१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार १o:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

एमेच्योर सदभावलाई उपाधि

एमेच्योर सदभाव आचार्यले प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले पछि पार्दै उपाधि हात पारे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:o५:oo

प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौँ सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । प्रतियोगिताको बिहीबार अन्तिम दिन तीन अन्डर ६९ को स्कोरसहित समग्रमा १४ अन्डर दुई सय ७४ स्कोरमा सदभावले उपाधि हात पारेका हुन् ।

उनले यस सिजनमा टुरको प्रोफेसनल र एमेच्योरतर्फका उपाधि आफ्नो नाममा लेखाएका छन् । यस सिजन उनको यो दोस्रो उपाधि हो । यसअघि उनले सूर्य नेपाल सेन्ट्रल ओपन र गत सिजन सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका थिए ।अन्तिम १८ होलको सुरुमा भुवन र सदभावबीच कडा प्रतिस्पर्धा हुने अनुमान थियो ।

भुवनले तीन ओभर ७५ स्कोरको खराब प्रदर्शन गरे । उनी समग्रमा सात अन्डर दुई सय ८१ स्कोरसहित दोस्रो भए । प्रोफेसनलतर्फ उनी पहिलो हुँदै एक लाख ४० हजार रुपैयाँ हात पारे । एमेच्योर खेलाडीको दबदबा राख्ने क्रममा विजय श्रेष्ठ आइन्हाउस र प्रोफेसनल नीरज तामाङले संयुक्त रूपमा तेस्रो स्थान बाँडे । दुवैले समग्रमा चार अन्डर दुई सय ८४ स्कोर गरे । विजयले अन्तिम दिन एक अन्डर ७१ र नीरजले दुई अन्डर ७० को प्रदर्शन गरे । प्रोफेसनलतर्फ दोस्रो भएका नीरजले ९६ हजार प्राप्त गरेका छन् ।

समग्रमा इभन पार दुई सय ८८ मा खेल सकेका दिनेश प्रजापतिले प्रोफेसनलमा तेस्रो स्थान रक्षा गर्दै ७२ हजार रुपैयाँ जिते । उनले अन्तिम दिन तीन ओभर ७५ स्कोर गरे । सञ्जय लामा र धनबहादुर थापाले प्रोफेसनलमा  संयुक्त रूपमा चौथो स्थान बाँडेका छन् । सञ्जयले दुई ओभर ७४ र धनले एक अन्डर ७१ को स्कोर निकाले । दुवैले ५४ हजार पाँच सय रुपैयाँ जिते । रवि खड्काले दुई ओभर ७४ को स्कोरसहित छैटौँ स्थानमा प्रतियोगिता सके । उनले ४२ हजार पाँच सय रुपैयाँ जिते । 

 सातौँ होल टर्निङ प्वाइन्ट
भुवन र सद्भावले दिनको खेल सुरु गर्दा एक–आपसमा एक स्ट्रोकको फरक राखेका थिए । तेस्रो होलमा भुवनले बर्डी प्रहार गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, छैटौँ होलमा उनले बोगी प्रहार गर्दा सद्भावले एक सट बचाए । छैटौँ होलको समाप्तिमा सद्भावले दुई स्ट्रोकको अग्रता बनाए । उपाधि छिनोफानोको टर्निङ प्वाइन्ट सातौँ होल बन्यो । भुवनको दोस्रो सट पोखरीमा खस्यो । त्यहाँबाट हानेको प्रहार पुनः पानीमै पुग्यो । उनले यो होलमा डबल बोगी खेप्दा सद्भावले चार स्ट्रोकको अग्रता लिए । यसपछि आठौँ र नवौँ होलमा फेरि समान एक सट गुमाउँदा भुवनले फ्रन्ट नाइन चार ओभर ४० स्कोर गरे ।

सद्भावले एक अन्डर ३५ मा फ्रन्ट नाइन पूरा गरे । फ्रन्ट नाइन सकिँदा सद्भावले भुवनलाई ६ स्ट्रोकले पछि पारेका थिए । बोगीरहित खेलेका सदभावले १२औँ र १७औँ होलमा बर्डी प्रहार गरे । उनले ब्याक नाइन दुई अन्डर ३४ को स्कोर गरे । यसरी सहजै सद्भाव च्याम्पियन बन्दै फेरि एकपटक प्रोफेसनल गल्फरलाई माथ दिन सफल रहे ।

लगातार तीन दिन शीर्ष स्थानमा रहेर भुवनले अन्तिम दिन संघर्ष गरे । उनले ब्याक नाइन एक अन्डर ३५ स्कोर गरेका थिए । अन्तिम दिनमा उनको प्रदर्शन कमजोर रह्यो । उनले ब्याक नाइनमा १३औँ, १४औँ र १८औँ होलमा बर्डी प्रहार गरे । उनले १५औँ र १६औँ होलमा एक–एक सट बचाए । यसरी भुवनले समग्रमा दोस्रो र प्रोफेसनल पहिलो स्थान प्राप्त गरे । एमेच्योर विजयले टुरमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले फ्रन्ट नाइन इभन पार ३६ मा सके । पहिलो र पाँचौँ होलको बोगीविरुद्ध उनले तेस्रो र सातौँ होलमा एक–एक सट बचाए । यसपछि ११औँ होलको बर्डीले ब्याक नाइन १–अन्डर ३५ मा सकाउँदै सूर्य नेपाल गल्फ टुरमा उनी पहिलोपटक एमेच्योरतर्फ दोस्रो भए । 

ad
ad