चन्दननाथ गाविसबाट नगरपालिकामा परिणत भएको करिब एक दशक पुग्यो। आर्थिक वर्ष ०७१/७२ सालदेखि गाविसबाट चन्दननाथ नगरपालिकामा परिणत भएको हो। त्यतिवेला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल थिए। त्यो वेलादेखि नै नगरपालिकाको फोहोर व्यवस्थापनका लागि छलफल हुने गरेको थियो।
स्थायी डम्पिङसाइटका विषयमा छलफल नभएको होइन। तर, नगरपालिका स्थापना भएको करिब एक दशक बित्न लाग्दा पनि अहिलेसम्म त्यही स्थायी डम्पिङसाइट र फोहोर व्यवस्थापनको कुरा हुने गरेको छ।
संघीय संरचनाअघिदेखि नै तत्कालीन सरकारले महत, चन्दनाथ, कार्तिकस्वामी र तलिउम गाविसलाई गाभेर चन्दननाथ नगरपालिका बनाएको थियो।
०७४ को स्थानीय तहको चुनावमा नगरपालिकामा कान्तिका सेजुवाल नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा निर्वाचित भइन्। अहिले उनी प्रतिनिधिसभा सांसद छिन्। उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट अप्सरादेवी न्यौपाने महत निर्वाचित भइन्। यस्तै, १० वटा वडामा वडाध्यक्ष पनि आए।
पाँच वर्षको पहिलो कार्य अवधि पाएका चन्दननाथका जनप्रतिनिधिले धेरै विकास निर्माणका काम गरेको दाबी गर्ने गरेका छन्। तर, उनीहरू नगरपालिकाको फोहोर व्यवस्थापन नै नगरी बिदा भए। फोहोर व्यवस्थापनमा जनप्रतिनिधिदेखि त्यतिवेलाका कर्मचारी असफल नै भए।
उनीहरूको कार्यकालमा फोहोर व्यवस्थापनका लागि चन्दननाथ नगरपालिका– ५ रिठेगुणी र २ नम्बर वडाको भण्डारीवाडा गाउँमाथिको जंगल दुनैदुनामा अस्थायी डम्पिङसाइट बनाए। रिठेगुणीको डम्पिङसाइट त्यतिवेला उनीहरूकै कार्यकालमा बन्द भइसकेको थियो। दुनैदुनामा भने फोहोर फाल्दै आए पनि एक महिनादेखि त्यहाँका नागरिकले फोहोर फाल्न दिएका छैनन्।
आर्थिक वर्ष ०७१/७२ देखि चालू आर्थिक वर्ष ०८०/८१ सम्म नगरपालिकामा १२ जना प्रमुख प्रशासकीय अधिकृत भए। संघीयतापछि ०७४ मा पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएपछि नगरपालिका प्रमुख राजसिंह कठायत र उपप्रमुख रामदेवि खड्का दोस्रो स्थानीय तह ०७९ मा निर्वाचित भए पनि कार्यकालको करिब दुई वर्ष बित्दै छ। वडाध्यक्षसहित अन्य जनप्रतिनिधि पनि छन्। तर, उनीहरूले पनि नगरपालिकाको अहिलेसम्म स्थायी डम्पिङसाइटको व्यवस्थापन गर्न सकेका छैनन्।
नगरपालिकाभित्रका साना–ठूला बजार क्षेत्रमा जताततै फोहोर छ। दुर्गन्ध फैलिएको छ। नगरपालिकाले दैनिक बजारको फोहोर उठानुपर्ने हो। तर, फोहोर उठाएको छैन। फोहोर व्यवस्थापन हुन सकेको छैन। फोहोर व्यवस्थापन नभएको भन्दै नागरिकले गुनासो गर्ने गरेका छन्। शुल्क लैजाऊ, फोहोर उठाऊ भन्दा पनि नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसकेको व्यापारीले गुनासो गर्ने गरेका छन्।
यहाँको सदरमुकाम खलंगा अर्थात् चन्दननाथ नगरपालिकामा चैत २२ देखि वैशाख १ गतेसम्म राष्ट्रिय स्तरका कार्यक्रम हुँदै छन्। दुर्गा प्रसाईंदेखि पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला आउने कार्यक्रम राखिएका छन्। यस्तै, विदेशीसहित नेपाली धावक खेलाडी सहभागी हुने जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता ०८१ वैशाख १ गते मुकाम खलंगा नगरपालिकामा हुँदै छ। तर, नगरपालिकाभर जताततै फोहाेरैफोहोर छ।
फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइट नहुदा फोहोर उठाएर पनि कहाँ फाल्ने नगरपालिका सरसफाइकर्मी अक्कनबक्क भएका छन्। नगरपालिकामा फोहोर उठाउने सरसफाइकर्मी कर्मचारी, गाडीघोडा सबै छन् तर, फोहोर फाल्ने डम्पिङसाइट छैन।
नगरको चुनौती भनेकै खलंगाको फोहोर व्यवस्थापन हो। यही फोहोर व्यवस्थापन नहुँदा जनप्रतिनिधिदेखि कर्मचारी असफल भएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ। उनकाे भनाइअनुसार खलंगा बजारभरि जताततै फोहोर नै फोहोर देखिन्छ। नगरपालिकाको फोहोर उठाउन राष्ट्रिय दिवस, मेला पर्व कुर्नुपर्छ।
चन्दननाथमा दैनिक करिब ४० क्विन्टल फोहोर निस्किन्छ। स्थानीयले दुनादुनैमा फाल्न नदिएपछि तत्कालका लागि फोहोर सम्बन्धित वडामै व्यवस्थापन गरिने र बजार क्षेत्रको फोहोर राजासिममा फाल्ने व्यवस्थापन गरिएको छ। यो पनि दीर्घकालीन स्थायी प्रकृतिकाे डम्पिङसाइट होइन। स्थायी डम्पिङसाइट नहुँदासम्म फोहोर व्यवस्थापनमा चुनौती नै देखिएको छ।
‘दुनादुनैमा अस्थायी डम्पिङसाइट थियो। त्यही नगर क्षेत्रको फोहोर उठाएर त्यही फाल्ने गरेका थियौँ। तर, त्यहाँका स्थानीयले एक महिनादेखि फोहोर फाल्न नदिएकाले अहिले निकै समस्या भएको छ,’ सरसफाइ व्यवस्थापन शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले भने, ‘स्थायी डम्पिङसाइटको व्यवस्थापन नहुँदासम्म यस्तो समस्या हुँदै जाने देखिन्छ। अहिले सम्बन्धित वडा र बजार क्षेत्रको राजासिममा फोहोर फाल्ने अस्थायी व्यवस्थापन भएको छ।’