१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइईमा चिट चोराउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२२:oo

एसइई परीक्षामा विद्यार्थीलाई चिट चोर्न लगाउने प्रधानाध्यापक र परीक्षा निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार उनीहरूलाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारीअनुसार उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएपमा एसइई ग्रुप बनाएर परीक्षामा आएका प्रश्नपत्रहरू तथा सोको उत्तरसमेतको विषयवस्तुहरू ह्वाट्सएपलगायतका विभिन्न सामाजिक सञ्जालमा आदान–प्रदान गरी प्रश्नपत्रको गोपनीयता भ‌ंग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।

त्यस्तै, आफू परीक्षा निरीक्षकको रूपमा खटी स्वयं आफैँले चिट चोर्न लगाउनेलगायतको कार्य गरी परीक्षाको मर्यादा भंग गरेको भन्दै प्रहरीले राजदेवी नगरपालिका– १ बस्ने श्री मावि पथराका प्रधानाध्यापक ४५ वर्षीय उतिचन्द्र यादवलाई पक्राउ गरेको छ। 

त्यस्तै, परीक्षा निरीक्षकको रूपमा खटेर चिट चोराउने श्री सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा परीक्षा निरीक्षकको रूपमा खटिएका २२ वर्षीय ललन राय यादव, श्री पथरा बुधराम परीक्षा केन्द्रमा खटिएका ४८ वर्षीय रामअमोदप्रसाद यादव र  श्री शंकर मावि सरमुज्वा परीक्षा केन्द्रमा खटिएका ४४ वर्षीय अबधलाल राम र २५ वर्षीय राकेशकुमार यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

उता, श्री सरस्वती मावि पिपरा परीक्षा केन्द्रमा अनधिकृत रूपमा परीक्षा केन्द्रमा प्रवेश गरी चिट चोराएको आरोपमा प्रहरीले राजपुर नगरपालिका– १ बस्ने ३१ वर्षीय रामसोगारथ साहलाई पक्राउ गरेको छ। सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक एलिजा गिरीका अनुसार उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को उपदफा १(क) अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य भइरहेको छ।

त्यस्तै, मंगलबार परीक्षामा अमर्यादित कार्य गरेको अभियोगमा १२ जना पक्राउ परेका थिए। मंगलबार रौतहट जिल्लाको मौलापुर नगरपालिकाअन्तर्गत प्राथमिक विद्यालय गम्हरियामा कार्यरत शिक्षक रामअमोदप्रसाद यादवलाई परीक्षा अनुगमन टोलीले मोबाइलमार्फत चिट चोरी गराउँदै गरेको अवस्थामा पक्राउ गरेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका प्रमुख रामविनय सिंहले जानकारी दिए।

हाल सञ्चालन भइरहेको एसइई परीक्षालाई मर्यादित बनाउने उद्देश्यले नियमित रूपमा परीक्षा अनुगमनको क्रममा अनुगमन टोलीले विभिन्न ३१ परीक्षा केन्द्रबाट अहिले एक हजार सात सय थान मोबाइल जफत गरिएको जिल्लास्तरीय परीक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले  जानकारी दिए।

परीक्षा हलमा चेकजाँच गर्ने क्रममा जफत गरिएको मोबाइल तथा चिट चोराउने कार्य गर्ने आरोपमा पक्राउ परेकामाथि थप अनुसन्धान गरी कानुनी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।