१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा दल तथा उम्मेदवारको दैनिक रूपमा खर्च विवरण लिन निर्देशन

इलाम र बझाङमा दुई दिन विद्यालय बन्द गर्ने, १३ दिन मदिरा विक्री तथा सेवनमा रोक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:२o:oo

निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा दल तथा उम्मेदवारको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ।

इलाम- २ र बझाङ प्रदेश- १ ख मा १५ वैशाखमा हुने उपनिर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुँदै छ। आचारसंहिता कार्यान्वयन गराउन आयोगमा मंगलबार गृह र रक्षा मन्त्रालयका पदाधिकारी, सेनाका जर्नेल, प्रहरी र सशस्त्रका आइजिपी, गुप्तचर प्रमुखसहित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको थियो।

समितिको सिफारिसका आधारमा आयोगले मंगलबार इलाम र बझाङ जिल्ला आचारसंहिता अनुगमन समितिलाई खर्चको सूक्ष्म निगरानी गर्न निर्देशन दिएको हो। यसका लागि सुरक्षा निकायदेखि जुनसुकै व्यक्तिमार्फत सूचना लिन भनिएको छ।

जसमा दल तथा उम्मेदवारको खर्चसम्बन्धी दैनिक विवरण लिने, सीमाभन्दा बढी खर्च गरे तत्काल कारबाही गर्ने, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषयको दैनिक विवरण लिने, आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारबाही प्रारम्भ गर्ने भनिएको छ।

यसैगरी संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचारप्रसार कार्यमा संलग्न भएको पाइएमा आवश्यक जाँचबुझ गरी निर्वाचन आचारसंहिता, २०७९ तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम कारबाही प्रारम्भ गर्न निर्देशन गरिएको छ। यी विषयमा कुनै द्विविधा भएमा यथाशक्य छिटो प्राप्त हुने गरी आयोगमा सिफारिस गरी पठाउन भनिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले निर्वाचनमा शान्तिसुरक्षा कायम गर्न २ वैशाखदेखि मतगणना सम्पन्न नभएसम्म उपनिर्वाचन हुने जिल्लाभित्र मदिराजन्य पदार्थ बिक्री-वितरण तथा सेवनलाई नियन्त्रण गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन गरेको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीलाई निर्देशन गरिएको छ।

उपनिर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न १३ देखि १५ वैशाखसम्म तीन दिनका लागि इलाम- २ र बझाङ प्रदेश १ का मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले १३ र १४ गते ती विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ। मतदानको दिन १५ गते शनिबार भएकाले आयोगले दुई दिन विद्यालयमा सार्वजनिक बिदा दिनुपर्ने निर्णय गरेको हो।

मतदानको दिन उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमार्फत जिल्ला सुरक्षा समितिलाई निर्देशन गरेको छ। आयोगले निर्वाचनका क्रियाकलापहरूमा परिचालन हुने कर्मचारी र सुरक्षाकर्मीहरूबाट सम्पूर्ण उम्मेदवारहरू र राजनीतिक दलहरूप्रति समान व्यवहार गरी निर्वाचनसम्बन्धी कार्यसम्पादनमा समान अवसर प्रदान हुने गरी सतर्कता अपनाउन पनि निर्देशन दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले इलाम र बझाङ जिल्लाको वर्तमान सुरक्षा व्यवस्था र उपनिर्वाचनको हालसम्मको तयारीको समीक्षा गरेको थियो।

ad
ad