
काठमाडौं उपत्यकाको वायु प्रदूषण अझै घट्न सकेको छैन । काठमाडौं उपत्यकासहित विभिन्न उपत्यका र तराईका आकाशमा लगातार तुवाँलोले ढाकिरहेका वेला डढेलोसमेत फैलिएपछि प्रदूषण बढेको हो ।
वातावरण विभागको प्रदूषण मापन स्टेसनमध्ये उपलब्ध १२ को तथ्यांकअनुसार मंगलबार राति कुनै पनि स्टेसनमा हावा स्वच्छ छैन । काठमाडौंको रत्नपार्क स्टेसन क्षेत्रमा सबैभन्दा खराब हावा देखिन्छ । त्यहाँको हावामा पार्टिकुलेट म्याटर (पिएम) २.५ भनिने आँखाले देख्न नसकिने र रौँभन्दा पनि साना धुलोका कण प्रतिघनमिटर २२३ पुगेको छ ।
सबैभन्दा कम पोखरामा रहे पनि त्यहाँ सयसम्म पुगेको छ । यो सूचकांक एक सय ५० देखि दुई सय पुगेमा सबै समूहका लागि अस्वस्थकर र दुई सयभन्दा बढी भएमा जनस्वास्थ्य संकटकालको अवस्था मानिन्छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौंको प्रदूषण तत्काल घट्ने सम्भावना देखिँदैन । ‘तुवाँलोमा डढेलोको धुँवा मिसिएको छ,’ उनले भने, ‘ठूलो हावाहुरी चल्ने वा राम्रोसँग पानी पर्ने देखिँदैन ।’
यद्यपि, मंगलबार साँझबाट वीरगन्ज, बर्दीबास क्षेत्रमा बादल लाग्नुका साथै पहाडी भूभागमा हल्का हावा चलेको छ । पश्चिमबाट केही हावा चले पनि ठूलो वर्षाको सम्भावना देखिँदैन ।
वायु गुणस्तरको सूचकांकको विश्लेषण गर्ने ‘एक्युआइसिएन’को वेबसाइटमा त काठमाडौं वायु प्रदूषणको हिसाबले शीर्ष दोस्रो सहरमा छ । पहिलो सेनेगलको डकर सहर छ भने तेस्रोमा बंगलादेशको ढाका रहेको छ ।