१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ०९:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानी भएका कम्पनी पाँच वर्षभित्र सेयर बजारमा सूचीकृत नभए मात्रै ‘प्रोभिजनिङ’

पूर्वाधारमा बिमा कम्पनीको लगानी बढाउन खुकुलो नीति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ०९:५०:००

बिमा कम्पनीहरूले पूर्वाधार क्षेत्रमा लगानी गर्दा प्रोभिजनिङ राख्नुपर्ने सर्तसम्बन्धी व्यवस्थालाई खुकुलो बनाइएको छ । लगानी गरेको तीन वर्षभित्र सम्बन्धित कम्पनी धितोपत्र बजार (स्टक एक्सचेन्ज)मा सूचीकृत नभएमा लगानीको शतप्रतिशत रकम वितरणयोग्य नाफा घटाउनुपर्ने (प्रोभिजनिङ) प्रावधानलाई केही खुकुलो गरिएको हो । 

नियामक निकाय नेपाल बिमा प्राधिकरणले ‘बिमकको वित्तीय विवरणसम्बन्धी निर्देशन’ सोमबार संशोधन गर्दै लगानीको क्षेत्रअनुसार फरक–फरक सीमा तोेकेको छ । अब बिमा कम्पनीले लगानी गरेको पाँच वर्षभित्र सम्बन्धित जलविद्युत् कम्पनी धितोपत्र बजारमा सूचीकृत नभएमा मात्रै लगानीबराबरको रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्नेछ । 

प्राधिकरणका उपनिर्देशक विरोध वाग्लेले बिमा कम्पनीलाई पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो नीति ल्याएको बताए । ‘बिमा कम्पनीलाई पहिला नै पूर्वाधारमा लगानी गर्न बाटो खुला गरेका थियौँ । तर, उनीहरू पूर्वाधारमा लगानी गर्न इच्छुक देखिएनन् । त्यसपछि यसबारे प्राधिकरणबाट अध्ययन भएको थियो । त्यसक्रममा सेयर लगानी गरेको तीन वर्षमा कम्पनी सूचीकृत नभए प्रोभिजनिङ राख्नुपर्ने व्यवस्थाले कम्पनीहरू इच्छुक नभएको देखियो,’ उनले भने, ‘त्यसपछि यससम्बन्धी नीतिलाई खुकुलो बनाएका हौँ । त्यसमा पनि  क्षेत्रअनुसार फरक–फरक व्यवस्था गरेका हौँ । कतिपय कम्पनी धितोपत्र बजारमा सूचीकृत नै हुँदैनन् । उनीहरूलाई पनि फरक नीति तोकेका छौँ । यो नीतिले पूर्वाधार क्षेत्रमा बिमा कम्पनीको लगानी बढाउन प्रोत्साहन गर्छ भन्ने अपेक्षा छ ।’

यसैगरी, जलविद्युत् आयोजना सञ्चालनमा आउने मिति (आरसिओडी)मा पनि यो सर्त लागू हुनेछ । कम्पनीले लगानी गरेको मितिभन्दा पाँच वर्षपछि आरसियोडी भएमा र त्यस अवधिभित्र सम्बन्धित कम्पनी धितोपत्र बजारमा सूचीकृत नभएमा पनि शतप्रतिशत लगानी रकम वितरणयोग्य नाफाबाट घटाउनुपर्नेछ । पछि कम्पनी सेयर बजारमा सूचीकृत भएमा प्रोभिजनिङ गरेको रकम वितरणयोग्य नाफामा जोड्न सकिनेछ । तोकिएको अवधिमा सम्बन्धित कम्पनी धितोपत्र बजारमा सूचीकृत भएको अवस्थामा भने प्रोभिजनिङ गर्नुनपर्ने प्राधिकरणको भनाइ छ ।  

यसैगरी, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा वायुसेवा र कृषि क्षेत्रका लागि पनि न्यूनतम पाँच वर्षकै सीमा तोकिएको छ । पाँच वर्षभित्र लगानी गरिएका कम्पनी धितोपत्र बजारमा सूचीकृत नभएमा शतप्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्नेछ । लगानी भएको पाँच करोेड वा सोभन्दा कम पुँजी भएको कृषि कम्पनी तीन वर्षपछि खुद नाफामा नभए पनि शतप्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने सर्त छ । 

यसैगरी, बिमा कम्पनीले लगानी गर्नुपूर्व नै सञ्चालन भएको शिक्षा तथा स्वास्थ्य कम्पनी (लगानी गरेको दुई वर्षपछि) सूचीकृत नहुन्जेल खुद नाफामा नभए पनि शतप्रतिशत रकम सम्बन्धित आर्थिक वर्षको वितरणयोग्यको नाफाबाट घटाउनुपर्ने व्यवस्था गरिएको छ । 

घरजग्गा व्यवसायतर्फ भने तोकिएको अवधिमा परियोजना बनिसकेको हुनुपर्नेछ । तोकिएको अवधिमा परियोजना नबनेमा शतप्रतिशत लगानी रकम प्रोभिजिङ गर्नुपर्ने निर्देशनमा उल्लेख छ । घरजग्गा कारोबार गर्ने कम्पनी धितोपत्र बजारमा सूचीकृत हुने अभ्यास छैन, त्यसैले यसमा फरक सर्त तोकिएको प्राधिकरणको भनाइ छ । 

यस्तै, प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्डमा गरेको लगानीको खुद सम्पत्ति मूल्य घटेमा प्रोभिजनिङ गर्नुपर्नेछ । कायम लगानीको खुद सम्पत्ति मूल्य र लगानी रकमको फरकबराबरको रकमलाई वितरणयोग्य मुनाफा घटाउनुपर्ने निर्देशनमा उल्लेख छ ।