लुम्बिनीमा शनिबार अन्तर्राष्ट्रिय शान्ति म्याराथन २०२४ सम्पन्न भएको छ। ४२.१९ किलोमिटरको फुल म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन सम्पन्न भएको हो।
नेपाल ओलम्पिक कमिटी, लुम्बिनी खेलकुद परिषद्, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र नेपालस्थित चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो।
परराष्ट्र्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका प्रतियोगिताको उपाधि गण्डकीका तीर्थ पुनले जितेका छन्। ४२.१९ किलोमिटरको दूरी पुनले २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे। उनले मेडल तथा सिल्डसहित पाँच लाख रुपैयाँ नगद हात पारेका छन्।
त्यस्तै, नेपाल आर्माीका खड्गबहादुर खड्काले २ घण्टा २१ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान बनाए। तेस्रो भएका कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४० सेकेन्डमा दूरी पूरा गरे। दोस्रो हुने खड्काले ३ लाख र तेस्रो हुने बुढाले २ लाख नगद प्राप्त गरेका छन्।
यता, महिलातर्फको हाफ म्याराथनमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले उपाधि जितेकी छिन्। उनले २१ किलोमिटरको दूरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गरिन्। एक घण्टा १९ मिनेट २१ सेकेन्डमा दूरी पार्दै नेपाल आर्मीकी पूर्ण राज्यलक्ष्मी न्यौपाने दोस्रो र सशस्त्र प्रहरीकी पुष्पा भण्डारी १ घण्टा २५ मिनेट १४ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए। प्रथम, द्वितीय र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ६० हजार र १ लाख २० हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।
लुम्बिनी अन्तराष्ट्रिय शान्ति दौडअन्तर्गत ५ किलोमिटर महिला तथा पुरुष खुला दौड प्रतियोगिता र स्कुलअन्तर्गतको महिला तथा पुरुषहरूको प्रतियोगिता गराइएको थियो। बौद्धकालीन खेलअन्तर्गत कुस्ती र आर्चरीको प्रदर्शन गरिएको थियो।
लुम्बिनीबाट सुरु भएको म्याराथन लुम्बिनीपरिसरको परिक्रमा गर्दै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट फर्किएर पुनः लुम्बिनी स्क्वायर आएर टुंगिएको थियो। यो रुटले यही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय मान्यतासमेत पाएको छ।