१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

नागरिक उन्मुक्तिका विनाविभागीय दुई मन्त्रीलाई सामाजिक विकास र पर्यटन मन्त्रालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १४:o५:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघि विनाविभागीय मन्त्रीको शपथ लिएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुसीराम डगौरा थारूलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो।

दुवै मन्त्रीले बिहीबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। मुख्यमन्त्री तथा कार्यालयसहित सातवटा मन्त्रालय रहेको सुदूरपश्चिममा नागरिक उन्मुक्तिले मात्रै चारवटा मन्त्रालय पाएको छ। उसका एक राज्यमन्त्रीसहित पाँचजना मन्त्री बनेका छन्। 

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिको संसदीय दलका नेता घनश्याम चौधरीलाई यसअघि आर्थिक मामिलामन्त्री र सांसद इन्दिरा गिरीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका थिए। रामेश्वर चौधरी यसअघिको गठबन्धनदेखि नै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री छन्।

केन्द्रमा राजनीतिक समीकरण फेरिएसँगै माओवादी र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। उनले नागरिक उन्मुक्तिको समर्थन जोगाउन उक्त पार्टीबाट थप तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन्। नागरिक उन्मुक्ति, एक सिट रहेको राप्रपा र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा बहुमतका लागि आवश्यक २७ मत पुर्‍याउने कसरत मुख्यमन्त्रीले गरिरहेका छन्।

नागरिक उन्मुक्तिका बहुमत संस्थापक केन्द्रीय सदस्यको बुधबार बसेको बैठकले प्रदेशहरूमा पनि केन्द्रीय गठबन्धनलाई नै समर्थन गर्ने निर्णय गरेको दोस्रो दिन मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका विनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका हुन्। उक्त पार्टीको संसदीय दलले पार्टीका संरक्षक रेशमलाल चौधरीको अनुपस्थितिमा बसेको बैठकले गरेका निर्णय मान्य नहुने जनाएको छ।

ad
ad