Skip This
वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत २१ बुधबार
  • Saturday, 27 July, 2024
सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र कार्यालयमा एनओसी लिन लाइन लागेका विद्यार्थी । फाइल तस्बिर
शिवहरि घिमिरे काठमाडाैं
२o८o चैत २१ बुधबार o६:१२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वैदेशिक अध्ययनमा सात महिनामा बाहिरियो ६६ अर्ब ६४ करोड

गत आवको सोही अवधिभन्दा २२ अर्ब ९० करोड अर्थात ५२.३ प्रतिशत बढी बाहिरियो

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o चैत २१ बुधबार o६:१२:oo

वैदेशिक अध्ययनमा जाने विद्यार्थीबाट पछिल्लो सात महिनामै ६६ अर्ब ६४ करोड रकम बाहिरिएको छ । चालू आवको माघ मसान्तसम्म गत वर्षको भन्दा २२ अर्ब ९० करोड बढी रकम बाहिरिएको छ । यो तथ्यांक गत वर्षको सोही अवधिको भन्दा ५२.३ प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म ६९ हजार तीन सयले एनओसी लिएका छन् । गत वर्ष (०७९) माघ मसान्तसम्म ५१ हजार ८१६ जना विद्यार्थीले एनओसी लिएका थिए । विद्यार्थी संख्या बढेसँगै वैदेशिक अध्ययनका लागि बाहिरिने रकम पनि बढेको हो । 

राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार गत वर्षभन्दा यस वर्ष विदेश जाने विद्यार्थीको संख्या बढी छ । सोही कारण बिदेसिने मुद्रा पनि बढेको हो । ‘गत वर्षको सात महिना र चालू आवको सात महिनासम्मको तथ्यांकलाई तुलना गर्दा ५२.३ प्रतिशत बढी रकम बाहिरिएको छ । यो वर्ष धेरै रकम बाहिरिने अनुमान छ,’ उनले भने । 

प्रतिमहिना ९–१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैंकको आकलन

उनले अध्ययनका लागि विदेश गएका विद्यार्थीबाट सुरुको समयमा मुद्रा बाहिरिए पनि सो मुद्रा रेमिटरयान्सको माध्यम हुँदै फिर्तासमेत हुने गरेको बताए । विद्यार्थीले पढ्दै कमाउँदै गरेको पैसा रेमिट्यान्समार्फत पठाउने भएकोले बिदेसिएको रकमले खासै अर्थ नराख्ने सहप्रवक्ता डा. पोख्रेलको भनाइ छ । ‘विश्वव्यापीकरणको यो समयमा मुद्रा र जनशक्ति बिदेसिनु ठूलो विषय होइन, तर रेमिट्यान्स पनि बढ्नुपर्‍यो,’ उनले भने । 

पछिल्लो फागुनभरि र चैत्र महिनाको १५ गतेसम्म कति रकम बाहिरियो भन्ने तथ्यांक राष्ट्र बैंकले अझै तयार पारेको छैन । तर, औसतमा हेर्दा प्रतिमहिना ९/१० अर्ब रकम विद्यार्थीबाट बाहिरिने गरेको राष्ट्र बैंकको आकलन छ । राष्ट्र बैंकले अध्ययनमा गएका विद्यार्थीबाट फागुनमा कति मुद्रा बाहिरियो भन्ने तथ्यांक केही दिनमै सार्वजनिक गर्ने सहप्रवक्ता डा. पोख्रेलले बताए । 
दुई साताअघिसम्म एनओसी कार्यालयका सेवाग्राहीको अत्यधिक भिडभाड थियो । समयमै एनओसी लिन नपाएपछि विद्यार्थी तनावमा हुन्थे । तर, एक सातायता भने कार्यालयको सेवा प्रवाहमा सुधार आएको छ । 

 मध्यचैतसम्म ८५ हजारले लिए एनओसी  
वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष बिदेसिने विद्यार्थीको संख्या पनि धेरै हुने अनुमान छ । गत आर्थिक वर्षमा एक लाख १० हजार विद्यार्थी बिदेसिएका थिए । चालू आर्थिक वर्षको १४ चैतसम्म ८५ हजार पाँच सय विद्यार्थीले एनओसी लिएका छन् । 

चालू आर्थिक वर्षको अझै साढे तीन महिना अवधि बाँकी रहेकाले गत वर्षभन्दा यस आर्थिक वर्षमा बढीले एनओसी लिने एनओसी कार्यालयको अनुमान छ । कार्यालयका प्रमुख वासुदेव वस्तीका अनुसार यस आर्थिक वर्षमा सबैभन्दा बढी विद्यार्थी जापान गएका छन् ।

जहाँका लागि ३५ हजार विद्यार्थीले एनओसी लिएका छन् । त्यसपछि अस्ट्रेलिया, क्यानडा, युएसएलगायत देशका लागि एनओसी लिने विद्यार्थीको संख्या बढी देखिन्छ । ‘गत वर्षको भन्दा यस वर्ष एनओसी लिनेको संख्या बढी हुने देखिन्छ,’ कार्यालय प्रमुख वस्तीले भने, ‘यस वर्ष जापान जाने विद्यार्थीको संख्या अत्यधिक छ ।’