पदाधिकारीमा टिना सुवेदीको प्यानल नै निर्वाचित
प्रतिस्पर्धी टिना सुवेदीलाई ३४ मतले पछि पार्दै नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनबाट अध्यानन्द पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्षमा पाण्डेले तीन सय ७७ मतका साथ विजयी भए भने उनका प्रतिस्पर्धी सुवेदीले तीन सय ४३ मत ल्याइन् ।
निवर्तमान उपाध्यक्ष टिना सुवेदी र निवर्तमान सचिव अध्यानन्द पाण्डेबीच नेतृत्वका लागि प्रतिस्पर्धा भएको थियो । दुवैजना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए । जहाँ अध्यक्षबाहेक सम्पूर्ण पदाधिकारीमा भने सुवेदीको प्यानल नै निर्वाचित भएको छ ।
उपाध्यक्षमा तीन सय ६४ मतका साथ भुलन चौधरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नारायण गौतमले तीन सय ४० मत ल्याएका छन् । सचिवमा तीन सय ६३ मतका साथ अमृत शर्मा बजगाईं विजयी भए भने उनका प्रतिस्पर्धी एम समिउल्लाहले तीन सय २७ मत पाएका छन् ।
उपसचिवमा जवाहिर अन्सारी तीन सय ५७ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी धनिराम चौधरीले तीन सय ४१ मत ल्याएका छन् । महिला उपसचिवमा भावना आचार्य तीन सय ६८ मतका साथ विजयी भएकी छिन् भने कमला घिमिरेले तीन सय २५ मत ल्याएकी छन् ।
नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको थियो । चैत १९ बाट सुरु भएको नेकपा एमालेको ११औँ बारा जिल्ला अधिवेशनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि २३ गते शुक्रबार रातिभरि मतदान भएको थियो ।