भारतको आतिथ्य कम्पनी इन्डियन होटेल्स कम्पनी लिमिटेड (आइएचसिएल)ले चितवनको भरतपुरमा ‘भिभान्ता चितवन’ सञ्चालन गर्ने भएको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमका रूपमा स्थापित हुने आइएचसिएलले जनाएको छ ।
आइएचसिएलकी न्यु बिजनेस एन्ड होटेल्स ओपनिङकी उपाध्यक्ष दीपिका रावले नेपालमा तेस्रो होटेल खुल्नु कम्पनीका लागि महत्वपूर्ण उपलब्धि रहेको बताइन् । यसअघि आइएचसिएलले चितवनको मेघौलीमा ‘मेघौली सेराई’ र ललितपुरको झम्सिखेलमा ‘भिभान्ता’ होटेल सञ्चालनमा ल्याइसकेको छ । यी तीनवटै होटेलमा सिजी हस्पिटालिटीको लगानी रहेको छ । भिभान्ता चितवन आइएचसिएल र चौधरी गु्रपबीचको २५ वर्षदेखिको सुमधुर सम्बन्धको प्रमाण भएको उनको भनाइ थियो । आइएचसिएल र सिजीले पाँचवटा देशका ११ होटेलमा सहकार्य गरिरहेका छन् ।
भिभान्ता चितवनमा ४५ कोठा छन् । प्रत्येक कोठा सुन्दर ढंगले सुसज्जित रहेको बताइएको छ । भिभान्ताका सुइटबाट सुन्दर देवचुली र प्रकृतिकोे लोभलाग्दो दृश्य हेर्न सकिन्छ । पाहुनाले होटेलको मिन्टमा डिनरसहित विभिन्न खानाको स्वाद लिन सक्नेछन् । होटेलको स्विमिङ पुलबाट मनोरम सिराइचुली माउन्टेनको दृश्य देख्न सकिन्छ । होटेलमा २४ सय वर्गफुटको सभाहल र बिजनेस सेन्टरसमेत रहेको छ ।
सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले ताजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘भिभान्ता चितवन थपिएपछि पर्यटकले चितवन राष्ट्रिय निकुञ्जमा ताज सफारी जंगल रिसोर्ट, काठमाडौं र भरतपुरमा भिभान्तामार्फत आइएचसिएलको आतिथ्यताको अनुभव लिन सक्नुहुनेछ ।’