मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
२०८० फाल्गुण १ मंगलबार ०७:५१:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नेपाली राजनीतिमा माओवादी जनयुद्ध

कम्युनिस्ट राजनीतिलाई समाज रूपान्तरण, सामाजिक न्याय, श्रम, उत्पादन, सभ्यता र विज्ञानसँग जोड्न सक्ने वैचारिक आधार जनयुद्धले तयार गरिदिएको छ

Read Time : > 5 मिनेट
इन्द्रप्रसाद गोतामे ‘जगतजंग’
२०८० फाल्गुण १ मंगलबार ०७:५१:००

२८ वर्ष पहिले तत्कालीन नेकपा (माओवादी)का महामन्त्री कमरेड प्रचण्डको वैचारिक र गतिशील नेतृत्वमा नेपाली समाजको ठोस विश्लेषण र जनदिशाको प्रयोग गरी सही विचारको आधारमा सही राजनीतिक कार्यदिशाको विकास गरी सुरु भएको महान् जनयुद्ध नेपालको राजनीतिक इतिहासमा एउटा अविस्मणीय, बन्दुकको नालबाट सत्ता कब्जा गर्ने, उथलपुथलकारी कदम थियो । यसले नेपाली समाजको वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक पक्षलाई, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवाल र वर्ग विश्लेषणलाई समेत हिजोको राजनीतिक भाष्यभन्दा नयाँ ढंगले परिभाषित ग¥यो । 

नेपालको ८० वर्षको राजनीतिक आन्दोलन, उथलपुथलको लामो शृंखला र विभिन्न रूपका संक्रमणबाट पेचिलो हुँदै अगाडि बढेको छ । नेपाली राजनीतिक आन्दोलनको धार नेपाली राजनीतिक इतिहासमा उठेका विभिन्न प्रकारका वर्गसंघर्षको समग्रतामा तत्कालीन नेपाली कांग्रेस र नेकपाले राणाशासनविरुद्ध गरेको सशस्त्र र शान्तिपूर्ण आन्दोलनका रूपमा अभिव्यक्त भयो ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना र त्यसले नेपाली राजनीति परिवर्तनमा गरेको योगदान, किसानलगायत देशका विभिन्न भागमा उठेका विभिन्न खालका वर्गसंघर्ष र विद्रोहले नेपाली जनताको राजनीतिक चेतनालाई तीव्र रूपमा विकास गरायो । विश्वव्यापी रूपमा उठेको पुँजीवादी र समाजवादी आन्दोलनको प्रभाव नेपालमा पर्नु स्वाभाविक नै थियो । त्यसैले नेपाली कांग्रेस पुँजीवादी भएर पनि प्रजातान्त्रिक समाजवादलाई आफ्नो आदर्श बनायो भने नेकपाले नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादलाई आफ्नो आदर्श बनायो ।

एकातिर भारतजस्तो पुँजीवादी देश, अर्काेतिर चीनजस्तो समाजवादी देशको राजनीतिक प्रभाव नेपालको राजनीतिक आन्दोलनले व्यहोर्दै आइरहेको छ । ००७ सालको आन्दोलन र यसको उपलब्धिलाई भारतको प्रभावको रूपमा पनि हेर्ने गरिन्छ । ०१७ सालको राजा महेन्द्रको प्रजातन्त्रमाथिको हस्तक्षेप (राजनीतिक कु)लाई चीनको बन्द समाजको प्रभावको रूपमा हेर्न सकिन्छ ।

निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध तत्कालीन नेकपा मालेले ०२८ सालमा गरेको झापा विद्रोह, कांग्रेसले गरेको सशस्त्र र विभिन्न प्रकारका आन्दोलन, ०३६ सालको जनआन्दोलन, ०४२/४३ को बम काण्ड र ०४६ सालमा उठेको संयुक्त जनआन्दोलनले नेपालको राजनीतिक परिवर्तनलाई संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्थामा परिवर्तन ग¥यो । तर, विदेशी शक्ति केन्द्रको आडमा राजतन्त्र, सामन्तवाद, एकात्मक राज्यसत्ता, वर्णाश्रम व्यवस्था, पितृसत्तावाद जबर्जस्त रूपमा कायमै थियो । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालका साथै वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय, धार्मिक उत्पीडनको अन्त्य गर्न तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ देखि जनयुद्धको ऐतिहासिक पहल भएको थियो ।

सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको हस्तक्षेपबाट नेपाललाई जोगाउँदै नेपाली क्रान्तिलाई नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म पुर्‍याउन गरिएको जनयुद्ध नेपाली मौलिकतासहितको जनयुद्ध थियो 

प्रत्येक पुस्ताको आफ्नो एजेन्डा हुन्छ । सामन्तवाद, विस्तारवाद र साम्राज्यवादको हस्तक्षेपबाट नेपाललाई जोगाउँदै नेपाली क्रान्तिलाई नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादसम्म पुर्‍याउन गरिएको जनयुद्ध नेपाली मौलिकतासहितको जनयुद्ध थियो । जनयुद्धको जगमा जनआन्दोलनको समायोजन गरी शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधानको निर्माण र सामन्तवादको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । संघीयता, गणतन्त्र, सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकलगायत उपलब्धि प्राप्त गर्नु नेपाली समाजको तत्कालीन पुस्ताको एजेन्डा थियो । अबको नेपालको आर्थिक समृद्धि समाजवादउन्मुख अर्थतन्त्र हुने दिशा–निर्देशन संविधानमै गर्न सफल हुनु यो न्यायपूर्ण आन्दोलनको महत्वपूर्ण उपलब्धि हो ।

नेपालको राजनीतिक विचारधारामा सामन्ती, हिन्दू वर्णाश्रम जाति व्यवस्थाबाट जकडिएको आध्यात्मवादलाई प्रगतिशील विचारधारा मालेमावादको आलोकमा पूर्वीय दर्शनको वैज्ञानिक पक्षलाई धर्म निरपेक्षताको आधारमा समृद्ध गर्ने र गतिशील बनाउने काम जनयुद्धले गर्न सफल भयो । यो विचारधारात्मक हिसाबले निकै ठूलो क्रान्ति हो । यसलाई थप समृद्ध गर्नु बाँकी राजनीतिक र समृद्धिको क्रान्तिलाई अरू देशसरह र त्योभन्दा अगाडि पुर्‍याउनु हो ।

वैचारिक रूपमा उत्तर आधुनिकतावादी घेराबन्दी, वैचारिक संक्रमण, न्यायको विचारधारात्मक विकासमा अवरुद्धता नेपालको मात्र होइन, विश्वकै वैचारिक चुनौती हो । जनयुद्धले यी विषयको पहिचान गर्दै विचारको रक्षा र थप विकास गर्दै वर्गीय समाजलाई मानव समाजमा रूपान्तरण गर्न थप टेवा पुर्‍याएको छ । नेपाली वर्गसंघर्षको भट्टीबाट संश्लेषित र अनुसन्धान भएको मौलिक विचारलाई नेपाल र विश्वको पुँजी बनाउनु माओवादीको दायित्व हो ।

नेपाली राजनीतिमा माओवादी आन्दोलन परिवर्तनको एउटा जबर्जस्त मनोविज्ञान बन्न पुगेको छ । आजको राजनीतिक परिवर्तनको संस्थागत पार्टी नै माओवादी हो । तर, परिवर्तनको संवाहक हुँदाहुँदै पनि राजनीतिक अस्थिरताको कारण माओवादीले बहुमतको सरकार तथा आर्थिक समृद्धिको आफ्नो एजेन्डालाई लाागू गर्ने अवसर कहिल्यै पाएन । सरकारमा गठबन्धनको रूपमा मात्र माओवादी सहभागी हुने तर वास्तविक सत्तामा दलाल पुँजीवाद हाबी हुनुले जनतामा माओवादीविरोधी भावना ह्वात्तै बढ्न पुग्यो । कम्युनिस्ट आन्दोलनको ७५ वर्षको त्याग र बलिदानाई प्रतिक्रियावादीले गोयबल्स शैलीमा प्रचार गर्ने अवसर पाए । यसैले आजको राजनीतिक परिवर्तन र माओवादी आन्दोलन गम्भीर संक्रमणबाट गुज्रिरहेको छ । 

आज पूर्वाधार विकास र परिवर्तनको हिसाबले नेपाली समाजमा ठूलो परिवर्तन आएको छ । यद्यपि हाम्रो गति अपुग नै छ । तर, आज देशी–विदेशी प्रतिक्रियावादी, कथित लोकप्रियतावादी, संशोधनवादी, दक्षिणपन्थी र संसदीय पार्टीसमेतले तीव्र घेराबन्दी गर्दै परिवर्तनकारी माओवादी शक्तिलाई जनताबाट कटाउने दुस्साहस गरिरहेका छन् । जसकारण, जनमुक्ति सेनाको समायोजन छिटो टुंगोमा नपुग्दा पार्टीमा परेको प्रभाव, टिआरसीलाई लम्ब्याउनु र त्यसकै आडमा जनयुद्धकालीन मुद्दा उल्ट्याएर माओवादी सिध्याउने रणनीति, जातीय पहिचान, सभ्यता र संस्कृतिसहितको राज्य र जातीयताको अपव्याख्या गरी माओवादीलाई कर्नरमा पार्न खोज्ने कार्य, माओवादी एक नहुँदाको परिणाम प्राप्त उपलब्धि र पार्टीले गरेका कामको श्रेय लिन नसक्नु, माओवादी सरकारमा रहँदा गरेको राष्ट्रिय महत्वका योजना (विपन्न महिला, दलित, आदिवासी र जनजाति, मधेशी, थारू, सीमान्तकृत, लोपोन्मुख, अल्पसंख्यक, मुस्लिम, अपांगता भएका व्यक्ति, द्वन्द्वपीडित तथा पिछडिएको क्षेत्रका व्यक्ति वा समुदाय, गरिब किसान, मजदुर, सुकुम्बासी वा साना व्यवसायी एवं युवाहरू तथा परम्परागत सीप भएका जातजातिलक्षित युवा स्वरोजगार कार्यक्रम) सही ढंगले कार्यान्वयन गर्न नसक्नु, माओवादी सरकारले काठमाडौंको सडक चौँडा पारेको, ०६५ सालमा तत्कालीन माओवादी सरकारले ल्याएको मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडाैं फास्ट ट्र्याक, गल्छी–स्याफ्रुबेसी–रसुवागढी सडक निर्माण, राजधानीका सडक या महेन्द्र राजमार्गदेखि दक्षिणका हुलाकी राजमार्गका ६–८ लेनका आकर्षक सडक विस्तार, लोडसेडिङको अन्त्य, विद्युत् उत्पादनमा तीव्रता, कृषि ऋण मिनाह, देशका विभिन्न भागमा सुरुङ मार्ग निर्माणलगायत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विकासको रणनीति निर्माण, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने श्रेय सबै माओवादीलाई जानुपर्ने हो । किनकि ती सबै योजनाको खाका कोर्नेदेखि योजनाको थालनी सम्पूर्ण माओवादी नेतृत्वको सरकारले गरेको थियो । 

सिद्धान्त र एजेन्डा जनताको तर व्यवहार र साथ दलाल पुँजीपति वर्गको रहनु, नयाँ शिक्षा नीति निर्माण गर्न नसक्नु, ऐतिहासिक जनयुद्ध र त्यसका उपलब्धिलाई पाठ्यसामग्रीमा समावेश गर्न नसक्नु, परिवर्तन लागि सहिदले गरेको त्याग, तपस्या, साहस, शौर्य र बलिदानलाई १७ हजारको भ्रम दिएर कथित प्रतिक्रियावादीहरूले निरन्तर भ्रम छर्नु तर प्रतिरक्षा नहुनुलगायत माओवादीका मुख्य कमजोरी रहन गए । उत्तर आधुनिकवादी विचारधारालाई आजको विश्वको विचारधारा बनाइँदै छ । वर्ग शून्यता, राजनीतिक शून्यताको नाममा खडा भएको उत्तरआधुनिकतावाद आजको वैचारिक चुनौती हो ।

यो विचारधाराले सबै पार्टीमा प्रभाव परेको छ । नयाँ पार्टीको पनि निर्माण हुँदै गएको छ । साझा विवेकशीलसहित नयाँको नाममा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो विचारको प्रतिनिधित्व गर्छ । राजनीतिमा निराशाको खेती गरेर समाजलाई भड्काउने र धमिलो पानीमा माछा मार्ने मनोविज्ञान नेपालजस्तो विपन्न र भ्रष्टाचारले गाँजेको तेस्रो विश्वमा केही समय मौलाउन पनि सक्छ ।

साम्राज्यवाले आफ्ना बहुराष्ट्रिय कम्पनी, वित्तीय संस्था र विभिन्न प्रकारका सम्झौतामार्फत प्राकृतिक स्रोत, उद्योग, श्रम र पुँजी अर्थात् अतिरिक्त मूल्य चुसेर खोक्रो पार्ने र नेपाललाई उनीहरूकै गोटी बनाउने प्रपञ्च रचिरहेका छन् । तिनले यहाँका शासक र पार्टी, सम्पूर्ण राज्य र कर्मचारी संयन्त्रलाई आफ्नो शक्ति, पहुँच, विज्ञान, प्रविधि र सञ्चारको दुरुपयोग गरेर आफ्नो असली एजेन्टमा रूपान्तरण गर्न खोजिरहेको छ । यो नेपाली राजनीतिको आजको टर्निङ पोइन्ट हो । यहीँनेरबाट नेपाली समाजको नयाँ ढंगले वर्ग विश्लेषण गर्न आवश्यक छ । हाम्रो चुनौती पुँजीवादले खडा गरेको वैचारिक संकटको सामना गर्नु हो । पुँजीवादले आफूलाई जोगाउन विचारको विकास गर्न सक्दैन, उसले त वैचारिक संकट (विचारमा अवरोध) मात्र पैदा गर्ने हो ।

यसको सामना गर्न विश्व सर्वहारा वर्गको विचारलाई झनै दृढतापूर्वक समाउन र विकास गर्नुपर्छ । माक्र्सवादभित्र रहेको सम्पूर्ण नकारात्मक पक्षलाई विश्व कम्युनिस्ट आन्दोलनको जिनबाट नै हटाइनुपर्छ । हाम्रो दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद नै हो । तर भूमण्डलीकृत नवउदारवादी दलाल पुँजीवादको पासोमा परेको हाम्रो राजनीति र अर्थतन्त्रलाई बदल्ने समाजवादी बाटो आजको युगको एजेन्डा हो । आन्तरिक पहिचानसहितको सुदृढ राष्ट्रिय एकता र राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचारमुक्त समृद्ध समाज नै नेपालको आजको राजनीतिक र आर्थिक एजेन्डा हो । 

कम्युनिस्टले अहिलेको पुँजीवादलाई बदल्न सक्नुपर्छ । आजको विश्व बहुधु्रवीय मात्र छैन, अन्तरसम्बन्धित र भूमण्डलीकृत पनि छ । यो उत्तरआधुनिकवाद, लोकप्रियतावाद र शून्यवादको मूल्य, मान्यता, संस्कृतिको माध्यमबाट मानव जाति र प्रकृतिमाथिको समग्र हस्तक्षेपसहितको शोषण हो । जसरी कोरना भाइरसले छिनभरमा रूप बदलिरहन्छ । मानव समाजमा पनि पुँजीवादले मान्छेलाई शोषण गर्न आफ्नो रूप बदलिरहन्छ । वर्गको नयाँ ढंगबाट परिभाषा र विश्लेषण गर्न आवश्यक छ । राष्ट्रियताको प्रश्नमा नयाँ परिभाषाको खाँचो छ । सीमाको सुरक्षा मात्र राष्ट्रियता होइन । प्रकृतिक स्रोतसाधनको रक्षा, मुख्यतः पानी र युरेनियमको रक्षा गर्नु आजको राष्ट्रियता हो । नेपाललाई अग्र्यानिक कृषि हब बनाएर आत्मनिर्भर बनाउनु, नेपालमा रहेका १४२ जात र उनीहरूको मौलिक सभ्यता, नेपालमा बोलिने १२४ मातृभाषा, संस्कृति र मौलिक उत्पादनलाई सुदृढ र विकास गर्नु आजको नेपालको राष्ट्रियता हो ।

सूचना प्रविधि, जेनोम र एआईले तयार पारेको पछिल्लो पुस्ता, जसलाई ‘जुमर्स’ अर्थात् जेड जेनेरेसन भनिन्छ । ऊ धेरै गतिशील नयाँको खोजी गर्ने तर तरल र अस्थिर छ । विचारको जगत्मा देखा परेको शून्यवाद, लोकप्रियतावाद र उत्तरआधुनिकतावाद आजका हाम्रा वैचारिक चुनौती हुन् । यसले माक्र्सवादलाई आक्रमण त गर्छ गर्छ, पुँजीवादको प्रगतिशील चरित्रलाई पनि जिउँदो रहन दिँदैन । यसले निराशा, आक्रोश, कुण्ठा र सामाजिक विघटन निम्त्याउँछ । 
(गोतामे बागमती प्रदेश सभा सदस्य हुन्)