१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 02 June, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o६:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गरेका ६ नेपाली बाटैमा अस्ताए

Read Time : > 1 मिनेट
Invalid date format o६:११:oo

भारतमा मजदुरी गरेर नयाँ वर्ष मनाउन घर फर्किँदै गर्दा सवार जिप उत्तराखण्डको नैनीताल बेतालघाटमा दुर्घटना हुँदा एउटै वडाका पाँचसहित ६ नेपालीको ज्यान गएको छ । पाँच मृतक बाँकेको बैजनाथ गाउँपालिका– ८ फत्तेनगर र हसनापुरका हुन् भने एकजना बर्दियाका हुन् । जिपमा रहेका अर्का एक नेपालीको अवस्था अज्ञात छ ।

घटनास्थलदेखि झन्डै १८ किलोमिटर पूर्व मल्लागाउँ उचाकोटमा खानेपानी आयोजनाको पाइप बिछ्याउने काम सकेर घर फर्किन लागेका नेपालीले बुकिङ गरेको युके ०४ सिसी ०४९५ नम्बरको जिप सोमबार मध्यराति दुर्घटनामा परेको बेतालघाट थाना इन्चार्ज अनिश अहमतले बताए । 

दुर्घटनामा बैजनाथ– ८ फत्तेनगरका उदयराम चौधरी, ५० वर्षीय अन्तराम चौधरी, ५० वर्षीय विनोद चौधरी, ४५ वर्षीय धीरज चौधरी र हसनापुरका ५२ वर्षीय तिलकराम चौधरीको ज्यान गएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । त्यस्तै, बर्दियाको बाँसगढी नगरपालिका– १, बबई चेपाङका ६० वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परेका फत्तेनगरकै विश्राम थारूको अवस्था भने अज्ञात छ । ‘एउटै वडाका पाँचजनाको मृत्यु र एक बेपत्ताको खबरले गाउँ शोकमा डुबेको छ,’ स्थानीय प्रेम खत्रीले भने । 

पति गुमाइन्, आफू घाइते भइन् शान्ति
फत्तेपुरका धीरज चौधरी र उनकी पत्नी शान्ति सँगै घर फर्किँदै थिए । दुर्घटनामा शान्तिले श्रीमान् गुमाइन् । उनी घाइते भएकी छिन् । ‘मेरो पति धीरज र म सँगै बसेका थियौँ । हामी बसेको गाडी एक्कासि भिरबाट खस्यो,’ शान्तिलाई उद्धृत गर्दै भारतीय प्रहरीले भन्यो, ‘म बाँचेँ, तर सँगै बसेका पतिलाई गुमाउनुपर्‍यो ।’ शान्ति चौधरी र अर्का घाइते दशरथ चौधरीको तिवारी राजकीय अस्पताल हलद्वानीमा उपचार भइरहेको छ । अन्य मृतकको शव पोस्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ । 

श्रीमान् घर पुगेनन्, मृत्युको खबर आयो
हसनापुरका तिलकराम १७ पुसमा मजदुरी गर्न नैनीताल गएका थिए । होलीताका फोनमा कुरा गर्दा उनले नयाँ वर्ष मनाउन घर आउन लागेको पनि बताएका थिए । ‘घर आएर सबै व्यवहार मिलाउँला भन्नुभएको थियो । घर नपुग्दै दुर्घटनामा ज्यान गुमाएको खबर आएको छ,’ तिलकरामकी पत्नी शान्तिदेवी थापा चौधरीले भनिन् । उनका अनुसार दुर्घटनामा परेकाहरू गत पुसमा एकसाथ नैनीताल गएकाहरू हुन् । घटनाको खबर पाएलगत्तै परिवारका सदस्य र आफन्त नैनीताल गएका छन् ।