Skip This
प्रहरी जागिरमा युवाको आकर्षण घट्दो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o चैत २१ बुधबार १o:४१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रहरी जागिरमा युवाको आकर्षण घट्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार १o:४१:oo

प्रहरी जागिरमा युवाको आकर्षण क्रमशः घट्दै गएको छ । यस वर्ष प्रहरी जवानको भर्नामा तुलनात्मक रूपमा न्यून आवेदन परेको छ । एक हजार आठ सय ५६ प्रहरी जवान माग भएकामा यस वर्ष ४७ हजार पाँच सय ९५ आवेदन परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ०७८ मा प्रहरी जवानमा ६३ हजार चार सय ७९ तथा ०७७ मा ९३ हजार एक सय ४५ आवेदन थियो । ०७९ मा भर्नाको विज्ञापन नै भएको थिएन । समग्र सुरक्षा निकायको भर्नामा पछिल्लो वर्ष क्रमशः आकर्षण घट्दै गएको देखिएको छ । प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल यसमा विभिन्न कारण हुन सक्ने तर्क गर्छन् । 

यो समग्र देशकै समस्या भएको उनको टिप्पणी छ । ‘अहिले नयाँ पुस्तामा विदेश जाने ट्रेन्ड बढेको छ,’ उनले भने, ‘कलेजहरूमै विद्यार्थी घटेका छन्, त्यसकारण प्रहरीमा आवेदन घट्नु स्वाभाविक हो ।’ प्रहरी सेवामा आकर्षण बढाउन प्रहरी संगठनले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । संख्या घट्दा पनि आवेदन २५ गुणा धेरै रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । प्रहरी सेवामा आकर्षण घटेको विषयमा तीन वर्षअघि प्रहरी प्रधान कार्यालयले अध्ययनसमेत गरेको थियो । जसमा न्यून सेवा–सुविधा मुख्य कारण देखिएको थियो । 

यसका साथै अन्य क्षेत्रमा धेरै अवसर र सहज काम भएकाले पनि प्रहरी सेवा रोज्ने युवा वर्ग घट्दै गएको प्रहरी अधिकारीहरूको भनाइ छ । प्रहरीमा पछिल्लो समय राष्ट्रसंघीय शान्ति मिसनको अवसर पनि लगभग बन्द भएकाले सेवाप्रति आकर्षण कम हुँदै गएको आकलन गरिएको छ । सोही कारण पेन्सन अवधि नै नपुगी जागिरबाट राजीनामा दिएर अन्यत्र लाग्ने प्रवृत्तिसमेत बढेको छ । 

एकातर्फ भर्नामा आकर्षण घट्ने र अर्काेतर्फ बीचमै जागिर छाड्ने प्रवृत्तिले सुरक्षा निकायमा दूरगामी असर पार्न सक्ने प्रहरी अधिकारीको चिन्ता छ । सुरक्षा निकायमा आवेदन घटे पनि निजामती प्रशासनलगायत अन्य निकायको भर्नामा भने अझै उच्च आवेदन पर्ने गरेको छ ।