोर्चा निर्माण गर्ने । ३. संसद्को क्रान्तिकारी प्रयोग, जनप्रतिनिधि संस्था (केन्द्र, प्रदेश र स्थानीय सरकार) जनपक्षीय बनाई क्रान्तिकारी प्रयोग र साम्राज्यवाद, दलाल नोकरशाही पुँजीवादविरुद्ध विभिन्न संघर्ष विद्रोह, जनआन्दोलन, जनमत संग्रह, वार्ता, कूटनीतिक पहल आदि गर्ने । ४. सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सक्रिय सहभागी बन्ने । 

अन्त्यमा, विश्वमा कमजोर अवस्थामा रहेको सामन्तवादको अन्त्यभन्दा विश्व साम्राज्यवादविरुद्धको समाजवादी आन्दोलन हजारौँ गुणा जटिल तर महान् कार्य हो । पुँजीवादको असफलता, जटिलता र अन्तरविरोधको अवस्थाबाट हेर्दा पुँजीवादको विकल्पमा नेपालमा मात्र होइन, विश्वमै वैज्ञानिक समाजवाद सम्भव छ । 
(गोतामे बागमती प्रदेश सभा सदस्य हुन्)

ad
ad