१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागलुङमा चैत ३० देखि चैत्राष्टमी मेला

तीन लाख राशीको भलिबल प्रतियोगिता हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२३:oo

चैतेदसैँको अवसरमा बागलुङमा हुने ‘चैत्राष्टमी मेला–२०८०’ आउँदो चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म हुने भएको छ। आयोजक संस्था कालिका भगवती गुठी व्यवस्थापन समिति, बागलुङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी दिएको छ।

समितिले चैतेदसैँको अवसरमा हरेक वर्ष बागलुङको कालिका भगवती मन्दिरपरिसरमा यस्तो मेला गर्दै आएको छ। यसलाई बागलुङको पहिचान बोकेको ऐतिहासिक मेलाको रूपमा लिइन्छ। यो वर्षको मेलाको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिसकिएको छ। मेलाको मुख्य प्रायोजक भने ग्लोबल आइएमई बैंक रहेको छ।

‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रवर्द्धन, स्थानीय उत्पादन, व्यापार र प्रवर्द्धन’ भन्ने नारासहित मेला गर्न लागिएको हो। मेलाका कारण डालो, नाङ्लो, खुकुरीजस्ता स्थानीय उत्पादनको बजार प्रवर्द्धनमा सहयोग पुग्ने समितिका अध्यक्ष कुमार खड्काले बताए। ‘यसका अलावा मेलाले बागलुङको पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ उनले भने।

यस्तै, समितिका सल्लाकारसमेत रहेका कलाकार लक्ष्मण श्रीले मेलाका कारण स्थानीय कला, संस्कृति र परम्पराको जर्गेना गर्ने बताए। बागलुङको पर्यटन प्रवर्द्धनमा पनि मेलाले सहयोग पुग्ने उनको भनाइ छ।

पत्रकार सम्मेलनमा कलाकारहरू थानेश्वर गौतम, जुना श्रीस, राजेश बर्देवा, सुवास केसी तथा पत्रकार राजु सुवेदीले मेलाको सफलताका लागि शुभकामना दिएका थिए।

मेलामा पुरुष भलिबल, लोकदोहोरी, छेलो फाल्नेलगायतका प्रतियोगिता हुनेछन्। भलिबल प्रतियोगितामा प्रथम पुरस्कार तीन लाख, द्वितीय पुरस्कार एक लाख ५० हजार र तृतीय पुरस्कार एक लाख रुपैयाँ तोकिएको छ। हालसम्म भलिबल प्रतियोगितामा १५ समूहले सहभागी हुन नाम दर्ता गरेका छन्।

यसैगरी, दोहोरी गीत प्रतियोगितामा प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ। दोहोरी प्रतियोगितातर्फको पुरस्कार नेपालमा हालसम्मकै उच्च रहेको आयोजकको दाबी छ। यसमा हालसम्म ३३ समूह दर्ता भएका छन्।

छेलो फाल्नेतर्फ प्रथम पुरस्कार ११ हजार एक सय ११ रुपैयाँ र द्वियीय पुरस्कार पाँच हजार पाँच सय ५५ तोकिएको छ। मेलामा खुला माविस्तरीय नृत्य प्रतियोगिता पनि हुनेछ। जसमा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार पाँच हजार र सान्त्वता दुई हजार रुपैयाँ प्रदान गरिनेछ।

यसका अलावा स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसमेत मेलामा हुनेछ। सात दिनसम्म सञ्चालन हुने मेलामा दर्शकहरू निःशुल्क प्रवेश गर्न सक्नेछन्। झन्डै ६० लाख रुपैयाँबराबरको खर्चमा यो मेला गर्न लागिएको हो।

ad
ad