१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार o६:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटान क्वार्टरफाइनलमा

पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफमा आक्रामक खेल खेल्यो । तर, खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीनपटकको विजेता पुलिस यसपटक पहिलो खेलबाटै बाहिरियो ।

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:३७:oo

पूर्वविजेता नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै भुटानको रोयल थिम्पु क्लब आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सहिद रंगशालामा बिहीबारदेखि सुरु भएको पहिलो खेलको विजेता थिम्पुले अब सेमिफाइनल प्रवेशका लागि अर्को पाहुना टोली सांग्रिला फुटबल क्लब मोरङसँग प्रतिस्पर्धा गर्नेछ । थिम्पुको जितमा किन्ले ग्यालसेन, किन्जाङ, तेन्जिङ र सिद्धर्थ गुरुङले समान एक गोल गरेका थिए । पाहुना टोलीले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । खेलको ३६औँ मिनेटमा केल्जाङ जिग्मेंको कर्नरमा किन्लेले वान टचमै गोल गरे । 

खेलको ४०औँ मिनेटमा थिम्पु २–० ले अगाडि बढ्यो । थिम्पुले पुलिसको कमजोर डिफेन्सको फाइदा लिँदै दोहोरो अग्रता बनाएको हो । मध्यभागबाट प्राप्त सटीक पासमा किन्जाङले डिबक्सभित्र आकर्षक गोल गरे । खेलको ६३औँ मिनेटमा सिद्धार्थले उत्कृष्ट फिनिसिङ गरे । उनले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्सभित्रबाट गोल गरे । पहिलो हाफमा दुई गोल खाएपछि दबाबमा परेको पुलिसले दोस्रो हाफमा आक्रामक खेल खेल्यो । तर, पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाए । तीनपटक उपाधि उचालेको पुलिस यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । 

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीले नतिजा आफ्नो पक्षमा ल्याउन नसकेको बताए । ‘युवा खेलाडीले राम्रै प्रदर्शन गरेका थिए, तर नतिजा हाम्रो पक्षमा रहेन,’ उनले भने, ‘युवा खेलाडीले बिस्तारै सिकिरहेका छन् ।’ पुलिस अब सिमरा र कपिलवस्तुको गोल्डकपको तयारीमा लाग्ने उनले बताए । भुटानका प्रशिक्षक उगेन दोर्जेले खेलाडीले राम्रो प्रदर्शन गरेका कारण जित प्राप्त भएको जनाए । ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाबमा राख्न सफल भयौँ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीले राम्रो प्रदर्शन गरे, यो हामीले सोचेजस्तो नतिजा हो ।’ 

पुलिसको गोल प्रयास
खेलको सातौँ मिनटेमा पुलिसका सञ्जीव लामाले डिबक्सबाहिरबाट प्रहार गरेको फ्री किक पोस्टनजिक हुँदै बाहिरयो । खेलको १७औँ मिनेटमा पुलिसकै उज्ज्वल राईको डिबक्सभित्रबाट प्रहार गरेको बल दोस्रो बारमा लागेको थियो । खेलको ३१औँ मिनेटमा पुलिसका प्रवीण थापाले डिबक्सभित्रबाट गरेको कडा प्रहार बाहिरियो । खेलको ४०औँ मिनेटमा भुटानका किन्लेनको प्रहार पोस्टमाथिबाट गयो ।

खेलको ७०औँ मिनेटमा पुलिसको अनुराग लामिछानेको प्रहार बारमाथि गएको थियो । खेलमा भुटानका किन्जाङ तेन्जिङ म्यान अफ दी म्याच हुँदै ११ हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत शुक्रबार त्रिभुवन आर्मीले न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ । प्रतियोगिताका विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई २० लाख १५ हजार र उपविजेतालाई १० लाख १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । गोल्डकपमा उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षक अनि सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले जनाएको छ ।

ad
ad