मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २१:५२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

योजना छनोटमा नगरवासीको सहभागिता बढाउँदै हेटौँडा उपमहानगर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:५२:oo

हेटौँडा उपमहानगरपालिकाले नगरको विकासका लागि योजना छनोटमा नगरवासीको प्रत्यक्ष सहभागिता बढाउन वडास्तरबाटै योजना छनोटको काम सुरु गरेको छ। 

उपमहानगरपालिकाले आर्थिक वर्ष ०८१-८२ को लागि वार्षिक योजना निर्माण गर्ने उद्देश्यले वडास्तरबाटै योजना छनोटको काम सुरु गरेको हो। 
उपमहानगरपालिकाले सरोकारवालाहरूको उपस्थितिमा बुधबार हेटौँडा– १ मा सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन कार्यक्रम गरेको छ।

वडा तहबाटै आएको मागअनुसार काम गर्दा नगरको विकासमा सबैको भावना समेटिने भएकाले नगरका १९ वटै वडाहरूमा योजना संकलनको काम हुने उपमहानगरपालिकाकी मेयर मीना लामाले बताइन्। 

स्थानीय पालिकाको बजेट निर्माणपूर्व सात चरणमा छलफल र समन्वय गर्नुपर्ने नीतिअनुसार उपमहानगरका सबै वडाहरूमा पुग्ने गरी काम अघि बढाइएको उनको भनाइ छ। 

सूचना संकलन गर्दै स्रोतलाई सुनिश्चितता गर्ने उद्देश्यअनुसार काम अघि बढाएको उपमहानगरका वित्त व्यवस्थापन महाशाखा प्रमुख अनिरुद्र नेपालले जानकारी दिए। आउँदो वर्ष बन्ने बजेटमा वडाहरूको राजस्व संकलनको क्षमताअनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजस्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ।

बुधबार हेटौँडा– १ मा भएको कार्यक्रममा स्थानीयले खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा जोड दिएका थिए। वडाको नकौली, ध्याङसिंटार, भैरवडाँडासहितको माथिल्लो भेगमा खानेपानीको चरम समस्या रहेको भन्दै दैनिक छाक टार्ने पानीको व्यवस्थापनका लागि २-३ घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयको भनाइ छ। 

शिक्षा र स्वास्थ्यलाई प्राथमिता दिने तयारी
हेटौँडा उपमहानगरपालिका प्रमुख मेयर मीना लामाले आगामी आर्थिक वर्षको योजना निर्माण गर्दा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन्। उनले सडक निर्माण, स्ल्याब ढलानजस्ता पूर्वाधार निर्माणको कामलाई कटौती गर्दै आगामी आर्थिक वर्षको बजेट शिक्षा र स्वास्थ्यकेन्द्रित भएर ल्याइने बताइन्।

प्रमुख लामाले आगामी आर्थिक वर्षलाई शैक्षिक वर्षको रूपमा मनाउने लक्ष्य रहेको भन्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमितामा राखेर काम गर्न खोजेको स्पष्ट पारिन्। विकासको काम गर्दै गर्दा नगरवासीको आय-आर्जन र दिगो विकासलाई पनि ध्यान दिने उनको दाबी छ। 

नगर क्षेत्रभित्रको बाँझो जमिनबाट कसरी नियमित आय गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर जनतलाई आर्थिक फाइदा हुने उपायको खोजी गरिने पनि बताइन्।

उपप्रमुख राजेश बानियाँले नगरलाई शिक्षा र स्वास्थ्यको हबको रूपमा विकास गर्दैगर्दा जनताले दिएको सुझावलाई पनि प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले नगरका सबै भागको भावनालाई समेटेर अघि बढ्नुपर्ने भएकाले सबै ठाउँको एउटै खाले माग नहुने हुँदा नगरवासीको आवश्यकतालाई ध्यान दिएर काम गर्ने स्पष्ट पारे।